+
+

अविरल वर्षाका कारण कहाँ के–के भयो ? गृहमा विपद व्यवस्थापन बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १९:०२

११ भदौ, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १० जिल्लामा क्षति पुगेको छ । पहिरोका कारण २ जना बेपत्ता र एकजना घाइते छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-४ मा परिहो जाँदा एक घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनामा एकै परिवारका तीनजना बेपत्ता छन् ।

चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धमाया पुलामी र उनकी दुई नातिनीहरु ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

प्राधिकरणका अनुसार नवलपरासी पूर्वकै गैंडाकोट–९, थुम्की बजार नजिकै पूर्व-पश्चिम राजमार्गमा पहिरोले रुख लडाउँदा अवरुद्ध राजमार्ग पन्छाउने क्रममा एक जना घाइते भएका छन् ।

मिटी ट्रकका एक जना सह–चालकले रुख पन्छाउने क्रममा अर्को रुख ढलेपछि उनी घाइते भएका हुन् । घाइते व्‍यक्तिलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएको बताइएाके छ ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१, ढाडेमा सिंहदेवी आधारभूत विद्यालयमा पहिरो गएको छ । घटनामा विद्यालयको पर्खाल पूर्ण रुपमा भत्किँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । भोजपुरको षडानन्द नगरपालिका–६, साल्माटोलमा दुई वटा घर पहिरोले बगाएको छ । घटनामा ४० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

अविरल वर्षाका कारण घर भत्किँदा ५ वटा जिल्लामा पशुचौपाया, धनमाल तथा भौतिक संरचनामा क्षति पुगेको छ । प्राधिकरणका अनुसार स्याङ्जाको आधीखोला गाउँपालिका–२, मढुवा मुसुरीमा एउटा गोठ भत्किँदा केही पशु चौपाया पुरिएका छन् । दाङको तुलसीपुर–१३, अम्बापुरमा एउटा घर भत्किएको छ, घटनामा कम्तिमा ६ लाख रुपैयाँ क्षति भएको भनिएको छ ।

कञ्चनपुरको भीमदत्त–६, भगवती टोलमा गोठ र भान्साघर भत्किएको छ भने नवलपरासी पश्चिमको सराबल–१७, देवगाउँमा एउटा घर भत्किएको छ । रौहहटको जयनगरमा ५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

कैलालीको चुरे गाउँपालिका–५, खानी डाँडामा भिमदत्त राजमार्गमा पहिरो जाँदा पूर्णरुपमा सडक अबरुद्ध छ । त्यहाँ अस्थायी प्रहरी पोष्ट, खानीडाँडाबाट प्रहरी सहयाक निरीक्षकको नेतृत्वमा टोली गएर राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

प्रभावकारी प्रतिकार्यमा तैनाथ हुन गृहमन्त्रीको निर्देशन

देशका विभिन्न जिल्ला जनमग्न हुन थालेपछि गृहमन्त्रालयमा शुक्रबार आकस्मिक विपद व्यवस्थापन सम्बन्धी बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विपद् जोखिम न्यूनिकरण तथा व्इवस्थापन प्राधिकरण, सडक विभाग लगायतका प्रतिनिधि सहभागी थिए ।

बैठकमा मनसुनजन्य विपद्को प्रभावकारी प्रतिकार्य, पीडित परिवारलाई राहत, घाइतेहरुको उपचार र क्षति भएका भौतिक संरचना÷पूर्वाधारहरुको पुननिर्माण पुनस्र्थापना लगायतका विषयमा छलफल भएको गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए ।

उनका अनुसार बैठकमा मन्त्रालय, सुरक्षा निकाय र अन्य निकायका प्रतिनिधिले हालै भएका बाढी, पहिरो र डुबानबाट भएका क्षति, खोज तथा उद्दारबारे जानकराी गराएका थिए । बैठकमा भएको व्रिफिङमा बिहीबार रातिदेखि शुक्रबारसम्ममा ४ सय जनालाई सुरक्षित स्थानमा सारिएको भनिएको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डेले मनसुनजन्य विपद्का कारण जोखिममा रहेका मानिसहरुको प्राथमिकताका साथ उद्दार गरी सुरक्षित स्थानमा राख्न निर्देशन दिए । साथै, अबरुद्ध सडक, खानेपानी लगायतका सेवा तत्काल सूचारु गर्न पनि सबै निकाय समन्वयात्मक रुपमा अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री खाणले मनसुनको समय अझै बाँकी रहेको बताउँदै सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखेर प्रभावकारी पूर्वतयारी र प्रतिकार्यका लागि तैनाथ रहन सबै निकायलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?