+
+

पारसको सन्यासपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता कस्तो होला ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ ६ गते २०:०७

६ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आउँदो महिना आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिज खेल्दैछ । नेपाल ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म ओमानमा हुनेछ । त्यसअघि नेपालले ओमानमै पपुवा न्यूगिनी (पीएनजी) सँग दुईवटा एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) प्रतियोगिता खेल्नेछ ।

नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य तथा पूर्वकप्तान पारस खड्काविना नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ । पारसले गत साउन १९ गते अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास घोषणा गरेपछि नेपालले ओमान सिरिजका लागि बन्द प्रशिक्षण शुरु गरेको थियो ।

यसअघि पनि गत वैशाखमा चोटका कारण पारसले सिनियर टिममा केही खेल खेलेका थिएनन् । तर अहिले भने पारस फेरि टिममा नफर्कने गरी राष्ट्रिय टिमबाट बिदा भएका छन् । पारस मैदानभित्र र बाहिर रोल मोडल नै थिए । अब नेपाली टिमले मात्र नभई नेपाली क्रिकेटप्रेमीले नेपाली टिममा ७७ नम्बर जर्सी देख्न पाउने छैनन् ।

कप्तान ज्ञानेन्द्र मल्लले पारस टिममा नहुँदा फरक पर्ने बताएका छन् । प्रशिक्षक डेभ वाटमोरले पनि पारसलाई ‘स्याड्ली मिस’ गर्ने बताए । क्रिकेटर सन्दीप लामिछानेले अबको सिरिज जितेर पारसलाई ‘डेडिकेट’ गर्ने बताए । यस्तै शरद् भेषवाकरले पारसले देखाएको बाटो पछ्याएर अरु खेलाडीलाई पनि अगाडि आउने मौका रहेको बताए ।

पारसको अभाव चुनौतीपूर्ण ज्ञानेन्द्र मल्ल

यति लामो करियरमा सँगै ड्रेसिङ रुम शेयर गर्‍यौं । उसको उपस्थिति नै महत्वपूर्ण थियो । हामीले जिल्ला, क्षेत्र, एपीएफ क्लब र राष्ट्रिय टिमसम्म सँगै खेल्यौं । अहिले त्यो मिस हुने रहेछ । हुनत: क्रिकेट खेलाडीको करिअरमा यस्तै हो । खेलाडी फेरबदल भइरहन्छन् । एकपछि अर्को स्टेज आउँछ त्यसलाई हामीले स्वीकार्नुपर्छ । नयाँ चुनौतीको रुपमा पनि लिनुपर्छ ।

पारसको सन्यासपछि अतिरिक्त जिम्मेवारी बढेको छ । हुन त मसँग अरु साथीहरु पनि छन्, उनीहरुको अनुभव पनि छ । त्यसलाई उपयोग गर्नुपर्छ र पारस नहुँदा पनि खेल जित्नुपर्छ । नेपाली क्रिकेट टिममा पारसको आवश्यकता छ, जहिलेसुकै छ । उसले ब्याट समात्न सकुञ्जेलसम्म ग्राउण्डमा हुँदाखेरि त्यसले नतिजा फरक पार्छ जस्तो लाग्छ । हाम्रो टिमलाई मात्र नभएर विपक्षी टिमलाई पनि मनोवैज्ञानिक रुपमा त्यसले असर पार्छ ।

पारसले आफ्नो रिप्लेसमेन्ट देख्नेछन् प्रशिक्षक डेभ वाटमोर

निश्चय नै हामीले उनलाई ‘स्याड्ली मिस’ गर्नेछौँ । नेपाली क्रिकेटको लागि उनले धेरै गरेका छन् । उनले पूरा गर्नुपर्ने ठूलो खाडल छाडेका छन् । उनले नेपाली क्रिकेटको विकासमा एउटा लेगेसी छाडेर गएका छन् । पारसले आफ्नो रिप्लेसमेन्ट पनि देख्नेछन् । टिममा राम्रो युवा ट्यालेन्ट भएकाले पनि पारसको सन्यास सहज भएको हुनसक्छ ।

उहाँको सबै कुरा मिस हुनेछ सन्दीप लामिछाने

यदि कसैको उपस्थितिले टिममा फरक पार्छ र त्यो उपस्थिति नहुनु भनेको हाम्रो लागि दुर्भाग्य हो । तर हामी यो स्थितिबाट अगाडि बढ्नैपर्छ । एउटा समय आउँछ, जुनबेला खेलाडीहरु रिटायर्ड हुन्छन् । उहाँ (पारस खड्का) को सबै कुराहरु मिस हुनेछ । उहाँले फिल्डभित्र जसरी सबै कुरा कन्डक्ट गर्नुहुन्थ्यो, साथसाथै उहाँको गाइडेन्स पनि । तर हामी त्यो कुरालाई बिर्सेर अघि बढ्नु जरुरी छ । मलाई आशा छ यदि यो सिरिजमा हामीले राम्रो गर्‍यौं भने उहाँलाई केही डेडिकेट गर्न सक्छौं ।

युवा खेलाडीलाई अवसर शरद भेषवकर

पारसको जुन अनुभव र योगदान छ, त्यसको तुलना कसैसँग हुँदैन । टिमका युवा खेलाडीका लागि पारसको ठाउँ लिने राम्रो अवसर पनि हो । एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा युवाहरुलाई एक्सपोजरको राम्रो अवसर छ ।

टिममा पारसको उपस्थिति महत्वपूर्ण थियो । मैदानमा अरुलाई अभिप्रेरित गर्ने खालको उसको इनर्जी लेभल थियो । त्यो चाहिं अब मिस हुन्छ । तर युवाका लागि फड्को मार्ने र मैदानमा उसले जस्तो गरेर देखाउने राम्रो अवसर छ । उसको पाइला आउने पुस्ताले पक्कै पनि पछ्याउनेछ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?