 
																			१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा युवाहरुलाई नेतृत्व दिने मन भएको बताएका छन् ।
आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’
युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डले बताए । ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ छिट्टै’ उनले भने, ‘छिट्टै भनेको भोलि नै होइन ।’
जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।
माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले बताए । उनले राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए । ‘हामी पनि उस्तै भयौं भने अलग्गै किन हुनुपर्यो, त्यहीँ गएर बसे भइगो नि ।’
ओलीले जाली तमसुक गरे
अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आलोपालो गर्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले जाली तमसुक गरेको टिप्पणी गरे ।
माओवादी केन्द्र र एमालेबीच एकता हुँदा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद आधा आधा समय हुने भनेर हस्ताक्षर गरेको तर पछि नमानेको उनको भनाइ थियो ।
‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ’ प्रचण्डले भने, ‘हामीले चाहिँ उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’
अध्यक्ष प्रचण्डले ओलीसँग पार्टी एकता गरेर के पायौं ? भनेर आफूमाथि अहिलेको सत्तारुढ गठबन्धनका नेताहरुले प्रश्न गरेको पनि बताए । आफूले ठूलो पाठ सिकेको जवाफ दिएको भन्दै उनले यो पाठ अरु नेताहरुलाई पनि काम लाग्ने बताए ।
उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि वाईसीएललाई आग्रह गरे ।
प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4