
निकट भविष्यमा नै मुलुकले विद्युत्को उत्पादनमा भएको वृद्धिसँगै खपतको चुनौती सामना गर्नुपर्ने देखिन्छ । नेपालको विद्युत् विकासको ११० वर्षे यात्रा करीब १३०० मेगावाट मात्रमा सीमित भएको नमीठो इतिहास छ । तर विद्युत् उत्पादनको पछिल्लो प्रगतिले भने हाल माग रहेको करीब १५०० मेगावाटलाई निकट भविष्यमा नै भेट्ने देखिन्छ । यसको अर्थ केही वर्षमा नै अफ पिक आवरमा इनर्जी स्पील (खेर जाने) हुने देखिन्छ । अतः उत्पादन वृद्धिसँगै खपतको चुनौतीलाई सामना गर्न आपतकालीन, अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गरी लागू गर्नुपर्ने देखिन्छ ।
विद्युत् खपत गर्न विद्युतीकरण, महसुल समायोजन, विद्युतीय चुल्होको प्रयोग, विद्युतीय सवारी, पेट्रोलियमबाट चल्ने सवारी साधनको रूपान्तरण, कलकारखानाको स्थापना, विद्युत् निर्यात, इनर्जी बैंकिङ्ग तथा पुलिङ्ग, भूमिगत सिंचाइ लगायतका उपाय अवलम्बन गर्न सकिन्छ । यी उपायमध्ये विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्दै एलपी ग्याँसको प्रतिस्थापन पनि एक महत्वपूर्ण विद्युत् खपतको उपाय हो ।
एलपी ग्याँस नेपालको आफ्नो उत्पादन हैन । तसर्थ यसको आयातको लागि वर्षेनि अरबौं नेपाली रुपैयाँ बाहिरिने गरेको छ । हाल नेपालले वार्षिक औसत ४ लाख ५० हजार मेट्रिक टन एलपी ग्याँस खरीद बापत करीब ३७ अर्ब रुपैयाँ भारतलाई बुझाउँदै आएको छ । एलपी ग्याँसको खपत आधा मात्र पनि घटाउन सकियो भने वार्षिक १९ अर्ब बचत गर्दा २५ मे.वा. क्षमताको जलविद्युत् आयोजनाको उत्पादन खपत गर्न सकिन्छ ।
नेपालमा आर्थिक विकासको सम्भावना बोकेका प्रमुख क्षेत्रहरू जलविद्युत्, पर्यटन, चुनढुङ्गाा (सिमेन्ट उत्पादन) इत्यादि नै हुन् । अतः आफ्नै स्वदेशी उत्पादनको रूपमा रहेको जलविद्युत् प्रयोग गरी अहिले आयात गरिरहेको पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्ने हो भने देशको आर्थिक अवस्था कायापलट त हुने नै छ साथसाथै समाजवादको दर्बिलो जग समेत निर्माण हुने देखिन्छ ।
निर्माण लागत बढेका कारण नेपालमा उत्पादित बिजुलीको मूल्य पनि महँगो नै छ जसका कारण खाना पकाउन प्रयोग हुने एलपी ग्याँसलाई विद्युतीय इन्डक्सन चुल्होले विस्थापन गर्दा आर्थिक हिसाबले धेरै फरक नपरेतापनि आफ्नै उत्पादनको सदुपयोग साथै आयातमा कमी गर्दा दोहोरो फाइदा भने अवश्य नै हुन्छ ।
एलपी ग्याँस र इन्डक्सन चुल्होको प्रयोगबीच ऊर्जा खपतको आधारभूत र तुलनात्मक विवरण यस्तो छ :
तुलनात्मक विवरण (स्वाभाविक गुण तथा स्वरूपको चुल्होको लागि) |
|
एलपी ग्याँस चुल्हो |
इन्डक्सन चुल्हो |
खपत : १ घण्टा= १२ मेगा जुलबिहान-बेलुका १/१ घण्टा १ महीना प्रयोग गर्दा
|
खपत : १ घण्टा = २.३ कि.वा. आवरबिहान-बेलुका १/१ घण्टा १ महीना प्रयोग गर्दा,
१५ ए. जडान क्षमताको लागि, रु.१२५+(४०+४०+६५+१६०+४७५+३६१)= रु.१२६६/– |
मासिक बचत = रु.१४४७.५० – रु.१२६६/– = रु.१८१.५० (१४.३३%) |
इन्डक्सन चुल्होको प्रयोग करीब १४.५ प्रतिशत सस्तो पर्न जाने देखिन्छ । अझै एलपी ग्याँसमा दिइएको अनुदान रकम रु.३१९.३२ जोड्ने हो भने बचत ३९ प्रतिशत पुग्ने देखिन्छ । इन्डक्सन चुल्होको प्रयोग बढाउने कुरा गर्न जति सजिलो छ यसको कार्यान्वयन पक्ष त्यति नै धेरै जटिल तथा चुनौतीपूर्ण छ ।
इन्डक्सन चुल्हो प्रयोगका चुनौती
- इन्डक्सन चुल्होको शुरू खरीद मूल्य ग्याँस चुल्होको दाँजोमा करीब दोब्बर हुनु ।
- ग्याँस चुल्होमा प्रयोग भैरहेका सबै भाँडाहरू इन्डक्सन चुल्होमा प्रयोग गर्न नमिल्नु ।
- इन्डक्सन चुल्होको लागि छुट्टै किसिमको भाँडा खरीद गर्नुपर्ने बाध्यता जुन सामान्य पकाउने भाँडाहरू भन्दा महँगो हुन जान्छ ।
- कमजोर जडान क्षमता, कम क्षमता भएका पुराना ट्रान्सफर्मर, नो लाइट रेन्सपोन्स चुस्त नहुनु लगायत भरपर्दो वितरण प्रणाली नहुनु ।
- विद्युतीय चुल्होको दीर्घकालीन फाइदाबारे जनस्तरमा सूचना पुर्याउन नसक्नु ।
- इन्डक्सन चुल्होलाई वैकल्पिक चुल्होको रूपमा मात्र सीमित गर्नु ।
- सर्वसाधारणमा इन्डक्सन चुल्होमा करेन्ट लाग्छ भन्ने भ्रम पैदा हुनु ।
- नाइक्रोम तारवाला हिटरसँग तुलना गर्नु जसले गर्दा विद्युत् खपत बढी भई एलपी ग्याँस भन्दा महँगो पर्ने भ्रम पैदा हुनु ।
- मर्मतसम्भारको सर्वसुलभता नहुनु । बिग्रेपछि खेरै जान्छ भन्ने सोच पैदा हुनु ।
उल्लिखित चुनौतीको निराकरण नै इन्डक्सन चुल्होको प्रयोग बढाउने उपाय हुन् । यदि हालको एलपी ग्याँसको खपतलाई शतप्रतिशत विस्थापन गर्ने हुँदा पनि जम्मा ६० देखि ७० मेगावाटसम्म मात्र विद्युत् खपत बढ्ने देखिन्छ । एलपी ग्याँसको तत्काल विस्थापन असम्भव छ । प्रविधिको विकाससँगै इन्डक्सन चुल्होको प्रयोग कछुवा गतिमा भए पनि विस्तारै अवश्य नै बढ्नेछ । तर पनि यस कार्यक्रमलाई तीव्रता दिने हो भने निम्न उपायहरूलाई अल्पकालीन र दीर्घकालीन योजनाको रूपमा अवलम्बन गर्न सकिन्छः
इन्डक्सन चुल्होको प्रयोग बढाउने उपाय
- एलपी ग्याँसमा दिइएको अनुदान रकम क्रमशः घटाउँदै लगेर पूर्णतः खारेज गर्ने ।
- इन्डक्सन चुल्हो आयातमा करहरू समायोजन गरी चुल्हो खरीदमा सहुलियत प्रदान गर्ने ।
- इन्डक्सन चुल्हो उत्पादन गर्ने कलकारखानाहरूलाई प्रोत्साहन गर्ने । कंक्रिट पोल प्लान्ट स्थापना गरे जस्तै सकभर प्राधिकरणले इन्डक्सन चुल्हो कारखाना खोल्ने ।
- विद्युत् ग्राहकलाई विविध योजना तथा अफर दिने । जस्तो कि, इन्डक्सन चुल्हो खरीद गरेको प्रमाणको आधारमा निश्चित रकम (रु.४ हजारदेखि रु.५ हजारसम्म) भुक्तानी दिने र पछि मासिक महसुलमा (रु.१५० देखि रु.२०० सम्म) कट्टा गर्दै दुईदेखि तीन वर्षमा भरपाई गर्ने ।
- वितरण प्रणालीलाई सुधार गर्दै ग्राहकहरूलाई विद्युत्को शतप्रतिशत उपलब्धताको ग्यारेन्टी गराउने ।
- विद्युत् उत्पादनको वृद्धिसँगै समयानुकूल घरेलु ग्राहकहरूको महसुललाई समायोजन गर्दै लैजाने ।
- इन्डक्सन चुल्होको प्रयोग सस्तो तथा सुरक्षित छ भनी विज्ञापनका आकर्षक सामग्रीहरू तयार गरी सर्वसाधारणमा सम्प्रेषण गर्ने ।
- स्थानीय सरकार, नेता, समाजसेवीहरूले वितरण गर्ने राहत तथा अनुदानका कार्यक्रमहरूमा इन्डक्सन चुल्हो तथा भाँडाहरू समावेश गर्ने ।
- इन्डक्सन चुल्होको मर्मतसम्भारका लागि बजारमा उपलब्ध टेक्निसियनहरूलाई तालिम तथा प्रशिक्षणका कार्यक्रमहरू आयोजना गर्ने ।
अन्त्यमा, इन्डक्सन चुल्होको प्रयोग बढाउँदै विद्युत् खपत बढाउने कार्यक्रम एककिसिमले चुनौतीपूर्ण छ । किनभने ग्राहकलाई मनैदेखि इन्डक्सन चुल्हो किनौं किनौं भन्ने बनाउन एलपी ग्याँसको माइन्ड सेट परिवर्तन गर्नै पर्ने हुन्छ । जसमा बिजनेस मार्केटिङ्गको कला कौशलता समेत प्रयोग गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया 4