Comments Add Comment

निफको पाँचौं संस्करणका लागि आवेदन खुला, चौथो संस्करणका विजेतालाई पुरस्कार वितरण

नेपाल–अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को पाँचौं संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । आईतबार एक कार्यक्रमकाबीच पाँचौं संस्करणको लागि आवेदन खुल्ला गरिएको औपचारिक घोषणा गरिएको हो । निफको पाँचौं संस्करण २०७८ चैत १० देखि १४ गतेसम्म हुने आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकका अनुसार महोत्सवमा सहभागीताका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पुस १० (२०२१ डिसेम्बर २५)सम्म आवेदन गर्न सक्नेछन् । माग ११ गते छनौट भएका चलचित्रहरको घोषणा गरिनेछ ।

यसैबीच, आईतबार निफको चौथो संस्करणका विजेतालाई अवार्ड वितरण गरिएको छ । कोरोना महामारीका कारण बैशाख २४ देखि २८ गतेसम्म भर्चुअल रुपमा चलेको चौथो संस्करण भएको थियो । भर्चुअल रुपमा भएका कारण पुरस्कार वितरण हुन सकेको थिए । आईतबार राष्ट्रिय सात पुरस्कार र एक नेपालले जितेको अन्तराष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहालले विजयी चलचित्र एवं चलचित्रकर्मीलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरेका थिए ।

‘निफ’ मा नेपाली फिचर फिल्मतर्फ उत्कृष्ट घोषित भएको ‘आमा खान्डो’ ले एक लाख नगद राशीको पुरस्कार जितेको छ । त्यस्तै उत्कृष्ट पेन्डेमिक फिल्म अन्तराष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’को लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी नेपाली सर्ट फिल्म प्रतियोगीता अन्तर्गत राजेशप्रसाद खत्रीको ‘अ स्केयरक्रो’ले वेष्ट सर्ट फिल्म अवार्ड नगद ५० हजार र ट्रफी प्राप्त गरेको छ । चलचित्र ‘लाटकोसेरो’ बाट उत्कृष्ट नायक–नायिकाको अवार्ड नविन शिल्पकार र सरिता गिरीले जितेका थिए । सिरिष गुरुङको छायांकन रहेको यो चलचित्रले उत्कृष्ट छायाँकारको अवार्ड पनि जितेको थियो । फिचर चलचित्रतर्फ उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आइ एम’ बाट सेर्गीयो बासोले जितेका थिए ।

अवार्ड वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि दयाराम दाहालले कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र गम्भीर अवस्थामा रहेको बताउँदै त्यसलाई चलचित्र क्षेत्रलाई पुनः स्थापित गर्न आफू लागिपरेको बताए । उनले निफ नेपालको एकमात्र प्रतिनिधिमूलक अन्तराष्र्टिय अवार्ड भएकाले सम्पूर्ण चलचित्रकर्मीले साथ दिनुपर्ने बताए ।

त्यस्तै, निफका संयोजक केपी पाठकले नेपाली चलचित्रकर्मीहरुले चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनताप्रति दुःखेको पोख्दै नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागीता जनाउन आग्रह गरेका छन् । जुरी सदस्यको तर्फबाट राजभाइ सुवालले यो महोत्सवका अन्य अन्तराष्ट्र्रिय जुरीहरुसँगको सहकार्यको अनुभव शेयर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment