+
+

भीम रावलको बाटो हेर्दै सुदूरपश्चिमका एमाले

जनक विष्ट जनक विष्ट
२०७८ भदौ ६ गते १७:१६

६ भदौ, धनगढी । नेकपा एमाले छाडेर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि सुदूरपश्चिममा उनी निकटका नेता अलमलमा परेका छन् । केन्द्रमा माधव नेपाललाई साथ दिँदै आएका भीम रावल तटस्थ बसेपछि सुदूरपश्चिममा त्यसको प्रभाव देखिएको हो ।

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित २५ सांसदमध्ये सभामुखसहित १८ जना माधवकुमार नेपाल पक्षका थिए । तर उनले छुट्टै पार्टी गठन गर्दा जम्मा ३ जनाले साथ दिएका छन् । प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र पूर्वपर्यटन मन्त्री माया भट्ट माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

जोशी र भट्ट केन्द्रीय समतिमै छन् भने सोडारी पनि नेता नेपाललाई साथ दिने बताउँछन् । तर माधव पक्षका अरु सांसद अहिले अलमलमा छन् ।

माधव नेपाल निकट प्रदेशसभा सदस्य अमरबहादुर साउद आफूहरु पार्टी एकताको पक्षमा रहेको बताउँछन् । ‘अहिले क्लियर केही पनि भएको छैन । पहिलो प्राथमिकता हामी १८ जना नै पार्टी एकताकै पक्षमा हो,’ उनी भन्छन्, ‘यदि त्यो सम्भव भएन भने निकट भविष्यमा थाहा हुँदै जानेछ । अहिले को कता ? भन्न सक्ने अवस्था छैन ।’

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।

प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले नयाँ दल दर्ता प्रक्रिया नै पूरा नभएका कारण सोचविचार गरेर मात्र निर्णय लिने बताइन् । ‘माधव कमरेडले दर्ता गर्न खोज्नुभएको नयाँ पार्टी दर्ताको प्रक्रिया सकिएपछि निर्णय लिन्छौँ । हामीलाई २१ दिनको समय दिइएकाले सोच विचार गरेर मात्र अघि बढ्छौँ,’ उनले अनलाइनखबरसँग भनिन् ।

सरकारले भदौ २ गते जारी गरेको दलविभाजनसम्बन्धी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न सक्ने व्यवस्था राखिएको छ । त्यसैले धेरै सांसद अहिले पर्ख र हेरको अवस्थामा छन् ।

प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले भने एमाले वा एकीकृत समाजवादी पार्टी रोज्नुपर्ने अवस्थामा माधव नेपाललाई नै साथ दिने संकेत गरेका छन् । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतासँग छलफल तथा परामर्श गरिरहेको बताउँदै उनले आफूहरु विवेक प्रयोग गर्ने बताउँछन् ।

एमालेका तत्कालीन प्रमुख सचेतक समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ भीम रावल निकट नेता मानिन्छन् । तपाई एकीकृत समाजवादी पार्टीमा कि नेता भीम रावलको पक्षमा ? भन्ने जिज्ञासामा उनी आफू अहिलेसम्म एमालेमै रहेको जवाफ दिन्छन् ।

‘कमरेड भीम रावल पार्टी एकताको पक्षमा छन् । यसको मतलब उनले माधव कमरेडलाई छोडेर केपी कहाँ जाने भन्ने होइन । अहिलेसम्म एमाले नै हौं,’ तामाङ भन्छन्, ‘अझै पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्छ भन्ने कुरा हो । ओलीले बहुमतको आडमा निर्णय गर्न थाले त्यसपछि सोच्ने कुरा भयो ।’

भीम रावलको प्रभाव

सुदूरपश्चिम प्रदेशमा एमालेभित्र आफ्नो बलियो पकड बनाएका भीम रावल तटस्थ बसेकै कारण यहाँका सांसदहरु पनि अलमलमै रहेका छन् । तत्कालिन नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज रहेका रावलको पक्षमा त्यहाँका धेरै नेता–कार्यकर्ता छन् ।

माधव नेपाल पक्षका १७ सांसदले पार्टीको निर्देशन विपरीत सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । त्यतिखेरको परस्थितिमा उनीहरुलाई नेता रावलले साथ दिएका थिए । तर अहिले माधव नेपालले नयाँ पार्टी गठन गर्दा रावल नै नेता नेपालसँग छैनन् । भावी दिनमा पनि रावल एमालेमै रहन्छन् वा नेपाललाई साथ दिन्छन् भन्ने टुंगो छैन । त्यसैले धेरै सांसद रावलको बाटो हेरेर बसेको नेताहरु बताउँछन् ।

भीम रावल निकट नेतृ माया भट्ट एकीकृत समाजवादी पार्टीमा जानुलाई अर्थपूर्ण मानिएको छ । तर सबै नेता भीम रावलको बाटो हेरेर बस्न नसक्ने माधव नेपाल निकट एक नेता बताउँछन् ।

‘भीम रावल एमालेमै हुँदा कुनै न कुनै दल रोज्नैपर्ने अवस्था आउँछ, त्यस्तो हुँदा विगतमा नेता नेपाललाई साथ दिदै आएका १८ जना माननीयमध्ये ९ जना एकीकृत समाजवादी पार्टीमा जान सक्छन्,’ स्रोत भन्छ, ‘अन्य ९ जना नेता रावलसँगै एमालेमा बस्छन् भन्ने हाम्रो विश्लेषण छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष पनि नेता भीम रावलको कदमपछि मात्र पार्टीमा के–कति सांसद रहन्छन् भन्ने कुरा यकिन गर्न सकिने बताउँछन् । सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नेता रावल कतातिर लाग्छन् भन्ने स्पष्ट भएकाले अहिले नै कुन पक्षमा कति सांसद रहन्छन् भन्ने आँकलन गर्न नसकिने बताउँछन् ।

‘कमरेड भीम रावलको क्लियर स्टेटमेन्ट आएको छैन । अहिलेसम्म आधिकारिक रुपमा दुई जना मात्र एकीकृत समाजवादी पार्टीमा गएका देखिन्छन्,’ थापाले भने, ‘तर पार्टी बनाउन ठूलो योगदान गरेका धेरै सांसदहरु एमाले छाड्दैनन् भन्ने हाम्रो बुझाइ छ ।’

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?