+
+

झरही खोलाको बाढीले परासी बजार डुब्यो, एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १०:०३

११ भदौ,बुटवल । बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासी हुँदै बगेको झरही नदीमा पानी ओभर फ्लो हुँदा र रावण खन्डा खोलाको बाढी बजारमा पस्दा डुबान भएको हो ।

बाढी पसेर बजारको अधिकांश स्थान जलमग्न भएको छ । बजारका सयौं घर डुबानमा परेका छन् । डुबानले परासी बजारका रामग्राम नगरपालिकाको वडा नंं. १ को सहुवाटिकर, वडा नंं. २ को मस्जिद टोल, हाटबजार टोल, वडा नंं. ३ को सङ्गम टोल, मालटोल, लोकतान्त्रिक टोल, वडा नंं ५ को प्रशासन टोल ड्राइभ टोल, इमली टोल, बुद्ध चोक टोल र वडा नंं ६ पोखरापाली टोल पूरै डुबानमा परेका नगर प्रमुख नगेन्द्र गुप्ताले बताए ।

बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सैनिक ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसेर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउ परीक्षक राजु लामाले जानकारी दिए।

सयौं घरमा बाढी पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान लगायतमा क्षति पुगेको छ ।

वर्षा नरोकिएका कारण बाढी र डुबानले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न नसकिएको डीएसपी लामाले बताए । घर भित्रै बाढी पसेकाकारण एक तले घर हुने कैयौं परिवारले वर्षाकै बीच घरको छतमा रात कटाउन बाध्य भएको परासीका स्थानीय बासिन्दा एवं नेपाल पत्रकार महासंघका जिल्लाअध्यक्ष हरि शर्माले बताए ।

जिल्लाको सरावल, पाल्हिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिका र बर्दघाट नगरपालिकाको केही वडाहरु पनि बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ।

१४ वर्षीय किशोर बेपत्ता

सुनवल नगरपालिका वडा नं. ४ का एक जना १४ वर्षीय किशोर बेपत्ता भएका छन् । बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको आशंका प्रहरीले गरेको छ । उनको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?