+
+

दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको उद्धार गरिदियौं : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १९:४१

११ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको बताएका छन् । प्रतिगामीको मतियार बनेर दलदलमा फसेपछि महन्थ ठाकुर पक्षलाई आफूहरुले उद्धार गर्न लगाएको उनको भनाइ छ ।

जसपाद्वारा शुक्रबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘दलदलमा आफैं फसेपछि उद्धार गर्नेबारे सोच्यौं, उनीहरु शेरबहादुरजी समक्ष गए । अनुनय विनय गर्न थाले । शेरबहादुरले सोध्नुभयो के गरौं ? मैले उद्धार गरिदिनुस् भनेपछि २० प्रतिशतको आधारमा दल फुटाउने अध्यादेश ल्याइएपछि उनीहरुको उद्धार भयो ।’

उद्धार भएपछि २/४ जनाको समूह बनाएर महन्थ ठाकुर पक्ष अलग भएको यादवले बताए । ‘अलग भए पनि छाता छुटिहाल्यो, कार्यकर्ता अनि छाता जुत्ता सब यतै छुटिहाल्यो,’ यादवले भने ।

जसपाको आधिकारिकता निर्वाचन आयोगले यादवलाई दिएपछि दलविहीन बनेका ठाकुरले हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका छन् । सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा संघीय सांसदको आधारमा दल फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुरले नयाँ दल दर्ता गराएका हुन् ।

यादवले अहिले पनि जसपा एकै रहेको र विभाजन नभएको दाबी गरे । पूर्व राजपाका ६ घटकमध्ये २÷३ जना गएर एउटा समूह बनाएको भन्दै उनले ८० प्रतिशतभन्दा बढी पूर्व राजपाका नेता कार्यकर्ता आफूहरुसँगै रहेको बताए । पार्टीका केही व्यक्ति बाटोमा हिंडदै गर्दा चिप्लिएको टिप्पणी गर्दै उनले अगाडि भने, ‘संगठन शुद्धीकरण पनि भयो, सुदृढ पनि भयो ।’

मधेशको मुद्दा हराएको छैन

जसपा अध्यक्ष यादवले मधेशको मुद्दा नहराएको बताए । उनले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताए । ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलिहाल्यो मधेशको मुद्दा छोडिदियो भन्ने भ्रम फैलाइएको छ’ उनले भने, ‘मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो । मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ ।’

उनले चार महिना अरु काम छाडेर संगठन सुदृढीकरणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रदेश सरकारका मन्त्रीका कामबारे धेरै गुनासो सुन्नुपर्छ

प्रदेश २ का मन्त्रीको कामकारबाहीबारे धेरै गुनासो सुन्नुपरिरहेको उनले बताए । ‘जहाँ जान्छु प्रदेश सरकारका मन्त्रीहरुको गुनासो सुन्नुपरिरहेको छ,’ अध्यक्ष यादवले भने, ‘गुनासो सुन्दासुन्दै कान बन्द गर्नुपर्छ ।’

जनताको धेरै गुनासो रहेको भन्दै उनले जनताको गुनासोलाई ध्यान दिएर सरकार सञ्चालन गर्नुपर्नेमा जोड दिए । हिजो केन्द्रको सहयोग नभए पनि अब केन्द्रले सहयोग गर्ने, हिजो कर्मचारीले काम नगरे पनि अब काम गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?