+
+

‘ढाड दुखेर करक्कै’देखि ‘मिनरल वाटर २’ सम्म : यस्ता छन् साताका १० गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १४:०४

नेपाली सांगीतिक बजारमा हरेक दिन नयाँ–नयाँ गीत सार्वजनिक हुन्छन् । युट्युबमा सार्वजनिक हुने ती गीतमध्ये केहीले मात्र राम्रो चर्चा पाउँछन् । अधिकांश गीतहरु यत्तिकै हराउँछन् । तीज नजिकिँदै गरेको हुनाले यससाता पनि तीज गीत नै बढी मात्रामा सार्वजनिक भए । तीमध्ये केही गीतले मात्र चर्चा कमाए । तीजबाहेक पछिल्लो सात दिनभित्रमा सार्वजनिक अन्य केही गीतहरु चर्चामा रहन सफल रहे । हामीले यहाँ गत शुक्रबारदेखि बिहीबारसम्म सार्वजनिक गीतमध्ये १० गीतको सूचि तयार पारेका छौं ।

प्रतापको अभिनयमा ‘बाफ’

सुजन चापागाँई र विद्या तिवारीको स्वरमा रहेको ‘बाफ’शीर्षकको गीत गत आईतबार सार्वजनिक भएको हो । यसअघि ‘के माया लाग्छ र ?’, ‘तिनपाते’ जस्ता गीत ल्याएको आर्टमाण्डु स्टुडियोले यस भिडियो सार्वजनिक गरेको हो ।

यस गीतमा ‘के माया लाग्छ र ?’, ‘तिनपाते’ गीतकै रचनाकार हर्क साउदको शब्द रहेको छ । नविन चौहानको कथा तथा निर्देशनमा कलात्मक शैलीमा यस गीतको भिडियो तयार पारिएको छ । भिडियोमा गायक प्रताप दासको अभिनय हेर्न सकिन्छ । साथमा शिल्पा थापा, नयन नेपाल, रञ्छेन तामाङ्ग, निम्लामु लामा, सम्रान्त थापा, हर्क साउद लगायतले भिडियोमा अभिनय गरेका छन् । प्रेमकथामा बनेको गीतमा अनिश स्याङ्ग्देनको छायाँकन, सुरज पौडेलको सम्पादन छ । यस गीत र भिडियोलाई स्रोता उवं दर्शकले प्रशंसा गरेका छन् । आर्टमाण्डुकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले अहिलेसम्म ६ लाख ३५ हजार भ्युज बटुल्दै युट्युब ट्रेन्डिङको शीर्ष ५ स्थान ओगटेको छ ।

मेलिनाको स्वर र अभिनयमा ‘यस्तै त होला माया’

गायिका मेलिना राईको स्वरमा ‘यस्तै त होला माया’ बोलको गीत सार्वजनिक भएको हो । चार दिनअघि मेलिनाकै युट्युब च्यानलमा सार्वजनिक गीतले ४ लाख बढी भ्यूज बटुलेको छ । गीतमा प्रोमिश नाछरिङको शब्द, दीपक शर्माको संगीत, रिकेश गुरुङको एरेन्ज छ । दुर्लव जन्तारेको निर्देशनमा बनेको भिडियोमा गायिका मेलिना स्वयमंले अभिनय गरेकी छिन् । गंगाराम राईको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।

खुमनको ‘यत्तिकोले चल्छ ?’

‘यत्तिकोले चल्छ ?’बोलको तीज गीतमा खुमन अधिकारी, शान्तीश्री परियार, सुनिता बुढा क्षेत्री र रमिला न्यौपानेको स्वर छ । माधव न्यौपानेको शब्द, गायक अधिकारीको संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । यस गीतलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ ।

दुर्गा पौडेलको छायाँकन एवं निर्देशन रहेको गीतको भिडियोमा करिष्मा ढकाल, आयुशा गौतम, खुमन अधिकारी, अभिषेक खड्का, कमल भक्त लगायतले अभिनय गरेका छन् । भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् । चार दिनअघि खुमन अधिकारीकै युट्युब च्यानलमा सार्वजनिक भिडियोेले ३ लाख ६५ हजार बढी भ्यूज पाएको छ ।

पशुपति र जानकीको ‘ढाड दुखेर करक्कै’

६ वर्ष अगाडि ‘ढाड दुखेर मार्यो’बोलको गीत ल्याएका पशुपति शर्मा र जानकी तारामी मगरले ‘ढाड दुखेर करक्कै’बोलको तीज गीत ल्याएका हुन् । गीतमा गायक पशुपति शर्माकै शब्द, संगीत र विश्वास नेपालको एरेन्ज छ । गत शुक्रबार यस गीतको भिडियो गायिका जानकीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

दुर्गा पौडेलको छायाँकन एवं निर्देशन, सुमन थापा मगरको कोरियोग्राफीमा तयार भिडियोमा कलाकार बुद्धि तामाङ्ग र मोडल करिष्मा ढकालले अभिनय गरेका छन् । नविन घर्ती मगरले सम्पादन गरेको भिडियोले अहिलेसम्म २ लाख ५५ हजार भ्यूज पाएको छ ।

देबेन्द्रको ‘दिल दुखो’

यसअघि ‘मुसुक्क हाँस’, ‘एक्लै जान सक्छौ र ?’जस्ता गीत ल्याएका देबेन्द्र बब्लुले गत शुक्रबार ‘दिल दुखो’बोलको गीत सार्वजनिक गरेका हुन् ।

बब्लुकै शब्द, संगीत र स्वर रहेको गीतमा कृष्ण भान्जाको एरेन्ज छ । भिडियोमा देवेन्द्र स्वयंमका साथमा विशाल घिमिरे, जेरी भण्डारी, अमर रावल, सुनिल वि.कको अभिनय छ । देबेन्द्रकै अवधारणामा तयार भिडियोको विशाल घिमिरे सृजनात्मक निर्देशकको रुपमा रहेका छन् ।

अनिल के. मानन्धरको छायाँकन रहेको भिडियोलाई डिन्सन शाहले सम्पादन गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा धर्मका कारण प्रेमीकासँग छुट्टिएपछि प्रेमीको कथालाई प्रस्तुत गरिएको छ । देबेन्द्रकै युट्युब च्यानलमा सार्वजनिक भिडियोले अहिलेसम्म ३ लाख ६३ हजार भ्यूज पाएको छ ।

रानीको ‘अक्कले’

रानी शाक्य र चन्द्र सिँह घलेको स्वर रहेको ‘अक्कले’ बोलको गीत गत शुक्रबार सार्वजनिक भएको हो । यो पप डान्सिङ विटको गीत हो । चन्द्र सिँह घलेको शब्द, संगीत रहेको गीतलाई निरज श्रेष्ठले एरेन्ज गरेका हुन् । फराज अर्पणको निर्देशनमा बनेको भिडियोमा विना राउत र अमृत ढुंगानाको अभिनय छ ।

अभि लामाको कोरियोग्राफी, हरि घलेको छायाँकन रहेको भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन गरेका हुन् । गीतको भिडियोले एक सातामा ३ लाख ८० हजार भ्यूज पाएको छ ।

राजेशपायलको ‘हौवा हौ’

राजेशपायल राईको स्वर रहेको ‘हौवा हौ’ शीर्षकको गीत पाँच दिनअघि सार्वजनिक भएको हो । विकास संगम राईको शब्द, विक्रम राईको संगीत रहेको गीतको एरेन्जर दिवेश राई हुन् । रेकर्डिङ स्टुडियोभित्र छायाँकन गरिएको यस गीतको भिडियोमा राजेशपायल स्वयंम देखिएका छन् । भिडियोलाई धन खालिङले छायाँकन एवं सम्पादन गरेका हुन् ।

राजेशपायलकै युट्युब च्यानलमा सार्वजनिक यस गीतको भिडियोलाई अहिलेसम्म २ लाख ३५ हजार पटक हेरिएको छ ।

भीम र अस्मिताको ‘मिनरल वाटर २’

भीम विष्ट र अस्मिता अधिकारीको स्वरमा बिहीबारमात्रै ‘मिनरल वाटर २– पोइला जान्छौ त ?’बोलको गीत सार्वजनिक भएको हो । एक वर्षअघि सार्वजनिक ‘मिनरल वाटर’ निकै चलेको गीत हो । सोही गीतलाई बजारमा ल्याएको ईनाक्षी ईन्टरटेन्मेन्टले नै ‘मिनरल वाटर २’ ल्याएको हो । यस गीतमा भीम विष्टको शब्द तथा संगीत, कृष्ण भान्जाको एरेन्ज रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा भीम विष्ट, सुधिर श्रेष्ठ, गीता ढुंगाना र लोसिना लामिछानेको अभिनय छ । पवन सुस्लिङले यस भिडियोको छायाँकन एवं सम्पादन गरेका हुन् । भिडियोले एक दिन नबित्दै ६५ हजार भ्यूज पाउँदै युट्युब ट्रेन्डिङमा उक्लिएको छ ।

एलिना र जिवेशको ‘कराई धोइदेउन’

एलिना चौहान र जिवेश सिँह गुरुङको स्वरमा बिहीबार ‘कराई धोइदेउन’बोलको ग्ीत सार्वजनिक भएको हो । एलिनाको शब्द, भीम कुसारीको संगीत रहेको गीतलाई जिवन बडुले एरेन्ज गरेका हुन् ।

जिवेशकै निर्देशनमा तयार भिडियोमा जिवेश, एलिनासँगै संगम भण्डारी, बनुराम शाक्य, कमल मैनाली लगायतको अभिनय छ । निमबाबु तामाङको कोरियोग्राफी, रुपेश थापा र महाविर कार्कीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । रमाईलो यस गीतको भिडियोलाई पनि रमाईलै तरिकाले प्रस्तुत गरिएको छ । भिडियो सार्वजनिक भएको एक दिन नबित्दै १ लाख २५ हजार बढी भ्यूज पाएको छ । यो गीत पनि युट्युब ट्रेन्डिङको १८ नम्बरमा छ ।

करिष्मा मानन्धरको ‘आउ न संगी हो गाउँ न मिलेर’

अभिनेत्री करिष्मा मानन्धरले चार दिनअघि ‘आउ न संगी हो गाउँ न मिलेर’बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । नृत्य निर्देशक गोविन्द राईको शब्द, साज सिंहको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् ।

के.बि फिल्मसको प्रस्तुती, गोविन्द राईको निर्देशनमा बनेको गीतको भिडियोमा करिष्मा मानन्धर, सम्झना बुढाथोकी, क्षितजा शाक्य, तेञ्जु योञ्जन, सुप्रिया योञ्जन, बसु तामाङ लगायतको अभिनय छ । मदन कश्यप घिमिरेको छायाँकन रहेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका हुन् । करिष्माकै युट्युबमा सार्वजनिक भिडियोले १ लाख ८ हजार बढी भ्यूज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?