+
+

महामारीपछि हवाई उद्योगले गुमायो ३७ अर्ब आम्दानी

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ १४ गते ११:०८

१४ भदौ, काठमाडौं । कोरोना भाइरसका महामारीयता नेपालको हवाई उद्योगले ३७ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ ।

नेपालमा २०७६ चैतदेखि लकडाउन शुरु भएको थियो । सो समयपछिको सवा एक वर्षको अवधि (२०७८ असारसम्म)मा हवाई उद्योगले सो बराबरीको प्रक्षेपित आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार यो क्षति कोभिड आयपूर्वको प्रक्षेपित आयको तुलनामा हिसाव गरिएको हो । यस अवधिमा वायुसेवा कम्पनीसँगै प्राधिकरणको आम्दानीमा समेत प्रभाव परेको देखिएको छ ।

प्राधिकरणका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत २०७६ पछि असार २०७८ सम्म १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएको छ । वायुसेवा कम्पनीको आम्दानी भने २५ अर्ब रुपैयाँ बराबर गुमेको छ । यसमा नेपाल वायुसेवा निगमको ७ अर्ब र हिमालय एयरलाइन्सको ३ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमेको अनुमान प्राधिकरणले गरेको छ । आन्तरिक वायुसेवा कम्पनीले भने १५ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् ।

नेपालमा कोभिड १९ को संक्रमण नफैलियोस् भनि सरकारले ११ चैत २०७६ देखि लकडाउन शुरु गरेको थियो । यो लकडाउनका कारण १६ भदौ २०७७ सम्म पूर्ण रुपमा हवाई उडान समेत बन्द भएको थियो । यो बीचमा उद्धार उडान भने जारी रहेका थिए । कोभिड १९ को दोस्रो लहर शुरु भएपछि २० वैशाख २०७८ बाट पुनः उडान बन्द भयो । २३ वैशाखबाट अन्तर्राष्ट्रिय उडान सूचारु गरियो ।

परिस्थितिमा सुधार आएको भन्दै सरकारले १८ जेठबाट सिमित अन्तर्राष्ट्रिय उडान खोलेको थियो । आन्तरिक उडान भने १७ असारबाट मात्र शुरु भयो । यसबाट आन्तरिक तथा वाह्य उडान गर्ने वायुसेवा कम्पनीले ठूलो आम्दानी गुमाएका हुन् । नेपाल वायुसेवा निगमले अर्थ मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पहिलो लकडाउनमा मात्र १० अर्ब बराबरको क्षति व्यहोर्नु परेको उल्लेख छ । जसमा निगमले त्रिभुवन अन्र्तारष्ट्रिय विमानस्थलमा गर्ने ग्राउण्ड हृयाण्डलिङ सेवा समेत समावेश गरिएको छ ।

आन्तरिक स्रोतबाट अगाडि बढेका आयोजना बढी प्रभावित

कोभिड महामारीका कारण एकातर्फ आम्दानी गुम्नु र अर्कोतर्फ गतिविधि नै ठप्प हुँदा त्यसको असर भने पूर्वाधार निर्माण तथा आयोजनाको प्रगतिमा परेको छ । आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न हुनुपर्ने कुनै पनि आयोजना सो आवमा सम्पन्न हुन सकेनन् । कोभिड १९ बाट प्राधिकरणको आम्दानी तथा राज्यको अर्थतन्त्रमा परेको प्रभावले प्राधिकरणको स्रोतबाट हुने विकास निर्माणको काम प्रभावित बनेको छ । नेपाल सरकारको स्रोतबाट संचालनमा रहेका ठूलो आयोजनालाई भने बजेटको कमी हुन नदिइएको प्राधिकरणले जनाएको छ । तर, आन्तरिक विमानस्थलहरुको विकास र स्तरोन्नतीको योजनामा नकारात्मक असर पुगेको छ ।

हवाई यात्रु संख्यामा उच्च गिरावट

प्राधिकरणका अनुसार सन् २०१९ को तुलनामा २०२० मा हवाई यात्रुको संख्यामा ठूलो गिरावट आएको छ । सन् २०१९ मा अन्तर्राष्ट्रिय उडानतर्फ नेपालमा ४१ लाख ३८ हजार ५ सय ६३ जना यात्रु थिए । सन् २०२० मा यो संख्या घटेर ११ लाख ५ हजार ९ सय २९ मा सिमित भयो । यो अघिल्लो वर्षको तुलनामा ७३.२७ प्रतिशत कम हो ।

आन्तरिकमा सन् २०१९ मा ३१ लाख ८८ हजार ४ सय २९ जना यात्रु थिए । सन् २०२० मा यो संख्या १२ लाख ९२ हजार ५ सय २१ मा सीमित भयो । यो संख्या अघिल्लो वर्षको तुलनामा ५९.४६ प्रतिशत कम हो ।

सरकारले सन् २०२० मा भ्रमण वर्ष घोषणा गरी विदेशी पर्यटक भित्राउने कार्यक्रम बनाए पनि कोरोनाका कारण सो कार्यक्रम सफल हुन सकेन । यसको असर हवाई उद्योगमा नकारात्मक परेको हो । कोभिडको असर केही कम भएको छ । सोही कारण अहिले आन्तरिक तथा वाह्य उडान सूचारु छ ।

यद्यपि सन् २०१९ को तुलनामा सन् २०२१ मा समेत आन्तरिक तथा वाह्य यात्रुको संख्यामा भने कमी आउने प्रक्षेपण प्राधिकरणले गरेको छ । प्राधिकरणका अनुसार सन् २०१९ को तुलनामा अन्तर्राष्ट्रिय उडान ७५ प्रतिशतसम्म कम हुन सक्ने अनुमान छ । आन्तरिक उडानमा समेत ३० प्रतिशतसम्म यात्रु संख्या घट्ने अनुमान छ । यद्यपि सन् २०२० को तुलनामा भने आन्तरिक र वाह्य दुवै उडानमा यात्रु संख्या बढ्ने छ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?