+
+

३२ मध्ये २७ ठेकदारले ल्याएनन् समयमै रासायनिक मल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ भदौ ७ गते १८:५४

७ भदौ, काठमाडौं । सरकारले अनुदानमा किसानलाई बिक्री गर्ने रासायिनक मल पछिल्लो साढे तीन वर्षदेखि समयमै नल्याउने क्रम मौलाएको छ । यो अवसधिमा मल खरिदका लागि कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले गरेको ३२ वटा ठेक्कामा ५ वटा ठेकदारले मात्रै समयमै मल नेपाल ल्याइपुर्‍याएको महालेखा परिक्षकको ५८औं प्रतिवेदनमा उल्लेख छ ।

समयमै मलको आपूर्ति हुन नसक्दा अन्नबालीको उत्पादनमा असर परेको भन्दै प्रतिवेदनले मल आपूर्ति प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । पछिल्ला साढे तीन वर्षको २७ वटा अन्य ठेक्कामा ठेकदारले मल ल्याउन कम्तिमा १२ देखि बढीमा २२४ दिनसम्म ढिलाई गर्ने गरेको प्रतिवेदनले औंल्याएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ७ वठा ठेक्काका ठेकदारले १२ देखि २२२ दिनसम्म मल आपूर्तिमा ढिलाइ गरेका थिए । उक्त वर्ष औषत मल आपूर्तिको समय ३३८ दिन पुगेको थियो ।

आर्थिक आर्थिक वर्ष ७५/७६ मा सम्झौता भएका ९ वटा मलको ठेक्कामध्ये २ वटामा मात्रै समयमै मल आएको थियो भने ७ वठा ठेकदारले मल ल्याउन कम्तिमा १७ देखि बढीमा ५७ दिनसम्म ढिलाइ गरेका थिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा मलको १० वटा ठेक्का लागेको थियो । जसमध्ये तीन वटा ठेक्काबाट मात्रै समयमै मल आपूर्ति भएको थियो । बाँकी ७ ठेकदारले मल आपूर्ति गर्न कम्तीमा १७ देखि ५७ दिनसम्म ढिलाइ गरेको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष ७६/७७ र ७७/७८ को पहिलो अर्धवाषिर्क अवधिमा कृषि सामाग्री कम्पनीले १ लाख ३० हजार मेटि्रकटन युरिया र २० हजार मेट्रिकटन डीएपी मल खरिदका लागि ६ वटा आपूर्ति कर्ता छनोट गरेकामा तीनले पनि मल खरिद गर्न सकेका छैनन् ।

जसकाकारण असोज, कात्तिक र मंसिरमा मल आपूर्ति हुन नसक्दा धानको बाला लाग्ने र हिउँदे बाली  लगाउने समयमा कृषकले मल नपाएको प्रतिवेदनले उल्लेख गरेको छ ।

कहिल्यै आउँदैन सिजनमा मल

मल खरिद गर्ने ठेकदारकै कारण पछिल्लो तीन वर्षमा कहिल्यै मागअनुसार पर्यप्त मल नआएको हो । मल आपूर्तिको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सयमै खरिद प्रक्रिया थालेपनि आपूर्तिकर्ताकै कारण मल ल्याउन ढिलाइ भएको देखिएको प्रतिवेदनमा जनाइएको छ ।

हिँउदे बालीको लागि असोज, कार्तिक महिना र वर्षेबालीको लागि चैत, वैशाख र जेठमा मल आउनेगरी खरिद प्रक्रिया थालिएको भएपनि समयमै मल भने नआएको हो ।

समुन्द्री आँधी, रेलको र्‍याक नपाएको, बन्दरगाहमा भिड बढेको जस्ता कारण देखाएर मल आपुर्ति ढिलाइ भएको कारण ठेकदारले देखाएपनि यसबाट किसान भने मारमा परेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाललाई वाषिर्क झण्डै ६ लाख मेट्रिक टन रासायनिक मल आवश्यक हुन्छ तर मलको उपलब्धता भने चार लाख मेटि्रकटन हाराहारी मात्रै हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?