Comments Add Comment

संयुक्त विद्यार्थीद्वारा मप विश्वविद्यालयमा थप आन्दोलन घोषणा

१७ साउन, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) मा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

विभिन्न १८ बुँदे माग राख्दै दुई सातादेखि आन्दोलनमा रहेका विद्यार्थीहरुले आफूहरुका माग सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

आइतबार आज विश्वविद्यालयका सम्पूर्ण सवारी साधान अनिश्चितकालीन रुपमा बन्द गर्ने, १८ गते सम्पूर्ण आंगिक क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गर्ने, १९ गते उपकुलपति, रजिष्ट्रार र परीक्षा प्रमुखको ‘कुकुर अभिनन्दन’ गर्ने र २० गतेदेखि रिले अनशन गर्ने कार्यक्रम रहेका छन् ।

आन्दोलनबाट उत्पन्न हुने भैपरी आउने दुर्घटनाको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयले लिनुपर्ने विद्यार्थीहरुको भनाइ छ । विद्यार्थीहरु सँगै प्राध्यापकहरू केही दिन अघिदेखि उपकुलपतिविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

अनलाइन माध्यमबाट परीक्षा लिन पाउनुपर्ने, कोरोना अवधिको शैक्षिक शुल्क खारेज गर्नुपर्नेलगायतका १८ बुँदे माग गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र अखिल छेठौं सम्बद्ध विद्यार्थीहरु आन्दोलमा छन् ।

विश्वविद्यालयले भने विद्यार्थीहरुसँग वार्ताका लागि भन्दै मानविकी संकायका डीन सहप्राध्यापक डा. लिलाधर तिवारीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समस्या समाधान समिति गठन गरेको छ ।

‘हामी उहाँहरुसँग निरन्तर वार्तामा बसिरहेका छौं, विश्वविद्यालयले तोकिएका परीक्षाकहरु समेत स्थगित गरेर वार्ताको प्रयास जारी राखेको छ, अवको एक/दुई दिनभित्रै सहमति जुट्छ,’ तिवारीले भने ।

उनका अनुसार वार्ताको क्रममा दुईटा विद्यार्थी संगठनहरूसँग सहमति भएको छ । विप्लव निकट नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियु (ओली पक्ष) सँग सहमति भएको हो ।

विद्यार्थी संगठनहरूले उठाएको ‘वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने’ र प्राध्यापक संगठनले उठाएको ‘बर्खास्त गरिएका उपप्राध्यापकलाई बहाली गर्नुपर्ने’ दुईटा माग विश्वविद्यालयको कार्यकारी परिषदले सम्बोधन गर्न नसक्ने उच्चस्तरीय वार्ता समितीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment