+
+

नेष्डो समृद्ध लघुवित्तद्वारा राष्ट्र बैंकको नियम उल्लङ्घन

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ ९ गते १२:३५

९ भदौ, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।

राष्ट्र बैंकको यो निर्देशनलाई नेष्डो समृद्ध लघुवित्तले खुलेआम उल्लङ्घन गरेको हो । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको नियमनमा राष्ट्र बैंकले बेवास्ता गर्ने गरेको छ । राष्ट बैंकले सहर केन्द्रित बैंकहरुको नियमन मात्रै ध्यान दिने गर्दा यसको फाइदा उठाउँदै नेष्डो समृद्ध लघुवित्तले अटेर गरेको हो ।

यस लघुवित्तले राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गर्दै कार्यकारी अध्यक्षको रुपमा संस्थाको प्रमुख कार्यकारी अधिकृत र अध्यक्ष एकै व्यक्तिलाई राखेको छ । संस्थाका अध्यक्ष रहेका विश्वप्रकाश प्रसाईं ठकुरीले कार्यकारीको हैसियतमा नै कामकाज गरिरहेका छन् ।

संस्थाको आधिकारिक वेबसाइटमा नै कार्यकारी अध्यक्ष भनेर ठकुरीको नाम र तस्विर राखिएको छ । राष्ट्र बैंकको यो निर्देशन पछि धेरै बैंक तथा वित्तीय संस्थामा रहेका कार्यकारी सञ्चालक तथा कार्यकारी अध्यक्षले एक पद छाडेका थिए ।
नेपाल धितोपत्र बोर्डको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाले पनि सूचीकृत संस्थामा एउटै व्यक्ति अध्यक्ष र कार्यकारी प्रमुख बन्न नपाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकका प्रवक्ता तथा रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले कुनै एक व्यक्ति सञ्चालक र कार्यकारी प्रमुख हुन नपाउने बताउँछन् । यदि कसैले कार्यकारी अध्यक्ष वा कार्यकारी सञ्चालकको रुपमा काम गरिरहेको भए त्यो नियम विपरीत हुने उनको प्रतिक्रिया छ । तर यसरी निर्देशनको खुलेआम उल्लङ्घन गर्दा समेत केन्द्रीय बैंकले केही गर्न नसकी लाचार भएर बसेको छ ।

ठकुरीले आफूले कार्यकारी अध्यक्षको रुपमा काम गरिरहेको स्वीकार गरेका छन् । निर्देशिकाले कार्यकारी अध्यक्ष बन्न नपाइने व्यवस्था गरे पनि ऐनमा स्पष्ट नभनिएकाले आफू जिम्मेवारीमा रहेको उनले अनलाइनखबरसँग बताएका थिए ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?