
३ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आफ्नो कोषमा अफगानिस्तानले पहुँच नपाउने बताएको छ । तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै आईएमएफले आफ्नो कोषमा अफगानिस्तानलाई पहुँच नदिने निर्णय गरेको हो ।
आईएमएफका प्रवक्ताले अफगानिस्तानको सरकारलाई मान्यता दिने विषयमा अन्तर्राष्ट्रिय समुदायमा देखिएको स्पष्टताको अभावको कारण यस्तो निर्णय गरिएको बताएका छन् ।
२३ अगष्टमा अफगानिस्तानले आईएमएफबाट ३७ करोड डलर रकम पाउने तालिका थियो । यो रकम आईएमएफले आर्थिक संकटको सामना गर्न अफगानिस्तानलाई दिन लागेको थियो । त्यस्तै आईएमएफको एसडीआर सञ्चिति पनि रोक्का गरिएको छ । एसडीआर आईएमएफको एक्सचेन्जको एकाइ हो । यसमा रहेको सञ्चितिलाई सरकारी पैसा बनाउन सकिन्छ ।
आईएमएफका प्रवक्ताले सधैं आईएमएफले अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणको आधारमा काम गरेको बताएका छन् । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनको सरकारले अफगानिस्तानको केन्द्रीय बैंकको अमेरिकामा रहेको सम्पत्ति तालिबानलाई नदिने निर्णय गरेको थियो । अर्थमन्त्री जनेट येल्लनलाई लेखेको एक पत्रमा बाइडनले तालिबानले कुनै पनि अमेरिकी सहयोग नपाओस् भन्ने सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
यसअघि अफगानिस्तानको केन्द्रीय बैंकका प्रमुखले अमेरिकाको फेडेरल रिजर्भमा रहेको करिब सात अर्ब डलर बराबरको रकमको सम्पत्ति रोक्का गरिएको बताएका थिए । उनका अनुसार अफगानिस्तानको कूल मुद्रा सञ्चिति ९ अर्ब डलर छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4