९ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टी दुई समूहमा विभाजित भएको छ । जनमोर्चाका प्रदेश कमिटी अध्यक्ष नन्दलाल भट्टको समूहलाई छलेर उपाध्यक्ष लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश कमिटी गठन भएसँगै सुदूरपश्चिममा जनमोर्चा विभाजित भएको हो ।
धनगढीमा आयोजित प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा कमिटी गठन गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
नयाँ कमिटिको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आर्चाय, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका छन् । सदस्यहरुमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण बिक, बिक्रम विश्वकर्मा, गोरबहादुर बिक, निरु बिक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमबिक्रमचन्द, लालबहादुुर जाग्री चयन भएका छन् ।
सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उधव ऐर रहेका छन् ।
पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीको प्रमुख आथित्वमा दुई दिने प्रदेश स्तरीय भेला सम्पन्न भएको थियो । जाग्रीले पार्टीभित्र फरक मत राखेकै कारण निलम्बन गर्ने, निष्काशन गर्ने शत्रुतापूर्ण व्यवहार गर्दै आफ्नो पक्षमा बहुमत हुने गरी पुर्नगठन गरेर नेतृत्वले नै पार्टी फुटाउने कामको सुरुवात गरेको बताए । सोही कारण आफूहरुले पनि पार्टीको विधान र कानूनी व्यवस्थाकै आधारमा प्रदेश स्तरीय भेलाबाट नयाँ प्रदेश समिति बनाएकाे उनी बताउँछन् ।
अध्यक्ष लम्सालले पनि पार्टी दुई समूहमा विभाजन नभएर विधानमा भएको व्यवस्था बमोजिम नै नयाँ कमिटी चयन गरिएको बताए ।
तर राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम अध्यक्ष नन्दलाल भट्टले भने पार्टीको विधान र अनुशासन विपरीत नयाँ कमिटी गठन गरिएकाले त्यो अवैध रहेको बताए । उनले पार्टी अनुशासनको उल्लंघन गर्नेहरुले कुनै अन्य पार्टीमा प्रवेश गर्ने उद्देश्यअनुसार कमिटी गठन गरेकाले पार्टीलाई त्यो कुरा मान्य नहुने बताए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4