Comments Add Comment

डेल्टा भेरियन्टको संक्रमण बढेसँगै अष्ट्रेलियाको ब्रिसबेनमा लकडाउन

१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ ।

अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप लगाएका छन् । क्विन्सल्याण्डका अधिकारीहरुले बिहीबार कोरोनाका ६ नयाँ संक्रमित फेला परेको बताएका छन् । उनीहरु सबै विद्यालय पढ्ने विद्यार्थीहरु थिए ।

पोजेटिभ देखिएका मानिसको सम्पर्कमा आएकाहरुको अहिले कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेको अधिकारीहरुले बताएका छन् । आगामी दिनमा ब्रिसबेनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिन सक्ने क्विन्सल्याण्डाकी प्रमुख स्वास्थ्य अधिकारी जेनेट योङले बताएकी छिन् ।

‘कसैलाई कोरोनासँग सम्बन्धित लक्षण देखिएको छ भने तत्कालै परीक्षण गराउनुहोस्’, उनले भनेकी छिन् । क्विन्सल्याण्डमा कोरोना महामारी सुरु भएपछि पहिलोपटक सबैभन्दा कडा लकडाउन गरिएको हो । मानिसहरु अत्यावश्यक सामग्री किन्न र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्किन पाउँछन् ।

सिड्नीमा लकडाउन पालना गराउन सेना परिचालन गरेको भोलिपल्टै ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । सिड्नीमा लगाइएको लकडाउन अगष्ट २८ सम्म जारी रहनेछ । न्यु साउथ वेल्समा शनिबार २१० नयाँ संक्रमित फेला परेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment