+
+

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १८:४१

१० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना विरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबारको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । ‘खोप लगाउने कार्य तीब्र जारी छ , दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ’, उनले भने । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए ।

‘हालसम्म ४० लाख १३ हजार ८८० जना (१३ प्रतिशत)ले खोपको पूरा मात्रा लगाएका छन्’, उनले भने, ‘खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या १८ प्रतिशत तथा दोस्रो मात्रा लगाउनेको सङ्ख्या ३० प्रतिशते छ ।’ वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको सो अवसरमा उनले जानकारी दिए ।

सरकारले दुर्गम र विकट जिल्लालाई खोप लगाउनका लागि प्राथमिकतामा राखेको उनले बताए । ‘थोरै जनसङ्ख्या तथा उपचार गर्न कठिनाइ हुने हुँदा पहिला दुर्गम जिल्लाका बासिन्दालाई खोप लगाइसक्छौँ’, उनले भने ।

जापानले उपलब्ध गराएको पाँच लाखभन्दा बढी डोज खोप मौज्दात रहेकाले त्यसलाई विद्यार्थीका लागि छुट्टयाएर हाल लगाउने काम जारी रहेको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।

प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको उनले उल्लेख गरे ।

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । ‘भारतबाट खोप चाँडै आपूर्ति हुन्छ, अब त्यसमा बिलम्ब हुँदैन्’, उनले भने।

अठार वर्षभन्दा कम उमेर भएकाका लागि मोडर्ना र फाइजरको खोप आपूर्तिको पहल भइरहेको उनले बताए । कक्षा १२ को परीक्षा यही भदौ अन्तिम वा असोज पहिलो साता गर्ने योजना रहेको उनको भनाइ थियो । ‘होम सेन्टरबाटै परीक्षा सञ्चालन गर्ने योजना छ, उनले भने ।

हाल काठमाडौं उपत्यकामा १३५ खोप केन्द्रमार्फत खोप लगाउने कार्य भइरहेको उनले बताए । शिक्षा र स्वास्थ्यमा जनशक्ति अभाव भएकाले काम समयमै गर्न नसकिएको भन्दै राज्यमन्त्री श्रेष्ठले चाँडै नै कर्मचारीको व्यवस्था गरी द्रुतगतिमा काम अघि बढाइने समितिलाई जानकारी गराए ।

न्यून कर्मचारीका भरमा योजना बनाए अनुसारको काम गर्न नसकिएको उनको भनाइ थियो । प्रदेश अस्पताल र काठमाडौँ उपत्यकाका अस्पताललाई साधनस्रोत सम्पन्न बनाइने उनले बताए । ‘स्वास्थ्य क्षेत्रमा व्यापक सुधारको आवश्यकता छ’, उनले भने ।

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राख्नुका साथै आ-आफ्नो सुझावसमेत दिएका थिए ।

सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?