+
+
Shares

चामेवासी कोही सुरक्षित ठाउँ खोज्दै जंगलतिर, कोही ब्यारेकमा

लगातारको वर्षासँगै चामे बजार आसपासका सबैजसो स्थानीय खोलामा बाढी आएको थियो । बिहान हिमलुङ हिमालमा हिम पहिरो जाँदा १० जना बेपत्ता भएकोमा २ जनाको शव चामे ल्याइएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८३ असोज ११ गते २१:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको चामेमा ठाडो खोलाको पहिरोले मर्स्याङ्दी नदी थुनिँदा बजार खाली भई मानिसहरू सुरक्षित स्थानतिर भागेका छन्।
  • बिहान हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता १० जनामध्ये २ जनाको शव चामे ल्याइएको छ भने १० जनासँग सम्पर्क भएको छ।
  • चामे बजारका ५ घर पूर्ण क्षतिग्रस्त भएका छन्, चामे–बेसीसहर सडक अवरुद्ध छ, र नासोँ गाउँपालिकाको ताल गाउँका १२ घर डुबानमा परेका छन्।

११ असोज, पोखरा । ‘ठाडो खोलामा आएको पहिरोले सिंगो चामे बजारकै मानिसरूको भागभाग भयो । सबै जंगलतिर उक्लिँदै छन्। चामेकै स्कुलनेर मस्र्याङ्दी नदी ठाडो खोलामा आएको पहिरोले थुनिएको छ । चामे सबै खोलाले घेरिएको छ के हुन्छ, थाहा छैन । अलि माथि भएकाले म गाउँपालिकाको कार्यालयमा छु तर सबै सुरक्षित रहनुपर्ने छ । मेरो पनि मोबाइल चार्च छैन । यहाँ सबै त्रासमा छन्, के गर्ने कसो गर्ने छ ।’

यो चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले आइतबार राति साढे ७ हुनै लाग्दा हस्याङफस्याङ गर्दै अनलाइनखबरलाई मनाङको चामेको अहिलेको अवस्थाबारे गराएको जानकारी हो ।

अध्यक्ष घलेका अनुसार मर्स्याङ्दी नदी थुनिएपछि अहिले चामे बजार सबैजसो घर खाली भइसकेको छ । चामे बजारका मानिसहरू जंगलतिर उक्लिरहेका छन् । कोही माथि डाँडातिर सुरक्षित खोजेर बसिरहेका छन् ।

लगातारको वर्षासँगै चामे बजार आसपासका सबैजसो स्थानीय खोलामा बाढी आएको थियो । बिहान हिमलुङ हिमालमा हिम पहिरो जाँदा १० जना बेपत्ता भएकोमा २ जनाको शव चामे ल्याइएको छ ।

अन्य १० जना पनि हिमपहिरो गएकै क्षेत्रबाट सम्पर्कमा आएको तर विस्तृत जानकारी नभइसकेको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिएका छन् ।

ठाडो खोला, घट्टे खोला, नार खोलासहित स्थानीय खोलाहरूको बीचमा रहेको चामे बजारका नागरिक अहिले त्रासमा रहेको गाउँपालिका अध्यक्षदेखि प्रमुख जिल्ला अधिकारीसम्मले बताए । त्यहाँका नागरिक, सरकारी कार्यालयका कर्मचारीहरू सुरक्षित ठाउँ खोजेर बसिरहेका छन् ।

गाउँपालिका अध्यक्ष घलेका अनुसार चामे बजारका मानिसहरू त्रसित हुँदै सुरक्षित ठाउँ खोजेर उक्लिएका छन् ।

‘चामे बजार खाली भइसक्यो, मस्र्याङ्दी नदी खाली भइसक्यो । हलका खुल्न त थालेको छ तर मानिसहरूको भागाभाग छ, नजिकै पुगेर कसैले सूचना लिने अवस्था छैन,’ घलेले भने, ‘ठाडो खोलामा बाढी आयो र मर्स्याङ्दी छेकिदियो । अहिले सबै तर्सिएर भागिसक्यौं ।’ घलेले अहिले पनि ठाउँ ठाउँमा पहिरो खरिसकेको बताए ।

मनाङको तल्लो तटीय क्षेत्रको नासों गाउँपालिकाका नागरिक पनि त्रसित छन् । नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मर्स्याङ्दी नदीको बहाब बढ्दा ताल गाउँका १२ घर डुबानमा परेका थिए । अहिले माथि चामेमा मर्स्याङ्दी थुनिएको र खुलिनसकेकाले ताल गाउँ, धारापानीलगायतका ठाउँका नागरिकलाई सुरक्षित स्थानमा बस्न भनिएको अनलाइनखबरसँग बताए ।

स्थानीयहरूले यस्तो विपद्मा पनि सरकारले चासो नदिएको गुनासो गरेका छन् । स्थानीय छोदेन लामाले शनिबार रातिदेखि नै जंगलमा बसिरहेको बताइन् । ‘हिजो जंगलमा बास बस्यौं । आज ब्यारेकमा छौं, रात कटाउनै पर्‍यो तर सुरक्षित छैनौं,’ उनले गुनासो गरिन्, ‘यस्तो बेलामा पनि सरकारले उद्धार गरेन ।’

मनाङका सिडिओ मुक्तिप्रसादले अहिले ठाडो खोला र घट्टेखोलामा मुख्य गरी बाढी आइरहेको बताए । उनका अनुसार खोलाबाट वार–पार गर्ने अवस्था छैन ।

‘चामे आसपासका ४ वटा खोलाहरू छन् । ठाडो र घट्टेखोलामा अहिले पनि बाढी आइरहेको छ । मस्र्याङ्दी थुनिएकोतिरका नागरिक पालिकाअध्यक्षसहित सुरक्षित स्थानतिर बसेको जानकारी पाएका छौं,’ सिडिओ खनालले भने, ‘हामी चाहिँ अहिले नयाँ भैरवी गणमा छौं र यहाँ करिब डेड सय मानिस बसिरहेका छौं ।’

मर्स्याङ्दी थुनिएको र स्थानीय खोलाहरूमा पनि बाढी आएकाले जस्तोसुकै विपत्ति पनि निम्तिन सक्ने भन्दै सुरक्षित स्थानमा बसिरहेको उनले बताए । मनाङमा लगातारको वर्षाले बिजुली छैन भने उपल्लो मनाङमा सम्पर्क स्थापित गर्नै नसकिएको उनको भनाइ छ ।

चामेमा खोलाको बाढीले ५ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । मनाङ जोड्ने चामे–बेशींसहर सडक अवरुद्ध छ ।

चामे र मनाङको तल्लो तटीय क्षेत्रका नागरिक त्रसित हुनुको कारण अहिलेको घटनामात्रै नभएको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर बताउँछन् ।

२०७८ सालमा मनाङवासीले कल्पनै नगरेको बाढी आएको थियो । जसले मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति निम्त्याएको थियो भने मनाङबासीले चुनौतिसमेत दिएको थियो । २०७८ साल जेठ ३१ र असार १ गतेको बाढीले धेरै मनाङवासीको उठिबास लगाएको थियो ।

सदरमुकाम चामे र आसपासको क्षेत्रमा मर्स्याङ्दी नदी र ठाडो खोलाको बाढीले सबैभन्दा बढी भौतिक संरचनाहरूमा क्षति पुर्‍याएको थियो । नासों गाउँपालिकाको तालगाउँलाई मर्स्याङ्दी नदीमा आएको बाढीले पूर्णरूपमा डुबानमा पारेको थियो । त्यहाँका घरहरू र शैक्षिक संस्थासमेतमा क्षति पुगेको थियो ।

पिसाङ लगायतका तटीय बस्तीहरूमा मर्स्याङ्दी नदीको कटानले बस्ती नै उजाड बनाएको । मोटरबाटो मात्र नभई गोरेटो बाटो समेत नामेट पारेको थियो । यो घटनालाई विज्ञहरूले जलवायु परिवर्तनसँग जोडेर हेरेका थिए र अब खोला किनारमा नबस्न, अन्य ठाउँमा पनि सतर्क भएर बस्न सुझावसमेत दिएका थिए ।

मनाङभर करिब ७५ भन्दा बढी घरहरू पूर्ण रूपमा नष्ट भए भने त्यो बेला सयौं घरहरू विस्थापित समेत हुन पुगेका थिए । व्यापारिक बजारसँगै सरकारी कार्यालय, ब्यारेक, प्रहरी चौक, सडक, पुलमा ठूलो क्षति पुर्‍याएको थियो ।

चामेको ठाडो खोलामा आएको बाढी र लेदोका कारण कृषि ज्ञान केन्द्र नजिकका घरहरूमा, सदरमुकाम जोड्ने दुवै काठेपुलहरू बगाएको थियो । घट्टे खोलामा ठूला–ठूला ढुंगाहरू थुप्रिन पुगेपछि मर्स्याङ्दी नदीको बहाब चामे बजारतिर सोझिएको थियो ।

त्योबेला १३ भन्दा बढी त झोलुंगे र पक्की गरेर पुल बगाएको थियो । ५ वटा साना हाइड्रोपावरहरूमा क्षति पुगेको थियो ।

‘२०७८ सालको बाढीले यहाँको मान्छेलाई भागाभाग बनायो । ठूलो कालले ज्यान जोगाएको हो । तर, त्यत्रो बाढी कहिल्यै देखेको थिएन । चामेदेखि तलतिर धेरै मान्छेले दु:ख पाए,’ नासों गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी मनकुमारी घले भन्छिन्, ‘जलवायु परिवर्तन हो भन्छ । पहिलेजस्तो हिँउ पर्दैन, पहिलेभन्दा बाढी पानी पर्छ तर पानीको मूल सुकेको छैन । बाढीले मान्छेलाई तर्साइरहेको छ । खै के भएको हो ।’

मनाङका सिडिओ मुक्तिप्रसादले पनि चामे र खोला तथा नदी किनारतिर बस्ने मानिसहरू धेरैलाई २०७८ सालको बाढीले त्रसित बनाएको बताए । ‘मानिसहरू त्यो बेलादेखि नै त्रस्त थिए । अहिले सरकारले बेलैमा सतर्क गराएको थियो र नागरिक पनि सचेत भए,’ उनले भने, ‘चामे आसपासको खोला बढ्नेबित्तिकै मानिसहरू सतर्क भएर सुरक्षित ठाउँमा गए । मर्स्याङ्दी थुनिएपछि अरु सुरक्षित ठाउँ खोजेर बसेका छन् ।’

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?