+
+

‘मध्यपन्थी’हरुले धोका दिए : गंगालाल तुलाधर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १४:२१

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले स्थायी कमिटीका १० जना नेताहरुले आफूहरुलाई धोका दिएको बताएका छन् ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरुले धोका दिएको बताए ।

‘आजको ठाउँमा आउनको निम्ति तिनै १० जना साथी, जो मध्यपन्थी भएर केपी ओली कमरेडलाई दायाबाया राखेर प्रफुल्ल मुद्रामा फोटो खिचाउँदै हुनुहुन्छ, पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो’ उनले भने, ‘उहाँहरुले धोका दिनुभयो ।’

नेता तुलाधरले ती नेताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र पुनर्जागारणको अभियानमा छुटेको आरोप लगाए ।

उनले पार्टी विभाजन आफूहरुको बाध्यता भएको बताएका छन् । नयाँ पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले एमालेमा सुधारको संकेत नदेखिएपछि अर्को पार्टी गठन गर्नुपरेको बताए ।

‘पार्टी अर्को बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म कमरेड केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’

एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको उनको भनाइ छ । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च गर्‍यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?