+
+

गण्डकीमा कोरोना संक्रमित घटे, जोखिम कायमै

विकास रोकामगर विकास रोकामगर
२०७८ भदौ १४ गते २०:०८

१४ भदौ, पोखरा । गण्डकीमा पछिल्लो २४ घन्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एक महिनायताकै कम भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार मृत्यु हुनेमा स्याङ्जाका २ जना र कास्कीका एक जना छन् । यो संख्या साउन तेस्रो सातायताकै सबैभन्दा कम हो । यसअघि साउन १९ गते गण्डकीमा २ जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता घटिरहेको मृत्युदर फेरि उकालो लागेको थियो भने संक्रमण दर पनि उच्च बनेको थियो । साउन १९ यता मात्रै गण्डकीमा १९० जना संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या एक हजार २९३ पुगेको छ । पछिल्लो एक हप्तादेखि कोरोना संक्रमितको संख्याभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी देखिएको छ ।

सोमबार प्रदेशभर १७० जनामा कोरोना संक्रमण देखिँदा ३०३ जना संक्रमणमुक्त भएका छन् । आइतबार २३० जना संक्रमित थपिँदा ५०४ जना संक्रमणमुक्त भएका थिए ।

संक्रमित निको हुने संख्या बढेसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । साउन अन्तिम साता ६ हजारसम्म पुगेका सक्रिय संक्रमित अहिले ३ हजार २ सयमा झरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्र संयोजक नवराज शर्माका अनुसार कुल संक्रमितमध्ये २ हजार ९ सय होम आइसोलेसनमा छन् । अझै ३७१ जना अस्पतालमा उपचाररत छन् ।

साउनको अन्तिममा गण्डकीमा कोरोना संक्रमण दर सँगै मृत्युदर पनि उच्च बनेको थियो । उक्त समय एकैदिन १२ जनासम्म संक्रमितले ज्यान गुमाएका थिए । प्रदेशभरका कोरोना उपचार गर्ने अस्पतालका बेडहरु भरिएका थिए ।

संक्रमितको संख्या बढेपछि कास्की, बागलुङ लगायतका जिल्लामा निषेधाज्ञामा कडाइ गरिएको थियो । कोरोनाको दोस्रो लहरमामात्रै गण्डकीमा १ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । सोमबारसम्म कास्कीका मात्रै ५९५ जना संक्रमितले ज्यान गुमाका छन् ।

संक्रमित मात्रै घटेका हुन्, जोखिम होइन : डा. गौचन

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक हप्तामा २ हजार संक्रमित हुँदा ४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

कोरोना उपचारका लागि प्रदेशबाट तोकिएको ५० बेड क्षमताको संक्रामक तथा सरुवा रोग अस्पतालमा अहिले ४० जनामात्रै उपचाररत छन् । तर, कोरोना उपचारमा कार्यरत चिकित्सक भने संक्रमण घटे पनि जोखिम भने उस्तै रहेको बताउँछन् ।

संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. विकास गौचन भन्छन्, ‘अस्पतालमा संक्रमित घटेको पक्का हो । तर, गम्भीर संक्रमित घटेका छैनन् । सक्रिय संक्रमित हुँदासम्म जोखिम कायमै हुन्छ ।’ लक्षण देखा परेर पनि ढिलो गरी परीक्षण गर्दा जोखिम झन् बढेको उनको भनाइ छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पनि प्रदेशभर अझै १७३ जना अझै हाइफ्लोयुक्त अक्सिजन शय्यामा उपचाररत छन् । ११ जना भेन्टिलेटरमा छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?