+
+

एमाले फुटेको होइन, केही मानिस अलग भएका हुन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते २०:३१

३ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनको दाबी छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि बुधबार मात्र निर्वाचन आयोगमा निवेदन दिएका छन् । त्यसबारे प्रतिक्रिया दिएका अध्यक्ष ओलीले एमाले कमजोर नहुने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा एमालेसँग अहिले पनि १०० भन्दा बढी सांसद रहेको र छिट्टै चुनाव आउने उनले बताए । स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी मिल्दा पनि एमाले पहिलो भएको र अहिले त आफूहरुले जनताको मत जित्ने गरी काम गरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मैदानमा एकल एमाले छ ।’

नेता नेपालले एमाले कमजोर पार्ने बाहेक केही काम नगरेको ओलीको आरोप छ । २४० सिटमध्ये ३३ सिटमा एमालेलाई झारेर पार्टी महासचिवबाट राजीनामा दिएको र एमालेले सरकार चलाउन सक्दैन भन्ने स्थापित गरेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएको भन्दै उनले अघि भने, ‘अहिले विपक्षीसँग मिलेर सिध्याउने प्रयास गर्नुभयो । यो एउटा च्याप्टर क्लोज भयो ।’

यही कारण (माधव नेपाल समूह अलग भएकै कारण) एमाले कमजोर हुन्छ भन्ने नभएको उनले बताए । हात्ती जति दुब्लाए पनि हात्ती नै हुने भन्दै ओलीले भने, ‘केही मान्छेले अन्तरघात गर्दा एक समय अलिकति धक्का पर्छ । उनीहरुले एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्छन् । त्यो अपूरणीय क्षति चाहिँ होइन । टाल्दा भइहाल्ने कुरा हो, भवन नै ध्वस्त हुने होइन ।’

लामो समय माधव नेपाल समूहमा रहेका, तर उनको नयाँ पार्टीमा नगएका नेताहरु एमालेमै रहेको उनले बताए । नेता नेपालले आफ्नो पार्टीमा राखेका नेताहरुले पनि धमाधम वक्तव्य दिएको आफूले थाहा पाएको ओलीले बताए ।

प्रधानमन्त्री र सभामुखको आलोचना

एमाले अध्यक्ष ओलीले संसद छलेर छापामार शैलीमा अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरे । एमाले विभाजन गर्ने गलत बदनियतका साथ अध्यादेश ल्याएको र यो सर्वोच्च अदालतको फैसला विपरीत भएको उनले बताए ।

एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै उनले सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे । अब उनले सभामुख पदमा रहिरहने कि माओवादी कार्यकर्ता बन्ने रोज्नुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?