+
+

फेरिएकी हुन् ज्योती मगर ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १५:३९

ज्योती मगर । नेपाली लोकदोहोरी गीतमा उत्तेजक प्रस्तुतिका कारण विवाद र चर्चामा रहने एक गायिका । ज्योती मगर भन्ने वित्तिकै छोटा पहिरन लगाएर दुई अर्थ दिने शब्द प्रयोग गरिएका गीत सार्वजनिक गर्ने गायिका भनेर धेरैले वुझ्थे र आज पनि वुझ्छन् । स्टेज कार्यक्रममा त झन्, ज्योतीको गायकीको भन्दा उनको हाउभाउ र पहिरनको चर्चा बढी हुने गर्दथ्यो । ज्योती पनि के कम, उत्ताउला पहिरन लगाएर दर्शकलाई मनोरञ्जन दिन खुबै माहिर ।

ज्योती मगरका गीतलाई लिएर दर्शकले समेत तिखो आलोचना गर्दथ्य । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा उनको गीतको बिषयमा थुप्रै पटक उजुरी समेत परेको थियो । तर, ज्योती मगर आफ्नो शैली र अडान छाड्ने मुडमा थिइनन् ।
पछिल्लो केही समयदेखि नेपाली लोकदोहोरी गीतले शैली फेरेको छ । प्रकाश सपुतदेखि विष्णु माझीका गाउँघरका भाका टपक्क टिपेर बनाइएका गीतले श्रोता तथा दर्शकको मन जितेका छन् ।

समय अनुसार बदलिनुपर्छ भन्ने सोच सायद, ज्योतीमा पनि आएको हुनुपर्छ । उनले हालसालै सार्वजनिक गरेको ‘माईतीको मया बरीलै’ले यो कुराको आभाष दिएको छ । शनिबारमात्रै सार्वजनिक गीतमा ज्योती मगरको शब्द, संगीत, स्वर एवं अभिनय छ ।

यो गीत सुन्दा र भिडियो हेर्दा धेरैलाई लाग्न सक्छ, ज्योती मगरको शैली ३६० डिग्रीमा फनक्कै घुमेको छ । भिडियोमा पनि धेरैले ज्योती फेरिएको प्रतिक्रिया दिएका छन् ।

गायिका ज्योती मगरले आफू नफेरिएको बताउँदै जे सिर्जना भयो सोही बजारमा ल्याएको प्रतिक्रिया दिइन् । उनले अनलाइनखबरसँग भनिन्–‘म फेरिएकी होइनँ । जतिबेला जे सिर्जना हुन्छ त्यही ल्याउने हो । कहिले डान्सिङ्ग खालका गीतहरु आउलान्, कहिले सेन्टिमेन्टल ।’

यसवर्ष पनि उनका ‘पोई छैन जोई छैन’, ‘मितिनी’, ‘पर्दैन हेर्नलाई ऐना’, ‘घाघरु घोडा घोडा’, ‘बनारसी साडी’ लगायतका तीज गीत सार्वजनिक भैसकेका छन् । त्यसमध्ये आफ्नै लगानीमा उनले फरक खालको ‘माइतीको मया बरिलै’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । गीतमा तीजमा माईत जान नपाउँदाको चेलीको बेदनालाई मार्मीक रुपमा प्रस्तुत गरिएको छ ।

गायिका ज्योतीले गाउँमा आमा, हजुरआमाहरुको मुखबाट सुन्ने गरेका कुराहरुलाई गीतमा उतारेको बताइन् । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशनमा बनेको गीतको भिडियो पनि राम्रो बनेको छ । भिडियोमा ज्योतीका साथमा रितिका कुवँर लगायतका कलाकारको अभिनय छ ।

यो गीतको भिडियोले अपेक्षित भ्यूज नपाएपनि लोकदोहोरी क्षेत्रमा सर्जकहरु पनि यसलाई मौलिक गीत भन्छन् । गायक बद्री पंगेनीले ज्योतीको यो गीत आफूलाई यसवर्ष सबैभन्दा मन परेको गीत भएको बताएका छन् । उनले भिडियो फेसबुकमा शेयर गर्दै लेखेका छन्– ‘मान्छेको आ–आफ्नो बिचार, धारणा र बुझाई हुन्छ । मेरो नजरमा यो बर्ष मलाई सबैभन्दा मनपरेको तीज गीत माईतीको माया बरिलै हो । शब्द, संगीत, स्वर, अभिनय अनि भिडियो उत्कृष्ट लाग्यो । हामी संगीतमा यथार्थ खोज्छौं, त्यो यथार्थ यो गीतमा छ । बधाई छ बैनी ज्योती मगर, रितिका कुँवर अनि स्मृती तिमीलाई । बैनी ज्योती तपाइबाट नेपाली गीत संगीतले यस्तै सृजनाको अपेक्षा गरेको छ ।’

गायिका ज्योती धेरैबाट राम्रो प्रतिक्रिया पाउँदा खुसी लागेको बताउँछिन् । उनले यसअघि अरुका सेन्टिमेन्टल गीतहरु सुन्ने गरेकोमा अहिले यस गीत सुन्दा आफैलाई आनन्द लाग्न थालेको बताइन् ।

उसो त यस प्रकारको गीत ल्याउने तयारी गरिरहँदा ज्योतीलाई धेरैले यस्तो गीतको भ्यूज खासै नजाने बताएका थिए । तर, ज्योतीले भने यो गीत आफूले भ्यूजका लागि नगरेको बताइन् । अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई पदम सुवेदीेले सम्पादन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?