Comments Add Comment

‘बीच्च बीच्चमा ४’ विवादमा दुर्गेश भन्छन्–‘मलाई प्रतिष्ठानले बनाएको होइन’

गायक एवं मोडल दुर्गेश थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफूप्रति अन्याय गरेको बताएका छन् । उनले १० दिनअघि मात्रै ‘बिच्च बिच्चमा ४ – ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीतमा समेटिएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ ।

शब्दहरु फेरबदल गर्नुपर्ने आग्रहसहित प्रतिष्ठानले भिडियो आउनुभन्दा एक दिनअघि दुर्गेशको नाममा पत्र पठाएको थियो । आग्रहलाई अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिष्कार गर्ने निर्णय भएको प्रतिष्ठानका पदाधिकारीहरुले जनाएका छन् । यद्यपि, निर्णय सार्वजनिक भने गरिएको छैन ।

दुर्गेश आफूले गाउँघरतिर बोलिने शब्दलाई प्रयोग गरेर गीत बनाएको दाबी गर्छन् । उनले अनलाइनखबरसँग भने, ‘गाउँतिर ख्यास्स भन्नाले बल्ल खाइस् भन्ने अर्थ बुझिन्छ । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन । तर, उहाँहरुले कसरी बुझ्नु भो मलाई थाहा भएन ।’

उनले प्रतिष्ठानले आफूलाई पेल्न खोजेको आरोप लगाए । आफूले गीत आउनु केही महिना अगाडि पोस्टर सार्वजनिक गरेपनि प्रतिष्ठानले यसमा कुनै चासो नदेखाएको आरोप लगाए । ‘त्यो पोस्टर भाइरल भयो । उहाँहरुले केहीपनि एक्सन लिनुभएन । अन्तिममा गीत सार्वजनिक हुनुभन्दा एकदिन अगाडिमात्रै पत्र पठाउनुभएको थियो’ दुर्गेशले भने, ‘त्यो पत्र पनि औपचारिक रुपमा नभई म्यासेन्जरमा आएको थियो ।’

संस्थासँग आबद्ध भएपछि पहिले बोलाएर छलफल गर्नुपर्ने दुर्गेश बताउँछन् । उनी भन्छन् ‘छलफल गरेको भए, दुर्गेश यसरी अगाडि बढौं । यो शब्दलाई हटाउँ भनेको भए सोहीअनुसार गर्थेँ । पहिले पनि विवाद भयो । प्रहरीको कार्यालय गएँ । त्यतिबेला पनि अग्रजहरुको आग्रह अनुसार गीत हटाएको थिए ।’

उनले प्रतिष्ठानले कलाकारहरुप्रति समान व्यवहार नगरेको आरोप लगाए । यसअघि थुप्रै अपाच्य गीतहरुमा प्रतिष्ठानको ध्यान नगएको दुर्गेशको आरोप छ । ‘योभन्दा अगाडि पनि थुप्रै अपाच्य गीत आएका छन् । प्रतिष्ठानकै अग्रजहरुले त्यस्ता गीत ल्याउँदा उहाँहरुलाई केही गरिएन, उहाँहरुले मलाई मात्र देख्नुभएको छ कि के हो ?’ दुर्गेशको प्रश्न छ ।

आफूलाई संस्थागत एवं सामाजिक बहिष्कार गर्ने प्रतिष्ठानले निर्णय गरेकोप्रति दुर्गेश प्रश्न गर्छन्, –‘गीतलाई ब्याण्ड गर्ने अधिकार संस्थामा होला । व्यक्तिलाई नै बहिष्कार गर्ने अधिकार उहाँहरुसँग हुन्छ र ?’ उनी आफूले नाम बनाउन ठूलो संघर्ष गरेको बताउँदै प्रतिष्ठानको निर्णयले आफ्नो अधिकारमाथि हनन् भएको गुनासो गरे । ‘मलाई प्रतिष्ठानले दुर्गेश थापा बनाएको होइन । म आफैँ दुःख, संघर्ष गरेर अगाडि बढेको हुँ । धेरै साँझ चाउचाउ खाएर, गीतमा कोरस नाँचेर, डान्स बारमा राति २ बजेसम्म नाचेर बिस्तारै अगाडि आएको हुँ’ दुर्गेशले गुनासो पोखे, ‘उहाँहरुजस्तो बौद्धिक व्यक्ति संस्थामा हुनुहुन्छ । उहाँहरुले यति ठूलो निर्णय लिनुपर्ने आवश्यकता देख्दिनँ ।’

दुर्गेशले आफ्नो गीतमा प्रयुक्त शब्द गाउँघरमा प्रयोग भइरहने गरेको भन्दै यसलाई अन्यथा नलिन आग्रह गरे । गीतमा चलचित्रमा जस्तो सेन्सरको व्यवस्था भए स्वीकार हुने दुर्गेश बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment