Comments Add Comment

यी हुन् नेपालका प्रमुख पाँच इन्टरनेट सेवा प्रदायक

१८ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु (आईएसपी) कुनै व्यक्ति वा संस्थालाई इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी हुन् । आइएसपीहरुले इन्टरनेट जडानका साथै इन्टरनेट सेवासँग सम्बन्धित अन्य धेरै प्रकारका सेवाहरु जस्तै वेबसाइट होस्टिङ तथा वेबसाइट डेभलपमेन्ट, सफ्टवेयर प्याकेज, इमेल एकाउन्ट, तथा डोमेन नेम रजिस्ट्रेसनको सेवाहरु पनि प्रदान गर्दछन् ।

दूरसञ्चारको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनी छन् । यद्यपि तीमध्ये केही कम्पनीसँग मात्र ठूलो सञ्जाल तथा प्रयोगकर्ता छन् । नेपालमा क्रियाशील धेरै प्रयोगकर्ता भएका इन्टरनेट सेवा प्रदायकको चर्चा यहाँ गरिएको छ :

१. वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड

नेपालका सबैजसो जिल्लामा आफ्नो इन्टरनेट सेवा विस्तार गर्न सफल वर्ल्डलिंक कम्युनिकेसन्स नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक हो । यसको इन्टरनेट ब्याण्डविथ नेपालमा झण्डै ४५ प्रतिशत रहेको छ । स्थापनाको पछिल्लो २५ वर्षमा सानो व्यवसायबाट यो कम्पनी एक बलियो र स्थिर संस्था बन्न सफल भएको छ ।

ठूलो संख्यामा ग्राहकको साथ पाएको यो कम्पनी इन्टरनेट सेवा प्रदायक मात्र नभइ समग्र प्रविधि सेवा प्रदायकको रुपमा देखिएको छ । इन्टरनेटका साथै यो कम्पनीले डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन तथा परामर्श, वेब होस्टिङ, हार्डवेयर व्यापार तथा मर्मत र सफ्टवेयर डेभलपमेन्ट जस्ता सेवा पनि प्रदान गर्दै आएको छ ।

वर्ल्डलिंकले व्यक्तिगत र व्यावसायिक दुबै क्षेत्रलाई विभिन्न इन्टरनेट प्याकेज दिँदै आएको छ । नेपालको तेश्रो ठूलो टेलिकम्युनिकेसन कम्पनी बनिसकेको वर्ल्डलिंकबाट तपाइले इन्टरनेट सेवाका साथै इन्टरनेट टेलिभिजन अर्थात नेट टिभी सेवा पनि पाउन सक्नुहुन्छ । साथै प्रयोगकर्ताले वर्ल्डलिंकको एपबाट आफ्नो इन्टरनेट सेटिङ्स पनि मिलाउन सक्छन् ।

हाल ७३ जिल्लामा सेवा विस्तार गरिसकेको वर्ल्डलिंकले नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारका लागि बेलायतको सीडीसी ग्रुपसँग दुई वर्ष अगाडि झण्डै डेढ अर्ब रुपैयाँको सम्झौता गरेको थियो । त्यस्तै फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंकले नेपालका १० हजारभन्दा धेरै क्षेत्रमा नि:शुल्क ‘वाईफाई इन्टरनेट’ सेवा उपलब्ध गराउँदै आएको छ ।

वर्ल्डलिंकबाट ग्राहकहरुले इन्टरनेट स्पीडको आधारमा विभिन्न ६ वटा प्लान खरीद गर्न सक्दछन् । त्यसमा २०, ३०, ४०, ५०, ६० र ८० एमबीपीएस रहेका छन् । जसको शुल्क वार्षिक १३ हजार २ सय देखि २२ हजार सम्म रहेको छ ।

२. भायनेट कम्युनिकेसन्स प्रा.लि.

सन् १९९९ मा स्थापना भएको भायनेट कम्युनिकेसन्स प्रालि पनि नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायकमध्येको एक हो । प्रयोगकर्ताको संख्या तथा लोकप्रियताको हिसाबले यो नेपालको तेश्रो ठूलो सेवा प्रदायक कम्पनी (आइएसपी) हो । ग्राहकहरुलाई उच्च गतिको एफटीटीएच (फाइबर टु द होम) सेवा प्रदान गर्ने भायनेट पहिलो इन्टरनेट सेवा प्रदायक हो ।

एफटीटीएच सेवा काठमाडौं उपत्यकामा निकै लोकप्रिय देखिएको छ। साथै यो कम्पनी ‘एन्टि लग गेमिङ’ इन्टरनेट प्रदान गर्ने पनि पहिलो कम्पनी हो । यो कम्पनीले मुलुकमा लोडसेडिङको समयमा पनि विना कुनै अवरोध र उच्च गतिको इन्टरनेट सेवा दिने गरेको दाबी गर्दै आएको छ ।

भायनेटले व्यक्तिगत र व्यावसायिक क्षेत्रको लागि विभिन्न प्याकेजहरु प्रदान गर्दै आएको छ । साथै भायनेटको जुन सुकै इन्टरनेट प्याकेज लिए पनि तपाइँले नेटटीभी सेवा पाउन सक्नुहुन्छ ।

भायनेटले भायटिभी र भिडियो अन डिमान्ड सेवा पनि उपलब्ध गराउन थालेको छ । हाल नेपालका १८ जिल्लामा भायनेटको सेवा उपलब्ध छ । भायनेटको पनि २० एमबिपिएस देखि १०० एमबिपिएस स्पीड सम्मको इन्टरनेट प्याकेज वार्षिक ९ हजार ६ सय देखि २१ हजार ६ सय रुपैयाँ सम्ममा उपलब्ध हुन्छ ।

३. सुबिसु केबलनेट प्रा.लि.

नेपालको इन्टरनेट सर्भिस प्रोभाइडर मार्केटको झण्डै ७ प्रतिशत हिस्सा ओगटेको सुबिसुको स्थापना सन् २००१ मा भएको हो । सुबिसु गुणस्तर चिन्ह आइएसओ ९००१:२०१५ तथा २७००१:२०१३ प्राप्त गर्ने नेपालको पहिलो केबल अपरेटर पनि हो ।

पछिल्लो समयमा लोकप्रियता बढाउँदै लगेको सुबिसु नेपालको दोश्रो ठूलो आइएसपी बनिसकेको छ । सुबिसुले पनि मुलुकभर केबल तथा फाइबर इन्टरनेट तथा डिजिटल टीभी सेवा प्रदान गर्दै आएको छ ।

अहिले यो कम्पनीको प्याकेज विभिन्न तीन विधामा छ । जसमा क्लियर टीभीसहितको फाइबर इन्टरनेट, क्लियर टीभी र सुबिसुको आईपीटीभी सोलुसन रहेका छन् । सुबिसुले फाइबर तथा वायरलेस दुबै इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

२० एमबीपीएस देखि ६० एमबीपीएस स्पीडसम्मका सुबिसुको एफटिटिएच इन्टरनेटका विभिन्न प्याकेजको शुल्क वार्षिक १३ हजार २ सय देखि २१ हजार ५ सय रुपैयाँ सम्म रहेको छ ।

४. क्लासिक टेक

‘छोयो कि चल्यो’ भन्ने नाराका साथ ग्राहकलाई तीव्र गतिको विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सन् २००९ मा क्लासिक टेकको स्थापना भएको हो । क्लासिक टेक पनि नेपालमा ठूलो सञ्जालमा इन्टरनेट सेवा गरिरहेको कम्पनीमध्येको एक र आइएसपीको चौथो स्थानमा रहेको छ ।

यो कम्पनीले पनि ३६५ दिन ग्राहक सेवा, वान-स्टप सोलुशन र ग्राहकमैत्री योजनाजस्ता विभिन्न सेवा प्रदान गर्दै आएको छ । यो कम्पनीले घर तथा व्यावसायिक क्षेत्रको लागि विभिन्न किसिमको इन्टरनेट र टीभी प्याकेज दिँदै आएको छ ।

क्लासिक टेकले एफटीटीएचमा आधारित इन्टरनेट सेवा र क्लासिक प्रभु टिभीको सेवा प्रदान गर्दै आएको छ । यो नेपालको पहिलो दोश्रो पुस्ताको टेरेस्टियल डिजिटल भिडियो ब्राडकास्टिङ सर्भिस हो ।

क्लासिक टेकले पनि २० एमबिपिएस देखि १०० एमबिपिएस स्पीडसम्मको विभिन्न इन्टरनेट प्याकेज बिक्रि गर्दछ जसको शुल्क वार्षिक ९५८८ देखि २१५९६ रुपैयाँ सम्म छ ।

५. नेपाल टेलिकम

नेपाल टेलिकम सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी हो । यो कम्पनीले पनि विभिन्न इन्टरनेट सेवा प्याकेज ल्याएको छ । यसको सबैभन्दा आकर्षक प्याकेज एचटीटीएच नै हो । यो घर तथा कार्यालयका लागि उच्च गतिको विश्वसनीय इन्टरनेट सेवा प्रदान गर्ने नयाँ पुस्ताको प्रविधि हो ।
टेलिकमको इन्टरनेट सेवा सन् २०१५ मा स्थापना भएको हो र अहिले यसको सञ्जाल नेपालको ३९ जिल्लामा फैलिएको छ । अहिले यो कम्पनीले १० देखि ६० एमबीपीएसको इन्टरनेट सेवा दिँदै आएको छ । वार्षिक ग्राहक बन्दा ग्राहकले एक सय मिटरको केबल र अन्य सामग्री निःशुल्क पाउँछन् भने त्रैमासिक वा मासिक ग्राहक बन्दा ग्राहकले तोकिएअनुसारको निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ ।

यी बाहेक नेपालका अन्य विभिन्न मध्यमस्तरीय सञ्जाल भएका इन्टरनेट सेवा प्रदायकहरु पनि छन् । त्यसमा,

क. नेट म्याक्स
सन् २०१० मा स्थापना भएको नेटम्याक्स नेपालको अनुमति प्राप्त इन्टरनेट सेवा प्रदायकमध्ये एक हो । तीव्र गतिको र एकैनासको इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनीको दाबी छ ।

यो कम्पनीले गुणस्तरीय हार्डवेयर, स्केलेबल राउटिङ प्लेटफर्म र अप्टिकल फाइबरसहितको ठूलो सञ्जालका साथै एकैनासको इन्टरनेट र गति प्रदानका लागि वायरलेस ब्याकअपको सेवा पनि उपलब्‍ध गराउँदै आएको छ ।

अहिले यो कम्पनीले सीमित क्षेत्रमा मात्र सेवा प्रदान गर्दै आएको छ । कम्पनीले ४० भन्दा धेरै वायरलेस टावरहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ख. डिसहोम फाइबर नेट

डिसहोम नेपालको प्रमुख डिजिटल टीभी सेवा प्रदायकमध्येको एक हो । डिसहोमले गत फेब्रुअरीदेखि डिसहोम फाइबर नेट सेवा ल्याएको छ ।

कम्पनीका विभिन्न ६ फाइबर इन्टरनेट प्याकेज २५ एमबीपीएसदेखि १०० एमबीपीएससम्मको छ । यो कम्पनको सेवा काठमाडौं उपत्यकाको करिब ९० प्रतिशत स्थानमा उपलब्ध छ ।

प्रयोगकर्ताले एक महिना, तीन महिना, ६ महिना वा एक वर्षको प्याकेज लिन सक्छन् । तर, वार्षिक प्याकेज लिँदा ग्राहकलाई धेरै फाइदा हुन्छ ।

ग. सीजी नेट

हालै सार्वजनिक भएको सीजी नेट कम्पनी आकर्षक योजनाको कारण लोकप्रिय बनेको छ । यसले १२० एमबीपीएसको इन्टरनेट सेवा केवल ९९९ रुपैयाँ (करबाहेक)मा दिइरहेको छ ।

नेपाली प्रयोगकर्ताहरुले यसअघि योभन्दा निकै कम गतिको इन्टरनेटका लागि महँगो शुल्क तिरिरहेको अवस्थामा सीजीको यो अफरले चर्चा पाएको हो ।

यद्यपि, अहिले यो कम्पनीको सेवा ललितपुरमा मात्र सीमित छ र अन्य क्षेत्रको लागि भने यो कम्पनीले आफ्नो सेवा विस्तार गर्दासम्म पर्खिनुपर्ने हुन्छ ।

त्यस्तै वेब सर्फर तथा ब्रोडलिंकजस्ता इन्टरनेट प्रदायक कम्पनीहरुका पनि ग्राहक संख्या उल्लेख्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment