Comments Add Comment

यसरी अघि बढिरहेछ टोल-टोलमा पुस्तकालयका लागि अभियान

ऐतिहासिक पृष्ठभूमि

विश्वमा पुस्तकालयको इतिहास हेर्दा अशुरबनिपालको पुस्तकालयलाई विश्वको सबैभन्दा पुरानो मानिन्छ । यसको स्थापना इसापूर्व सातौं शताब्दीमा शासक अशुरबनिपालको ‘शाही चिन्तन’ का लागि स्थापना गरेको पाइन्छ । यो आधुनिक इरानको निनवेमा अवस्थित छ ।

प्राचीन समयदेखि नेपाल शिक्षाको महत्वपूर्ण केन्द्र रहेको र हिन्दू मन्दिर, बौद्ध गुम्बा र विहार जस्ता पवित्र ठाउँहरूमा शिक्षा दिने स्थानका रूपमा प्रयोग गरिन्थ्यो । नेपालमा पुस्तकालयको विकासक्रम लिच्छविकालदेखि भएको अनौपचारिक इतिहास भए पनि यस क्षेत्रले औपचारिक गतिशीलता पाएको वि.सं. १८६९ भदौ १५ मा ‘पुस्तक चिताइ तहविल’ स्थापना गर्न गीर्वाणयुद्घ विक्रम शाहले जारी गरेको लालमोहरका आधारमा नेपालमा पुस्तकालय सञ्चालन तथा व्यवस्थापन भएको पनि करीब २०९ वर्ष पुग्यो ।

२००७ सालमा प्रजातन्त्रको उदयपछि बनेको नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन ‘नेपालमा शिक्षा २०११’ ले विद्यालय पुस्तकालयलाई सामुदायिक पुस्तकालयको रूपमा उपयोग गर्न सकिने कुरा उठाएको थियो । २०१८ सालको ‘सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट, २०१८’ को प्रस्तावित शिक्षा ऐनको मस्यौदा खण्डमा अझ अगाडि बढेर हरेक विद्यालयमा पुस्तकालयको व्यवस्था अनिवार्य रूपमा हुनैपर्ने र पुस्तक सङ्ख्याका आधारमा त्यस्ता पुस्तकालयलाई क, ख, र ग वर्गमा विभाजन गर्न सकिने, विद्यालय पुस्तकालय स्थापनाका लागि बेग्लै स्वीकृति लिइरहनु नपर्ने व्यवस्था गरेको थियो । नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्ने उद्देश्यले लागू गरिएको राष्ट्रिय शिक्षा पद्धति २०२८-३२ सम्मको योजनामा विद्यालय पुस्तकालयलाई शिक्षा प्रसारको एक अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको र सोको स्थापना र विकासमा उचित ध्यान दिने कुरा उल्लेख थियो ।

प्रजातन्त्रको पुनर्स्थापनापछि गठन भएको राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९ मा पुस्तकालय सम्बन्धी विविध सुझाव प्रस्तुत गरिएको थियो । त्रिवषर्ीय योजना (२०६७/६८-२०६९/७०) मा गुणस्तरीय पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा विद्यार्थीको पहँुच अभिवृद्धि गर्न शिक्षण संस्था र समुदायमा आधारित पुस्तकालयको विकास र विस्तार गरिने कार्यनीति रहेको र सार्वजनिक पुस्तकालयको सुदृढीकरण गर्ने कार्यक्रम रहेको भए पनि केही सार्वजनिक पुस्तकालयलाई सीमित रकम दिने भन्दा बढी कुनै काम हुन सकेन ।

तेह्रौं योजना (२०७०-२०७३) अवधिमा पनि पुस्तकालयको सञ्चालन, क्षमता अभिवृद्धि तथा व्यवस्थापनका लागि एकीकृत नीतिगत व्यवस्था गरिने कुरा उल्लेख भएतापनि योजना कालमा लक्षित परिणाम प्राप्त हुन सकेन । चौधौं योजना (२०७४-२०७६) मा पुस्तकालय शब्द उल्लेख नभए पनि शिक्षाको रणनीति नं. १ मा ‘जीवनपर्यन्त शिक्षा, अनिवार्य आधारभूत शिक्षा तथा निःशुल्क आधारभूत र माध्यमिक शिक्षा पद्धतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने’ र नं. २ मा ‘सबै तहको शिक्षामा गुणस्तरमा सुधार ल्याउने’ कुरा उल्लेख भएकोले पुस्तकालय क्षेत्रलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिन्छ ।

विकेन्द्रीकरणको अवधारणालाई साकार पार्ने उद्देश्यले नेपाल सरकारले स्थानीय स्वायत्त शासन ऐन, २०५५ मा स्थानीय निकाय (गाउँ विकास समिति, नगरपालिका तथा जिल्ला विकास समिति आदि निकायहरू) मा शिक्षा क्षेत्रको विकास तथा समुदायलाई शिक्षित तथा प्रशिक्षित गर्न पुस्तकालयको स्थापना र सञ्चालन गर्ने उल्लेख भए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकिरहेको, एक विद्यालय एक पुस्तकालय नीतिलाई शिक्षा मन्त्रालयले अंगीकार गरेको भए पनि प्रभावकारी रूपमा समग्र पुस्तकालय क्षेत्रको सञ्चालन, व्यवस्थापन, सुदृढीकरण, अनुगमनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको अवस्था छ ।

मकवानपुरमा पुस्तकालय

मकवानपुरमा स्थापित धेरै पुस्तकालय लामो समयदेखि बन्द अवस्थामा छन् । राणाशासनको अन्त्यसँगै समाज परिवर्तनको चाहना राख्नेको सक्रियतामा पुस्तकालय स्थापना गरिएका थिए । अहिले त्यसले निरन्तरता पाउन सकेको छैन । २००७ सालमा राणाशासनको अन्त्य भएपछि मकवानपुरमा सबैभन्दा पहिला तत्कालीन सदरमुकाम भीमफेदीमा ज्योति पुस्तकालय स्थापना गरिएको थियो ।

भीमफेदीका जागरुक युवा शंखरत्न तुलाधर, विष्णु प्रधान, धनलाल श्रेष्ठ र सुन्दरराज ठिकेको अगुवाइमा २००९ मा ज्योति पुस्तकालयको स्थापना गरेका थिए । पुस्तकालयमा रहेका करीब १० हजार पुस्तकमध्ये धेरै कुहिएको र धमिराले नष्ट भएपछि स्थानीय महेन्द्र माविमा रहेको पुस्तकालयलाई सग्ला करीब दुई हजार पुस्तक केही वर्षअघि दिएको थियो । ज्योति पुस्तकालयको आˆनै भवन छ तर पुस्तकालयलाई सञ्चालन गर्न समस्या परेकाले पढ्न हुने राम्रा पुस्तक विद्यालयलाई दिइएको स्थानीय बताउँछन् ।

यसैगरी, थाहा नगरपालिकास्थित पालुङमा समाजसेवी तथा चिन्तक स्व. रूपचन्द्र विष्टले २०२२ मा नवजीवन ज्योति पुस्तकालय स्थापना गरेका थिए । उक्त पुस्तकालयमा ऐतिहासिक, दर्शनशास्त्र, समाजशास्त्र लगायत ५ हजार भन्दा बढी पुस्तक रहेका थिए । २०३५ सम्ममा उक्त पुस्तकालयको सदस्य बनेर पुस्तक पढ्नेको संख्या झण्डै ५०० भन्दा बढी थियो । करीब २०४० पछि यो पुस्तकालय पनि बन्द भयो र पुस्तकहरू पनि सबै धमिराका आहारा बनिसकेका छन् । २०२५ मा विष्टकै सक्रियतामा थाहा नगरपालिका शिखरकोट बजारमा स्थापना गरेको नवजागृति पुस्तकालय स्थानीय युवाहरूले पुनः सञ्चालनमा ल्याएका छन् । उक्त पुस्तकालय एक दशक बन्द भएर युवाहरूले झण्डै पाँच वर्षदेखि सञ्चालनमा ल्याएका हुन् । दर्शनका पुस्तक पढ्न शिखरकोटको पुस्तकालयमा जानु भन्ने यहाँ प्रचलन थियो । थाहा नगरको ओखर बजारमा २०४८ मा स्थापना गरिएको सूर्योदय पुस्तकालय विगत लामो समयदेखि बन्द छ ।

थाहा नगरपालिका ६ बज्रबाराहीमा रहेको सुनौलो सामुदायिक अध्ययन केन्द्र सहकारीले सञ्चालन गरेकाले जसोतसो चलिरहेको अवस्था छ तर पढ्न आउनेको संख्या भने न्यून छ । साबिकको नामटार गाविसमा २०३४ सालमा रामचन्द्र फुर्सदी लगायत स्थानीय युवाले कालिका पुस्तकालय स्थापना गरेका थिए ।

यसैगरी, हेटौंडा उपमहानगरपालिकाले २६ वर्षअघि हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरामा पुष्पलाल स्मृति पुस्तकालय स्थापना गरेको थियो । उक्त पुस्तकालय २०५९ देखि साहित्य संगम मकवानपुरले सञ्चानल गर्दै आएको छ ।
त्यस्तै, हेटौंडा-४ स्थित रोशनी पुस्तकालय परिष्कृत ढंगबाट समयसापेक्षित बनाउँदै अघि बढिरहेको छ, यद्यपि नियमित सञ्चालनार्थ र पाठकको संख्यामा वृद्धिका निम्ति राम्रै

मिहिनेत गर्नुपर्ने देखिन्छ भने हेटौंडा-६ चौघडामा रहेको जीवनज्योति पुस्तकालयले निरन्तरता पाउन सकेको छैन । हेटौंडा-९ लामसुरे, हटिया, हर्नामाडी, नवलपुर, फापरबारीमा स्थापना गरिएका पुस्तकालयको हालत जीवनज्योतिको जस्तै छ ।

गाउँमा पुस्तक अभियान

२०६९ सालमा ग्रामीण क्षेत्रका विद्यालयलाई लक्षित गरी युवाले शुरू गरेको ‘गाउँका लागि पुस्तक’ अभियान मकवानपुर जिल्लामा पनि शुरू गरिएको थियो । देशभित्रै पनि सहयोगको संस्कृति विकास गर्न, शहरले गाउँलाई सहयोगको संस्कृति समेत विकास गर्न युवाले आधुनिक सूचनाप्रविधिमा आधारित सामाजिक सञ्जाल फेसबुक, टि्वटरबाट अभियानबारे प्रचारप्रसार र सहयोगका लागि अपील समेत गरेका थिए । प्रकाश लामिछाने लगायतका युवाको परिकल्पनामा अभियानको थालनी भएको थियो । यो अभियान मकवानपुर सहित अन्य थुप्रै जिल्लामा शुरू गरिएको थियो ।

मकवानपुर जिल्लामा जीवन शर्माको नेतृत्वमा मलगायत सुरेश श्रेष्ठ, अशोक सारु मगर, रूपक खुलाल, रामशरण पुडासैनी, रामप्रसाद दाहाल, नरेन्द्र भण्डारी सहित अन्य युवाहरू सक्रिय रूपमा लागिपरेका थिए । अभियानको शुरूआत उत्तर-पश्चिम क्षेत्र तत्कालीन भार्ता गाविस-७ स्थित धुवाङ माविलाई एकहजार थान पुस्तक हस्तान्तरण गरेर गरिएको थियो । यो अभियानले निरन्तरता लिन भने सकेन । तर कम्तीमा पठन संस्कृतिको विकासमा पुनः जागरुक बनाउने काम भने यसले गरिनै रहृयो । जन्मदिनको सुअवसर पारेर या वैैवाहिक वर्षगाँठको वाषिर्कोत्सव पारेर पुस्तकालयलाई पुस्तक उपहार दिने प्रचलनलाई बढावा दिइनै रहृयो ।

पुस्तकालय अभियान

गाउँमा पुस्तक अभियान छायाँमा पर्दै गएसँगै प्राथमिकतामा नपरेको पठन संस्कृतिलाई झण्डै ९ वर्षपछि युवाको एक समूहले सुरेश श्रेष्ठको नेतृत्वमा ‘पुस्तकालय अभियान समूह’ मार्फत पठन संस्कृति विकासका लागि पहलकदमी थालेको छ । विगत केही वर्ष यता व्यक्तिगत रूपमै पठन संस्कृतिको प्रवर्द्धनका लागि पुस्तक उपहार दिने गर्दै आएका श्रेष्ठलाई मानिसमा पुस्तक पढ्ने बानी हराउन थालेपछि पुस्तकालयको अस्तित्व पनि संकटमा पर्छ भन्ने आभास भएसँगै स्थानीय सरकारसँग चरणबद्ध छलफल थालेका थिए । उसो त स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले नै काम, कर्तव्य, अधिकार अन्तर्गत स्थानीय सरकारलाई पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि निर्दिष्ट गरेको छ । यसमा स्थानीय सरकारको बेवास्ता प्रति समेत पेशाले पत्रकार र अध्यापक रहेका श्रेष्ठले लिखित रूपमै पनि नैतिक दबाब दिंदै आए तापनि स्थानीय सरकार र अन्य केही व्यक्तित्वहरूबाट झूटो आश्वासन मात्र पाएपछि अब हामी युवाले नै केही गर्नैपर्छ भन्ने अवधारणा सहित यो अभियानको थालनी भएको हो । यसले अभियान अन्तर्गत प्रथम पुस्तकालयका रूपमा हेटौंडा-७ नागस्वतीमा समृद्ध पुस्तकालयको संस्थापना गरिसकेको र अन्य स्थानमा समेत संस्थापनार्थ काम गरिरहेको छ । पुस्तकालय संस्थापनार्थ ५० हजार बराबरका पुस्तक सहित अन्य आवश्यक समन्वयमा यस समूहले सहयोग गर्ने हुँदा समुदाय स्तरमा पुस्तकालय सञ्चालनका निम्ति इच्छुकबाट प्रस्तावना आहृवान गरिएसँगै यसको सर्वत्र चर्चा बढेको छ ।

यस पुस्तकालय अभियान समूहमा म लगायत नरेन्द्र भण्डारी, दिनेश हुमागाईं, किरण अधिकारी, जीवन शर्मा, विनोद दाहाल, रविन श्रेष्ठ, संगीत श्रेष्ठ, कैलाश धितालसहित केही युवा साथीहरूको प्रत्यक्ष संलग्नता एवम् सक्रियता रहेको छ भने वरिष्ठ पत्रकार प्रताप विष्ट, शिक्षासेवी बद्रीबहादुर पाठक, साहित्यकार निमेष निखिल लगायतका व्यक्तित्वको निरन्तर साथ, सहयोग, सल्लाह, सुझाव सहितको अभिभावकत्वले अविचलित अघि बढ्न हौसला दिएको छ । यद्यपि यो एउटा पठन संस्कृति विकासका लागि थालिएको तपाईं हाम्रो सबैको साझा अभियान हो । ‘लुज नेटवर्क’ को रूपमा रहेको यस समूहमा जो कोही पनि संलग्न हुन पाउने प्रावधानलाई अंगीकार गर्दै बढिरहेको हुँदा तपाईंले पनि आफ्नो ठाउँबाट सकेको समन्वय र सहकार्य गर्न सक्नुहुनेछ ।

अहिलेको पुस्तामा विद्यालय, कलेजको कोर्सबाहेक अन्य पुस्तक पढ्ने संस्कृति हराएको अवस्थामा ज्ञानको दायरा फराकिलो बनाउनका साथै पठन संस्कृति विकास सँगै सभ्य व्यक्तित्व र समाज निर्माणमा पुस्तकालय समूहको यो अभियान एउटा कोसेढुङ्गा साबित हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । प्रारम्भिक चरणमा जिल्लाको १० वटै पालिकामा कम्तीमा एउटा पुस्तकालय स्थापना गर्ने र तत्पश्चात पालिकाका वडा-वडा हुँदै टोलटोलमा पुर्‍याउने लक्ष्यका साथ अघि बढेको हाम्रो अभियानले डेढ महीनामा हेटौंडा उपमहानगरपालिकाका वडा नं. ७ र ६ मा गरी दुईवटा र बकैया गाउँपालिकामा एउटा, भीमफेदी गाउँपालिकामा एउटा र मनहरी गाउँपालिकामा एउटा गरी पाँच वटा पुस्तकालय स्थापनामा सहयोग गरिसकेको छ साथै यसलाई थप व्यवस्थित बनाउनका निम्ति भौतिक रूपमा मात्र सञ्चालन नगरेर समयसापेक्ष सूचनाप्रविधिलाई पनि प्रयोग गरी भौतिक र प्राविधिक रूपमा प्रयोग योग्य बनाउँदै लैजान समेत अभियानले हरतरह सहयोग गर्दै जानेछ ।

स्थापनासँगै यसको निरन्तरताका निम्ति स्थानीयको चासो, अपनत्व र स्थानीय सरकारको निरन्तर साथ/सहयोगको प्रतिबद्धता साथै यस अभियानलाई महान् कार्य भनी सहयोगका हात बढाउनेको संख्या दिनहँु बढ्दै जानुले हाम्रो प्रयासलाई हौसला र निरन्तरताको लागि थप ऊर्जा समेत मिलेको छ ।

अन्त्यमाÙ पुस्तकालयको स्थापना, सञ्चालन, पुनः सञ्चालन, विस्तार, व्यवस्थापन र प्रयोगलाई आत्मसात् गर्दै अध्ययन संस्कृतिको विकासमा आ-आफ्नो क्षेत्र र तर्फबाट अघि बढ्न समेत अपील गर्दछु ।

(ऐतिहासिक पृष्ठभूमिका लागि विभिन्न पत्रपत्रिका एवम् अनलाइन पोर्टलका लेख, समाचारको सहयोग लिइएको छ ।)

(लेखक पुस्तकालय अभियान समूह मकवानपुरका सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment