+
+
Shares

मुगल आक्रमणले तहसनहस सिम्रौनगढको सभ्यता नेपाल खाल्डोले कसरी जोगायो ? 

नौ सय वर्ष अघिसम्म सिम्रौनगढ तिरहुत र मैथिल सभ्यताको केन्द्र थियो । गयासुद्दिन तुगलकको आक्रमणपछि तहसनहस भएको तिरहुत सभ्यता विस्थापित भएर नेपाल खाण्डोमा आयो र अहिलेपनि कैयौं ठाउँमा त्यसका अवशेष भेटिन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १५:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इतिहासकार रोशनकुमार झाद्वारा लिखित ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ पुस्तक २०८३ सालको उत्कृष्ट १० नेपाली पुस्तकको सूचीमा परेको छ ।
  • लेखक झाले सिम्रौनगढको तिरहुत सभ्यता कसरी काठमाडौं उपत्यकाको संस्कृति, कला र कानून प्रणालीसँग अन्तरसम्बन्धित थियो भन्ने विषयलाई प्रामाणिक दस्तावेजहरूका आधारमा पुस्तकमा केलाएका छन् ।
  • यो पुस्तकले मधेशको गौरवशाली इतिहास र नेपालमण्डलको सांस्कृतिक विरासतबीचको ऐतिहासिक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्दै राष्ट्रिय इतिहासमा नयाँ आयाम थपेको छ ।

इतिहास, कानून एवं संस्कृतिका अध्येता रोशनकुमार झाले लेखेको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ नामक पुस्तक २०८३ सालका लागि योग्य १० नेपाली पुस्तकहरूको सूचीभित्र परेको छ ।

झण्डै एक हजार पृष्ठको बृहत अनुसन्धानमूलक पुस्तकमा लेखक झाले नेपालको इतिहास, संस्कृति, भूराजनीति र कानून प्रणालीलाई प्रभाव पार्ने मधेशको इतिहाससँग केलाएर हेरेका छन् । दिल्लीका राजा गयासुद्दिन तुगलकको आक्रमणबाट तहसनहस बनेको तिरहुतको इतिहास र सभ्यतालाई त्यहाँबाट विस्थापित मैथिलहरूले आफूहरूसँगै काठमाडौं उपत्यका (तत्कालीन नेपाल मण्डल)मा ल्याएका थिए ।

हाल बाराको सिम्रौनगढमा अवस्थित तत्कालिन तिरहुत राज्यको संस्कृति, कला र बाङ्मङ कसरी काठमाडौं उपत्यकामा स्थानान्तरण भयो भन्नेबारे उनले पुस्तकमा अनेक दस्तावेजहरूलाई अनुसन्धानमूलक कोणबाट केलाएका छन् । र, सिम्रौनगढमा नामेट भइसकेको त्यो वैभव कसरी नेपालमण्डलमा सुरक्षित रह्यो भन्नेमा  उनको पुस्तक केन्द्रित छ ।

शुरूमा कानून व्यवसाय र त्यसपछि न्यायप्रशासनमा जोडिएको डेढ दशकमै अध्येता झाका कानून, दर्शन, इतिहास र संस्कृतिसँग सम्बन्धित तीन पुस्तक, एक अनुसन्धान प्रतिवेदनका साथै झण्डै डेढ सय अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । अनुसन्धानकर्ता एवं लेखक झाका पछिल्लो पुस्तकका बारेमा अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानी झाकै शब्दमा:

कानून, इतिहास र संस्कृति र सम्पदाको अध्ययनको सिलसिलामा मेरो लेखनमा ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ नामक पुस्तक हालै प्रकाशित भएको छ । म यसलाई पुस्तकभन्दा पनि मेरो सपनाको दस्तावेज भन्न रूचाउँछु ।

यो कृति पुस्तकाकारमा आउनुमा मेरा पुर्खाहरूको योगदान छ । मध्यकालदेखि नै हाम्रो घरमा कैंयौ दस्तावेजहरू ‘जकडिएर’ रहेका थिए । मैले यहाँ ‘जकडिएको’ शब्द नै प्रयोग गरेको छु, किनभने हजुरबुबाको देहावसानपछि ती दस्तावेजहरू अवसान हुने हालतमा पुगेका थिए ।

मेरो हजुरबुबाले राष्ट्रिय अभिलेखालय (त्यतिबेलाको वीर पुस्तकालय)लाई धेरै कृतिहरू दिनुभएको सुनेको थिएँ । मैले ती ग्रन्थ, शास्त्र र प्राचीन दस्तावेजहरू राष्ट्रिय अभिलेखालयमा हेर्ने मौका पाए । अरू केही सामग्रीहरू हाम्रो घरमा थिए भने केही पुराना कागजात मरूटोलस्थित हाम्रा नातेदार प्रभाकरलाल झा र न्योखाका शरद मिश्रको घरमा थियो । ती ग्रन्थ र सामग्रीहरूले मलाई सधै अध्ययनमा प्रेरित गरिरहे । शुरूमा यस्ता दस्तावेजहरूमा आधारित भएर पुस्तक नै तयार गर्छु भन्ने सोच थिएन ।

तर आउने पुस्तालाई यी दस्तावेजहरू हस्तान्तरण गर्नुपर्छ भन्ने हुटहुटी विस्तारै बढ्दै गयो । त्यही हुटहुटीलाई मूर्त रूप दिने प्रयास शुरू गरेँ । मैले यी दस्तावेजमा काम गरिन भने ‘यो स्वर्णिम इतिहासको अन्त्य हुनेछ’ भन्ने महशुस गरें । त्यही प्रेरणाले यो किताबको रचना हुन गएको हो ।

पहिचानको खडेरी र स्वाभिमानको लडाईं

२०६४/६५ सालतिरको सन्दर्भ हुनुपर्छ, मधेश आन्दोलन भइसकेको थियो । उपराष्ट्रपति परमानन्द झा हिन्दी भाषामा लिएको शपथका कारण विवादमा पर्नुभएको थियो ।

त्यही बेला हाम्रो परिवार र हामीलाई समेत ‘यी झाहरू त भारतबाट आएका त हुन् नी’ भन्ने खालका आरोपहरू लाग्थे । ती व्यंग्यहरूले मलाई च्वास्स पोल्ने गर्थे । यथार्थमा हामी ‘काठमाडौंबाट तराई गएको हो कि भारतबाट तराईतिर आएको हो कि मिथिला तिरहुतकै आदिम नागरिक हौं ?’ मलाई झनै खोज्न मन लाग्यो ।

वास्तवमा मैथिल नागरिकहरू अंग्रेजले बनाइदिएको आधुनिक भारतको नक्सा र पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु भन्दा अगाडि ती आफ्नै सार्वभौम तिरहुत राज्यका नागरिक थिए ।

अनि ‘हाम्रा पुर्खाहरू त यसो भन्थे, बाजेहरू त यस्तो भन्नुहुन्थ्यो’ भन्ने कुरा मनमा आयो । मलाई हाम्रो पहिचान खोज्न मन लाग्यो, अनि यी दस्तावेज अध्ययनमा मेरो लगाव बढेको हो । मैले घरमा भएका पुराना ग्रन्थहरू केलाउन थाले । बुबाबाजेले संकलन गरेको दस्तावेज हेर्न थाले ।

त्यतिबेला हजुरबुबा जीवित नै हुनुहुन्थ्यो, उहाँको सहयोग लिएर विभिन्न पाण्डुलिपीहरू अध्ययन गर्न थालें । अध्ययनका क्रममा यो जीवन्त इतिहास थाहा भयो जुन कसैको मुखारविन्दबाट आएको थिएन र एउटा सिंगो दस्तावेजको रूपमा प्रकाशित भएको पनि थिएन ।

मैले यी दस्तावेजहरूलाई ‘नलेखिएको इतिहास’को रूपमा संग्रहित भएको र यत्तिकै हराउनसक्ने महशुस गरें । यस्ता दस्तावेजहरूलाई पुस्तकाकार दिन सकिन भने एउटा जीवन्त इतिहासको अन्त्य हुनसक्ने  महशुस गरें । आफ्नो बिरासत खोज्ने क्रममा सिम्रौनगढ र मिथिलासँग हाम्रो इतिहास जोडिएको कुरा थाहा पाएँ ।

अनि नेपाल मण्डलसँगको स्वर्णिम सभ्यताको साक्षात्कार गर्ने मौका मिल्यो । नेपाल उपत्यकामा सांस्कृतिक, राजनीतिक, आर्थिक र सामाजिक रूपमा हाम्रा पुर्खाहरूले दिएको जुन योगदान छ, त्यो कुनै कालखण्डमा चरम उत्कर्षमा थियो । कुनैपनि तहबाट त्यसको गहन सोधखोज भएको नदेखेपछि ‘मैले नै यसवारेमा काम गर्नुपर्छ’ भन्ने महशुस गरेर पुस्तक लेखनको काममा लागें ।

मिथिला सभ्यताको इतिहास

मिथिलावारे दुई खालको बुझाई पाइन्छ । वैदिक मिथिलावारे आम मानिसमा एउटा धारणा छ, जुन राजा जनकको मिथिलासँग जोडिन्छ । हामीले वैदिक मिथिलालाई नै ज्यादा जोड दिने गरेका हुन्छौं । त्रेतायुगकालीन मिथिलामा राजा जनक, सिता अनि राम हुनुहुन्थ्यो भन्ने हाम्रो विश्वास छ ।

पारम्परिक पारस्परिक नीति, राजनीति, पराक्रम, राजधर्म, साहसिक सन्देश, नैतिक शिक्षा आदिको कथा समेटिएको रामायण ग्रन्थ जगजाहेर नै छ । वैदिक मिथिलाको जनकपुर पनि एउटा विश्वास र पवित्र आस्थाको केन्द्र हो ।

वर्तमानमा जनकपुर मिथिला इतिहास, कला, साहित्य र शिल्पको राजधानी नगर पनि हो । तर तथ्ययुक्त प्रमाणिक दृष्टिकोणबाट जनकपुर इतिहास र विरासतको शहर होइन । तर सिम्रौनगढ इतिहासको तथा वैभव एवं पौरख र मिथिलाको गौरवको शहर हो । हजारौं वर्षअघिको वैदिक कालको जुन मिथिला सभ्यता थियो, त्यसलाई पुनर्जागरण गर्ने अनि नयाँ जीवन दिने काम आजभन्दा ९२८ वर्ष अघि कर्नाटकबाट आएका राजा नान्यदेवले गरे ।

त्रेतायुगकालीन मिथिलालाई झल्को दिने गरी त्यसै सरहदमा एघारौं शताब्दी सेरोफेरोमा चालुक्यका सेनापति नान्यदेवले आफ्नो एकलौटी अधिकार जमाए । अनि ‘तिरहुत’ नाम गरेको स्वतन्त्र राज्य स्थापना गरेपछि २३० वर्षसम्म वैदिक मिथिलाको भूभागमा कर्नाटवंशी राजाहरूको शासन चल्यो र त्यसैबेलादेखि मिथिलाको राजधानी सिमरौनगढ थियो ।

इस्वि सम्वत् १०९७ (आजभन्दा ९२९ वर्ष पहिले) कर्नाटकबाट आएका राजा नान्यदेवले वैदिक कालको मिथिलालाई नयाँ जीवन दिने काम गरे । राजनीतिक, सांस्कृतिक, पारिवारिकदेखि यहाँको हरेक आयाममा मैथिल सभ्यताको ठूलो प्रभाव रहेको पाउँछौं । त्यतिबेला मिथिलाको शास्त्रार्थ परम्परा यति चरमचुलीमा पुगेको थियो कि अवसानपछि समेत त्यसको प्रभाव नेपाल उपत्यकामा रहिरह्यो जुन कायम रहेको अनुभुत गर्न सकिन्छ ।

सिम्रौनगढ त्यतिबेला मिथिलाको राजधानी मात्रै होइन कि वैभव, आदर्श, कुशलता, कुटिलता, ज्ञान, व्यापार, शिल्प, वास्तु र समग्रमा सभ्यताको केन्द्र समेत थियो । अनेक दस्तावेजहरूबाट त्यहाँ शास्त्रार्थ परम्पराको विकास भएको देख्न सकिन्छ ।

वि.सं. ११५४ मा मुगलहरूको आक्रमणबाट भारतवर्ष आक्रान्त थियो । गंगाको मैदानी भूभागमा ठूलो ध्वंश भएको थियो । त्यतिबेला मानिसहरू त्रासदीपूर्ण अवस्थामा बाचेका थिए । हिमालयदेखि लिएर गंगासम्मका जति पनि विद्वान थिए, उनीहरू आफ्नो शास्त्र र शस्त्र जोगाउन तिरहुत राज्यमा शरणागत भएका थिए ।

शरणागत हुने सिलसिलामा जानेर वा नजानेर विद्वानहरूबीच जुन शास्त्रार्थ परम्परा चलेको थियो, त्यो अद्भूत थियो र, त्यहाँ जनकको दरबारको झल्को दिन्थ्यो । त्यहाँ त्यतिबेला साहित्य विधाका विभिन्न रूप राग, नाटक, संगीत र नृत्य सहित शिल्प, वास्तु शास्त्रार्थदेखि अनेकन कलाको विकास भएको थियो । जुन अहिले केही जोगिएका सीमित भग्नावशेषको विशाल रूपमा प्रकट हुन्छ ।

नेपाल मण्डलमा मिथिला सभ्यता

मैले बारम्बार महशुस गरेको छु, मिथिलाको प्रमाणिक इतिहास जनकपुरमा छैन र जहाँसम्म कि सिम्रौनगढमा पनि छैन । तथापी सिम्रौनगढका विशाल दुर्ग किल्लाहरू, भीमकाय मुर्तिहरू, ढुंगाका ठुल्ठुला अवशेषहरू, तिरहुत दरबारको विशाल तोरण, तलेजु आगम घरको चौकोठ र ढुंगा तथा खम्बाहरूको खण्डहरहरूको सयौं वर्षको मौनतालाई अक्षरको माध्यमले तोड्ने प्रयास स्वरूप यो किताबको जन्म हुन गएको हो । मिथिला, सिम्रौनगढ र तिरहुतको इतिहासलाई नेपालमण्डलले आजसम्म जोगाएर राखेको छ ।

यदि नेपाल उपत्यका र काठमाडौंले त्यो इतिहास जोगाएको थिएन भने तिरहुत, मिथिया र सिम्रौनगढको इतिहासको नामोनिशान नै हुने थिएन । हामीले धन्यवाद दिनुपर्छ, नेपाल उपत्यकाको जुन सांस्कृतिक विरासत छ, त्यो विरासतमा नजानिदो किसिमबाट मिथिलाको अमिट छाप देख्न सकिन्छ ।

तिरहुतको कला, साहित्य, शास्त्रार्थ परम्परा लगायत एवं लोकपरम्परा यति उत्कर्षमा थियो कि त्यसका विस्तृत विवरणहरू मैले पुस्तकमा उल्लेख गरेको छु । हामीले संस्कृति जोगाउने जनताहरूलाई धन्यवाद दिनैपर्छ ।

यदि नेपाल उपत्यका/काठमाडौंले आफ्नो अनवरत अटुट साधनाका खम्बाहरू जस्तै मोहनी नखा :, जात्रा, दाफा भजन, मौलिक खानपान, रहनसहन, पहिरन, फल्चा, डबली, धार्मिक स्थल, परम्परा र लोकपरम्पराहरू जोगाएका थिएनौं भने तिरहुत/मिथिला र सिम्रौनगढको इतिहासको कुनै नामोनिशान भेटिने नै थिएन ।

तिरहुतको ज्ञान, कला, साहित्य, शास्त्रार्थ परम्परा लगायत एवं लोकपरम्परा यति उत्कर्षमा थियो कि त्यसका विस्तृत विवरणहरू मैले पुस्तकमा उल्लेख गरेको छु । नेपाल उपत्यकाको सांस्कृतिक विरासतमा नजानिदो किसिमबाट मिथिलाको अमिट छाप देख्न सकिन्छ । हामीले संस्कृति जोगाउने जनताहरूलाई धन्यवाद दिनैपर्छ ।

आजपनि यहाँका इतिहासविद्हरू संस्कृतिविद्हरू र नेवार संस्कृतिका विद्वानहरूले आफूहरू सिम्रौनगढबाट आएको बताउँछन् । तलेजु भवानीको मूल आदमघर सिम्रौनगढ रहेको भन्ने कुरा उहाँहरू सहर्ष स्विकार्नुहुन्छ । यहाँको लोक र सांस्कृतिक जीवनमा सिम्रौनगढ गाँसिएकाले पनि त्यहाँको संस्कृति अन्त्य नभएको मान्नुपर्छ ।

वि.सं. ११५४ मा स्थापना भएको तिरहुत राज्यले २३० वर्षसम्म सिम्रौनगढ केन्द्रित भएर आफ्नो अस्तित्व कायम राख्यो र वरपर वैभव फैलायो । वैदिक मिथिलाको जुन सीमा थियो, त्यही सेरोफेरोमा रहने गरी राजा नान्यदेवले शासन गरेका थिए ।

नेपालमण्डलले जोगाइदिएको सभ्यता

आफ्नो सभ्यता र वैभवलाई २३० वर्षसम्म चरमचुलीमा पुर्‍याएको तिरहुत राज्य दिल्लीका सम्राट गयासुद्दिन तुगलकको भयानक आक्रमणपछि तिरहुतको गौरवशाली विरासतको दु:खद अन्त्य भयो ।

हुन त सिम्रौनगढलाई बाह्य आक्रमणबाट जोगाउन शहर वरपर सातवटा किल्ला बनाइएको थियो । अहिलेपनि त्यहाँ किल्लाका भग्नावशेषहरू देख्न सकिन्छ । शुरूमा माटोको किल्ला थियो, त्यसपछि ईटाको किल्ला थियो, आज पनि त्यहाँ इँटवाल भन्ने ठाँउ छ । अनि पानीको नहर र जंगलको सीमा बनाएर त्यसभित्र तिरहुत राजाको दरवार थियो ।

रामसिंहदेवको शासनकालमा सिम्रौनगढ अत्यन्त बलियो दुर्गको रूपमा विकसित थियो । दुर्गभित्र  ६ लाख घर रहेको उल्लेख छ । सातवटा अत्यन्त ठूला र बलिया पर्खाल थिए, २१ वटा गहिरा नहर  थिए । नहरको बाँधमाथी  रूख  रोपिएको  थियो । गढको पूर्व, दक्षिण र पश्चिममा एक/एक  र उत्तरतर्फ २  वटा  ढोका  थिए ।

नहर पार गर्न काठको पुल थियो । किल्लाको सुरक्षाका लागि प्रत्येक पुलको दाँयाबाँया १०/१० दश जना तीर धनुष चलाउने पहरेदार तथा ३/३ जना तलवार चलाउने निपूण सैनिक राखिएको थियो । मुगल शासकबाट जोगिन यतिविघ्न सुरक्षा प्रबन्ध गरिएको थियो ।

ई.सं. १२३६ मा तिब्बती भिक्षु च्याङ लोचवा चोजेपाल धर्मस्वामीले सिम्रौनगढको भ्रमण गरी आफ्नो जीवनीमा लेखे अनुसार, त्योबेला तिरहुतमा तुर्क आक्रमणकारीहरूको त्रास थियो । यस खतरालाई मध्यनजर गर्दै सिम्रौनगढको चक्रव्यूह र किल्ला बन्दीलाई अझ मजबूत गरिएको थियो । उनका अनुसार सिम्रौनगढ एक सुरक्षित र सम्पन्न राजधानी थियो, जुन ७ बलिया, अग्ला चक्रब्यूह आकारका  पर्खालद्वारा घेरिएको थियो । उनका अनुसार ‘पा–टा’ भन्ने शहरमा करिब ६ लाख घरहरू थिए र चार पर्खालले घेरिएको थियो ।

उनका अनुसार, पर्खालहरूको उचाई तिब्बती किल्लाको बराबर थियो । राजस दरबार उभिएको  सिम्रौनगढ शहरको बाहिरी भागमा एघार वटा ठुला ढोका थिए जुन २१ वटा पानीयुक्त खाडल र रूखहरूले घेरिएको थियो । पूर्व, पश्चिम र दक्षिणमा तीन वटा ढोकाहरू थिए भने उत्तरमा दुईवटा  ढोकाहरू थिए । मध्यभागको क्षेत्रभित्र भुलभुलैया शैलीमा दरवारको केन्द्र बनाइएको थियो । दरवारभित्र छिर्न निकै गाह्रो थियो ।

भनिन्छ, दरवारकै एकजना राजपुरोहितले राजासँगको विवादका कारण गयासुद्दिन तुगलकलाई गोप्य सूचना दिए र दरवार छिर्ने बाटो देखाइदिए । उनले सिम्रौनगढ आक्रमण गरे जसबाट त्यो राज्यको पतन भएको मानिन्छ ।

तिरहुत राज्यको पतनपछि त्यहाँ जो नागरिकहरू थिए, उनीहरू यत्रतत्र लागे । सातौ पुस्ताका राजा हरिसिंह देवलगायत उनको राजकाजसँग सम्बन्धित व्यक्तिहरू भक्तपुर पुगे, हरिसिंहदेव राजाको रानीको माइती भएकाले पनि उनीहरूलाई भक्तपुर आउन सहज थियो ।

सन् १३२७ मा काठमाडौँ उपत्यका आउने क्रममा राजा हरिसिंहदेवको सिन्धुली तीनपाटनमा मृत्यु भयो । तिरहुत दरबारका आश्रित विद्वान मण्डली, सहयोगी सहित भारदारहरू नेपालमण्डल प्रवेश गर्ने क्रममा मेरा पिता पुर्खा समेत नेपालमण्डलमा आई बसेका थिए ।

पछि विविध कारणबस मेरा पुर्खा तराई झर्ने र नेपाल उपत्यका पस्ने क्रम चलिरह्यो । तिरहुतिया ब्राह्मण सहित अन्य नेपालमण्डल भित्रिएपछि तिरहुतको भाषा, संस्कृतिको गहिरो प्रभाव नेपालमण्डलमा देखापर्न थाल्यो ।

तत्कालीन तिरहुते मैथिल ब्राह्मणहरू ललितपुरको वालीफल, अथवहा:, वखुवहा:, यगुंवहा:, टौवहा:, कोवहा:, तिछुगल्ली, महापाल, मिश्र चोक, नुतुनथी गुसिंगाल, कोपुण्डोल, देवनगरमा प्राचीनकालदेखि बस्दै आएको देखिन्छ ।

भक्तपुरको ईताछे, यलाक्षें, तपलाछी, नासमना, मंगलाछे, गोल्मढी र वालाखुं तथा काठमाडौंको ढोकाटोल, मखन, नरदेवी, मरूहिटी, यटखा, प्याफल, न्ह्योखा, भीमसेनस्थान, जैसिदेवल, चिकंमुगल, अट्को नारायणस्थान र लगनटोल जस्ता पुराना वस्तीहरूमा मैथिल ब्राम्हणको बाक्लो बसोबास रहेको पाइन्छ ।

तत्कालीन मल्ल राजाहरूले तिरहुतका राजकुमारीसँग वैवाहिक सम्बन्ध कायम गर्न थालेपछि मैथिलीको प्रभाव नेपाल उपत्यकामा देखापर्नु स्वाभाविक थियो । त्यसपछि भारतको बिहार र नेपालको तराई क्षेत्रमा मुसलमानहरूको आक्रमण हुँदा जीवन रक्षार्थ वा धर्म–संस्कृति रक्षार्थ काठमाडौँ उपत्यकामा आश्रय लिएका मैथिल विद्वानहरूका कारण मिथिला तथा मैथिली भाषा एवं सभ्यताको प्रभाव नेपालमण्डल र नेपालभाषामा अझ बढी परेको देखिन्छ ।

सिम्रौनगढको पतनपछि त्यहाँका सबै मानिसहरू नेपालमण्डल आएका थिएनन् । नयाँ शासनपछि केही मानिसहरू दरभंगातिर लागे । तिरहुत राज्य रहदा राजकाजसँग सम्बन्धित अधिकांश मानिसहरू भने नेपाल मण्डलमा आए ।

उनीहरू भक्तपुर आएर शरणागत मात्रै भएनन्, सिम्रौनगढको सांस्कृतिक वैभवले पनि कालान्तरमा भक्तपुरमा प्रश्रय पायो ।

इटालियन मिशनरी टोली सन् १७४० मा भारतको पटनाबाट काठमाडौँ हुँदै तिब्बत फर्कदै गर्दा बाटोमा सिम्रौनगढको खण्डहर देखेका थिए । उनले सन् १७३९ देखि १७५४ सम्म पटकपटक यात्राको दौरान त्यहाँ प्राचीन भग्नावशेष, यत्रतत्र छरपस्ट भएका मूर्तिहरू, मन्दिरहरू, निकै पुराना विशाल रूखहरू, दरबार र पोखरीहरू देखेर भाव–विह्वल भएको  कुरा एक पत्रिकामा व्यक्त गरेका थिए ।

विध्वंशपछि मानिसहरू लाखापाखा लागेसँगै लामो समयसम्म सिम्रौनगढ रिक्ततामा रह्यो । मानिसहरू तितरवितर भएपछि त्यो ठाँउ खण्डहरको रूपमा रह्यो । धेरै विद्वानहरूले आफ्नो आत्मकथा वा यात्रावर्णनमा त्यो ठाँउ खण्डहर थियो भनेर उल्लेख भएको पाइन्छ । त्रिभुवन राजपथ बन्नुअघि उत्तर र दक्षिणलाई जोड्ने सिम्रौनगढ हुँदै जाने मूल बाटो थियो । राजपथ खुलिसकेपछि त्यो ठाँउ झनै ओझेलमा पर्दै गएको पाउछौं ।

अनि राजकाजमा बेदखल हुँदै गए….

नेपाल मण्डल (तत्कालिन अवस्थाको काठमाडौं, भक्तपुर र ललितपुरका राज्यहरू)का अभिलेख, अनेकन पाण्डुलिपी एवं यहाँ गाइने भजनहरूबाट पनि मिथिला संस्कृतिका कथनहरू पुष्टि हुन्छन् । त्यतिखेर नेपाल मण्डलको लोकभाषा नेवारी भाषा थियो । बौद्धिक भाषा संस्कृत थियो भने कामकाजी भाषा मैथिल ।

विवरण सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, राष्ट्रिय अभिलेखालयमा संग्रहित पाण्डुलिपीहरूले पूर्वमध्यकालको नेपाल उपत्यकाको कामकाजी भाषा मैथिली भाषा थियो भन्ने पुष्टि गर्छन् ।

‘मुदितकुवलयाश्वर’ भन्ने नाटक आज पनि त्यहाँ संग्रहित देख्न सकिन्छ । मैथिली भाषामा रहेको त्यो नाटक रञ्जना लिपीमा लेखिएको छ । अभिलेखमा अनेकन नाटकहरू छन्, जसले त्यतिबेलाको सांस्कृतिक सम्बन्ध देखाउछ । कसरी त्यस्तो  हुन गयो भनी धेरै ठाँउमा लेखिएको थिएन ।

सिम्रौनगढको आफ्नै इतिहास छ र त्यसको गायन गरिन्छ । नेपाल मण्डलको पनि आफ्नै सांस्कृतिक र राजनीतिक इतिहास छ । तर दुवैलाई यसरी जोड्ने काम भएको थिएन । मैले आफ्नो कितावमार्फत कसरी यो दुई सभ्यताले नेपालको इतिहासलाई स्वर्णिम युगमा पुर्‍याएका थिए भन्ने खुलाएको छु ।

भक्तपुरमा आठ सय वर्षदेखि आज पनि त्यही शैली र स्वरूपमा भजन गाइन्छ र जात्रा मनाइन्छ ।  भक्तपुर आजसम्म सांस्कृतिक रूपमा जीवन्त छ । काठमाडौंको किलागल पनि जीवन्त छ, किनभने त्यो ठाँउ कहिल्यै सुतेन । यी शहरहरूमा सांस्कृतिक हस्तान्तरण र पुस्तान्तरण भइरहेको देखिन्छ ।

तिरहुत राज्यको पतनपछि त्यहाँका मानिसहरू नेपाल उपत्यकामा आए । उनीहरू काठमाडौंको राजकाजमा पनि महत्वपूर्ण भूमिकामा थिए । यहाँको राजनीति, संस्कृति, आर्थिक उन्नयन लगायतमा उनीहरूले सक्दो योगदान गरे ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गरेपछि उनीहरू राजकाजमा बेदखल हुदै गए, उनीहरूले सम्हालेको राजकाजको काममा अरू नै हावी भए । त्यसपछि धार्मिक कामकाजमा मात्रै सीमित भए ।

भक्तपुर र काठमाडौंमा दरवारक्षेत्रका मन्दिरहरूको आज पनि मैथिल ब्राम्हणहरू पुजारी छन्, जुन सिम्रौनगढबाट काठकाडौं उपत्यका प्रवेश गरेकाहरूका सन्तान हुन् ।

वि.सं. १९०२ जेठ ६ गतेको राती माथवर सिंहको हत्या भयो । १९०३ भदौ ३१ गते रानीका अति विश्वासपात्र गगनसिंह घरमै अज्ञात व्यक्तिको गोलीले मारिएको रहस्यमय घटनाले जंगबहादुरलाई सत्ताको सिंढी चढ्न सजिलो बनाएको थियो ।

१९०३ सालमा कोतपर्व भयो भन्ने हामी सबैलाई थाहा छ । गगन सिंहको हत्या गर्ने व्यक्ति पत्ता लगाउन डाकिएको भारदारी भेलामा ठूलो नरसंहार भयो । लाल झा भन्ने व्यक्तिले गगन सिंहको हत्या गरे भन्ने दस्तावेजहरू भेटिन्छन् ।

ती लाल झा को थिए भन्ने आजसम्म पनि पहिचान खुल्न सकेको छैन । ढोका टोलमा गगन सिंह र झाहरूको घर सँगसँगै थियो रे । साँध सिमानाका विषयमा गगन सिंहसँग झाहरूको ठाकठुक परिरहेको हुन्थ्यो ।

गगन सिंहको हत्याका बेलामा त्यही ठाकठुकलाई आधार बनाएर लाल झामाथि आरोप लगाइयो । तर गगन सिंह मार्ने लाल झा को हुन् भनेर कहिल्यै विस्तृत विवरण खुलाइएन । त्यसपछि मनोवैज्ञानिक रूपमा त्रासमा राखेर हाम्रो सर्वस्वहरण गरियो ।

फत्तेजंग शाह प्रधानमन्त्री भएका बेलामा मैथिल ब्राम्हण परिवारलाई बदनाम गराई किलागलस्थित कुलानन्द झाको साततले दरबार तथा अन्य चलअचल सम्पत्ति कब्जा गर्ने योजना बन्यो । अनि गगन सिंहको हत्याको आरोपमा कपोकल्पित पात्र लाल झा खडा गरियो ।

उनलाई दोष लगाई समग्र मैथिल ब्राम्हण परिवारलाई त्रासदीमा राखेर काठमाण्डौ उपत्यका छोड्न बाध्य बनाइएको थियो । त्यसपछि मनोवैज्ञानिक रूपमा त्रासमा राखेर हाम्रो सर्वस्वहरण गरियो । भनिन्छ, कुलानन्द झाका चार छोराहरू त्यही त्रासले तराई झरेका थिए ।

आज पनि किलागलमा स्वरसम्राट नारायणगोपालको घर छ । सात तला र सात चोक भएको ठूलो क्षेत्रमा झाहरूको बसोवास थियो । नारायणगोपालको घर भएको त्यो ठाँउ त्यतिबेला झाहरूको बसोबास रहेको ठूलो क्षेत्रको सानो चोक थियो ।

सर्वस्वमा परेपछि हामी यहाँबाट तराई गयौं । हाम्रो जग्गाजमीन हरण हुने अवस्था आइसकेको थियो । पशुपतिको मूल ढोकाको दाहिनेपट्टिदेखि पिंगलास्थानसम्मको जग्गा हामीले मन्दिरलाई छाडेर गएको कुरा त्यहाँको शिलालेख र सनदहरूमा भेट्न सक्छौं । आजपर्यन्त काठमाडौं उपत्यकामा रहेका मैथिल समूदाय गगन सिंहको हत्यापछि सिर्जना भएको मनोवैज्ञानिक त्रासबाट गुज्रेको पाउँछु ।

त्यसपछि यो किताबको जन्म भयो

यो पुस्तकको मूल आधार भनेकै गोपालराज वंशावली, केशर पुस्तकालयमा रहेका बंशावलीहरू, भाषा बंशावली, राष्ट्रिय अभिलेखालयमा रहेका पाण्डुलिपीहरू, त्यहाँका अरू ग्रन्थहरू हुन् । त्यहाँ संग्रहित शास्त्रहरू र नाटकहरू र उपत्यकाभरी नै छरिएर रहेका शिलालेखका विषयवस्तु पुस्तकका आधार हुन् । भारतको दरभंगामा मिथिला गजेटहरूको अध्ययनबाट मैले पुस्तकका कैयौ प्रसंगहरू लेख्न सकेको हुँ ।

मधेशलाई पछौटेपन देख्नेहरू, त्यहाँका संस्कृतिलाई तुच्छ ठान्नेहरू, फगत नैतिकता र शिक्षाका खोक्रो पाठ पढाउनेहरूले एकपटक मधेशको सम्वृद्धि, शिक्षा र वैभवयुक्त विरासत बोकेको इतिहास बुझ्न यो पुस्तक पढ्नै पर्दछ ।

मधेशी विद्वान, बुद्धिजीवी र राजनीतिज्ञले केवल क्षेत्रीय असमानता, उपेक्षा, गरीबी र बेरोजगारीबारे मात्र बहस चलाए, जुन हदसम्म सत्य पनि छ । तर के हामी सधै यस्तै थियौ त ? किमार्थ होइन ।

तिरहुतको सम्बृद्ध परम्पराले नेपाल मण्डलमा जागरण ल्यायो, यहाँको संस्कृतिलाई सुसज्जित बनायो, अर्थ व्यवस्थालाई चलायमान बनायो, न्याय व्यवस्थालाई कानुनी राज्‍य उन्मुख बनायो र समग्र राज्य व्यवस्थालाई प्रकाशित गर्‍यो ।

हाल मुलुकमा जातीय, क्षेत्रीय ध्रुवीकरण बढिरहेको वर्तमान परिप्रेक्ष्यमा ६९८ वर्ष पुरानो तिरहुत र नेपालमण्डलको सौहार्द सम्बन्ध र पुर्खाको विरासतलाई तथ्य, प्रमाण सहित पस्कने जमर्को गरेको छु । मैले आफ्नो विद्वता तथा दक्षता प्रदर्शन गर्न यो पुस्तक लेखेको होइन । नेपालको इतिहास, संस्कृति, भूराजनीति र कानून प्रणालीलाई मधेशले कसरी प्रभाव पारेको थियो भन्ने तथ्य इतिहासको गर्भबाट निकाल्ने क्रममा यो पुस्तक लेखिएको हो ।

हाम्रो घरमा नीजि संग्रहमा रहेका पुराना दस्तावेजहरू यो कितावको रचना भएको हो । विद्वानहरूले विभिन्न कालखण्डमा लेखेका कितावहरू नै कितावको मूल स्रोतको रूपमा मैले प्रयोग गरेको छु ।

मैले केही समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्थेँ, तर ‘यो मास्टर नै हुने भयो’ भनेर बुबाले व्यंग्य र चिन्ता गरेपछि न्याय सेवा र अनुसन्धानतिर लागेको हुँ । मेरो लेखन, अनुसन्धान र अध्ययनलाई जीवन्त राख्नुपर्छ भन्ने महशुस गरेकैले आफूलाई जागिरमा मात्रै सीमित गरेको छैन ।

मैले कुनै पुरस्कारको अभिलासाले पुस्तक लेखेको होइन । पुरस्कारका लागि कैयौ दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ । म त्यो दौडमा थिइन र आज पनि छैन । यो ग्रन्थ मदन पुरस्कारको १० कृतिमा जसरी मनोनित भयो, त्यो नै मेरा लागि पुरस्कार सरह हो ।

नेपालको इतिहासलाई आजसम्म जुन रूपमा बुझिदै आएको छ, यो पुस्तकले त्यसमा एउटा नयाँ इटा थपेको महशुस भएको छ । यसले नेपालको मौलिक र सांस्कृतिक इतिहासलाई नयाँ उचाईमा पुर्‍याउनेछ भन्ने आशा छ ।

मलाई लेखक एवं आख्यानकार निलम कार्की निहारिकाले फोन गरेर भन्नुभयो, ‘तपाईहरू जस्ता अध्येताले तथ्यहरूमा नलेखिदिने हो भने हामीले के आधारमा आख्यान लेख्न सकिन्छ र ?’

यो किताव आउनुअघि मैले नेपाली दर्शनको पुनर्जागरण हुनुपर्छ भन्ने विषयवस्तुमा ‘द रिनेसन्स अफ नेपाली लिगल फिलोसोपी’ नामक किताव लेखेको थिए, जुन २०८२ सालमा नेपाल बार काउन्सिलले उत्कृष्ट पुस्तकको रूपमा पुरस्कार गरेको थियो ।

मैले अब नेपालको मौलिक विधिशास्त्र के हो भन्नेवारेमा लेख्ने प्रयास गर्दैछु । हामीले पश्चिमा विद्वानहरूको विधिशास्त्रलाई मात्रै मान्यता र महत्व दिएर अध्ययन गरिरहेको अवस्थामा ‘के नेपालको आफ्नै मौलिक विधिशास्त्र छैन त ?’ भनेर त्यसवारे अध्ययन गर्न खोजेको छु ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?