Comments Add Comment

एकपक्षीय रुपमा अघि बढे ओली, एकता प्रयास भाँड्न खोजेको नेपाल समूहको आशंका

१८ साउन, काठमाडौं । नेकपा एमालेमा एकता प्रयास चलिरहेका बेला महाधिवेशनको कार्यतालिका बनाएका अध्यक्ष केपी शर्मा ओली पक्षले सोमबार ९ वटा विभाग गठन गरेका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले संगठन, स्कुल, प्रचार, विदेश मामिलासहितका ९ विभागका प्रमुखसहित केही सदस्य मनोनयन गरेको छ ।

स्कुल विभाग अध्यक्ष ओलीले आफैंसँग राखेका छन् भने संगठनमा उपमहासचिव विष्णु पौडेल, संसदीय विभागमा सुवासचन्द्र नेम्वाङ, आर्थिकमा विष्णु रिमाल, प्रचारमा प्रदीप ज्ञवाली, विदेशमा डा. राजन भट्टराई, निर्वाचनमा अग्नि खरेल, पर्यटनमा भानुभक्त ढकाल र स्थानीय तहमा देवेन्द्र दाहाललाई प्रमुख तोकेका छन् ।

आइतबार र सोमबार स्थायी कमिटीको बैठक राखेका ओलीले माधव समूह सहमतिमा नआए अघि बढ्ने संकेत गरेका छन् । यसअघि नै मनोनयन गरेर हटाइएका नेताहरुलाई फेरि विभागहरुमा ल्याएका छन् भने महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।

त्यसअघि आइतबार बसेको स्थायी कमिटी बैठकले भदौ २७ र २८ मा विधान महाधिवेशन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अन्तर्गत असोज ३ गते वडा र ९ गते सबै गाउँ तथा नगर कमिटीको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले २३ फागुनमा एमाले ब्यूँताएपछि एकलौटी रुपमा अगाडि बढेका ओलीले २८ फागुनमा दशौं महाधिवेशन ६ मंसिर २०७७ मा गर्ने निर्णय गरेका थिए । त्यसअनुसार तल्लो कमिटीहरुको अधिवेशन तालिका पनि बनाएको थियो ।

तर २७ असारमा दुबै पक्षका दोस्रो तहका नेताहरु रहेको कार्यदलले १० बुँदे सहमति जुटाएपछि एकलौटी रुपमा अघि बढेको ओली रोकिए । उनले दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरेर नवौं महाधिवेशनबाट निर्वाचित कमिटीमा फर्किए ।

तर पार्टी एकता हुन सकेको छैन । दोस्रो तहका नेताहरुले सहमतिको प्रयास जारी राख्न दुबै पक्षबाट एकअर्काविरुद्ध आक्रामक अभिव्यक्ति रोकिएको छैन । स्वयं ओलीले शनिबार माधव नेपाललाई एमालेका ठाउँ नभएको बताएका थिए ।

आइतबार र सोमबार स्थायी कमिटीको बैठक राखेका ओलीले माधव समूह सहमतिमा नआए अघि बढ्ने संकेत गरेका छन् । यसअघि नै मनोनयन गरेर हटाइएका नेताहरुलाई फेरि विभागहरुमा ल्याएका छन् भने महाधिवेशन प्रक्रिया अघि बढाइएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टी अध्यक्ष ओली पक्षले पार्टी एकताका लागि भइरहेको प्रयास भाँड्न खोजेको त होइन भनेर आशंका गरेका छन् ।

सोमबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको छलफलले पार्टी एकतामा जोड दिएको छ । बैठकमा नेताहरुले दुबै पक्ष संवेदनशील भएर अगाडि बढ्नुपर्ने र एकताका लागि अहिलेसम्म भएका प्रयासलाई कमजोर पार्न नहुनेमा जोड दिएका छन् । एक नेता भन्छन्, हाम्रो प्रयत्न एकतामा छ । तर अध्यक्ष ओलीजीले एकता प्रयास भड्काउने र हुन नदिनेतिर लाग्नु भएको देखिन्छ ।’

ओली पक्षले भने पार्टी गतिविधिलाई अगाडि बढाउन पनि विभागहरु बनाउनु परेको बताएको छ । साथै दुबै पक्षबीच सहमति हुनासाथ बैठक बसेर महाधिवेशनबारे निर्णय गर्ने भएकाले एकता प्रयासमा असर नगर्ने बताएका छन् ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने पार्टी एकताका लागि छलफल जारी रहेपनि परिणाम के हुन्छ यकिन भन्न नसकिने बताए । स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘हामीले पार्टीको गतिलाई अगाडि बढाएका छौं । सँगसँगै पार्टीमा एकतावद्ध भएर अगाडि बढ्न चाहने र काममा फर्किने साथीहरुका लागि पर्याप्त स्पेश सुरक्षित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment