Comments Add Comment

न्यूनतम साझा कार्यक्रमपछि मात्र मन्त्रिपरिषद विस्तार गरिने

१८ साउन काठमाडौं । सत्तारुढ दलहरुबीच सरकारका न्यूनतम साझा कार्यक्रम ल्याएपछि मा मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच सोमबार बालुवाटारमा भएको छलफलमा मंगलबारसम्म न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति भएको हो ।

प्रधानमन्त्री नियुक्त भएको तीन साता पुग्दा पनि सरकारले पूर्णता नपाएको भन्दै आलोचना भइरहेको छ । तर सोमबार शीर्ष नेताहरुबीच गठबन्धन सरकारका न्यूनतम कार्यक्रमपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

‘सरकार विस्तार, मन्त्रालय भागवण्डा र सरकारका न्यूनतम कार्यक्रमका बारेमा छलफल भएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘पहिला न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने समझदारी भएको छ ।’

सोमबार छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष यादव सहभागी थिए । शीर्ष नेताहरुबीच सरकारलाई प्रभावकारी बनाउनेबारे केन्द्रित भएको कांग्रेस महामन्त्री खड्काले बताए ।

कार्यदलले साझा कार्यक्रम टुंग्याउँदै

सत्तारुढ दल निकट कार्यदलले मंगलबारसम्म सरकारका न्यूनतम साझा कार्यक्रम शीर्ष नेतालाई बुझाउने तयारी गरेको छ । कांग्रेस महामन्त्री खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले मस्यौदामाथि छलफल गरिरहेको छ । हामी भोलि (मंगलबार) साँझसम्म प्रतिवेदन बुझाउँछौं,’ उनले भने, हामीले धेरै विषय टुंग्याइसकेका छौं ।’

कार्यदलमा कांग्रेसबाट खड्कासहित नेता रमेश लेखक, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षामान पुन, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

साझा कार्यक्रममा संयुक्त सरकारका प्राथमिकता, सरकारका नीति तथा कार्यक्रम, संघीयता कार्यान्वयनलगायतका विषय समेटिएका छन् । कार्यदलका एक सदस्यका अनुसार साझा कार्यक्रममा विधिको सर्वाेच्चता, कानुनी शासन, सहमतिमा संविधान संशोधन, संघीयता कार्यान्वयनलगायतका विषय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment