+
+

संविधानमाथि राजनीति नगर : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १५:२६
फाइल तस्वीर

९ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई सचेत गराएका छन् । पूर्वप्रधानन्यायाधीशद्वय कल्याणकुमार श्रेष्ठ र सुशीला कार्कीले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्तिसमेत जनाए ।

नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरुलाई सचेत गराए । संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको बताउँदै उनले भने, ‘संविधानमाथि राजनीति भयो । संविधानलाई जुन ढंगले गम्भीरतापूर्वक लिने हो, त्यो लिएको जस्तो हामीलाई लाग्दैन, सत्ता कब्जा गर्ने दृष्टिकोण अहम् रह्यो । संविधानले कायम गरेका कुराहरुमा आवद्ध रहने क्रम अलि कम रह्यो ।’

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अहिलेको राजनीति राजाको पालाको नमुना जस्तो भएको बताइन् । उनले संविधानको गलत व्याख्या र प्रयोग गरेर राजाको नमुना जस्तो राजनीति दलहरुले गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

‘राजनीति वा देशको शासन कुनै एउटा दलले चलाउँछ भने त्यो दलले एउटा उदाहरण बनेर कसरी मुलुकलाई सञ्चालन गरेर जाने, कसरी राम्रो भन्दा राम्रो काम गर्दै लिएर जाने भन्ने हुन्छ । तर यहाँ त भताभुंग, राजाको नमुना जस्तो भयो,’ उनले भनिन्, ‘आफ्नै दलभित्र पनि कोलाहल, दलका नेताहरुलाई मिलाउन नसक्ने, जे कुरा पनि आफैं मै हुँ भन्ने खालको अहमता र प्रवृत्ति देख्यौं ।’

कार्यक्रममा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अहिलेको सरकार सर्वोच्चको परमादेशबाट नआएको दाबी गरिन् । उनले सांसदहरुले धारा ७६(५) अनुसार आफ्नो अधिकारलाई प्रयोग गरेर हस्ताक्षर बुझाएपछि मात्रै सर्वोच्चले प्रधानमन्त्रीको नियुक्ति प्रारम्भ गरेको बताइन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता खिमलाल भट्टराईले अहिलेको मुख्य समस्या भनेको संविधानको व्याख्या र प्रयोगमा भएको बताए । संविधानको धारा ७६ बनाउँदा कुन हिसाबले संविधान लेखिएको थियो त्यसको स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।

यस्तै सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुनले संविधानको नेतृत्व गर्ने दलहरु नै संविधान कमजोर पार्न लागिपरेको बताए । पहिला संविधानको विरोध गर्नेहरुले अहिले संविधानको रक्षा गरेको तर संविधानको नेतृत्व गर्नेहरु विरोधमा उत्रिरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?