Comments Add Comment

चीनको वुहानमा फेरि फैलियो कोरोना संक्रमण, सबै मानिसको परीक्षण गरिने

१९ साउन, काठमाडौं । चीनको हुवेई प्रान्तको वुहान सहरमा पुनः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेको छ । यससँगै सरकारले वुहानका सबै मानिसको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

वुहानमा एक वर्षभन्दा लामो समयपछि पहिलोपटक स्थानीय संक्रमित फेला परेका हुन् । सबैभन्दा पहिला वुहान सहरमा नै कोरोनाको पहिलो संक्रमित फेला परेका थिए ।

लामो समयपछि चीनमा कोरोना संक्रमण बढेको हो । पछिल्लो १० दिनमा चीनमा ३०० भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । अहिले चीनका करिब १५ प्रान्त कोरोना संक्रमणबाट प्रभावित भएका छन् । यससँगै चीनको सरकारले धेरैभन्दा धेरै मानिसको परीक्षण तथा लकडाउनजस्ता कदम चालेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो समय संक्रमण बढ्नुमा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट मुख्य कारण हो । मंगलबार मात्र चीनमा ९० नयाँ संक्रमित थपिएका छन् । त्यसमध्ये ६१ स्थानीय संक्रमित थिए । अघिल्लो दिन ५५ जना स्थानीय नयाँ संक्रमित थपिएका थिए ।

चीनका सरकारी निकायले नानजिङ सहरमा बस्ने ९२ लाख मानिसको तीन पटक कोरोना परीक्षण गरेपछि लकडाउन गरेको छ । पछिल्लो दुई दिनमा चर्चित पर्यटकीय स्थलमा कोरोना संक्रमण देखिएसँगै यो स्थान चर्चामा आएको हो । नानजिङका पर्यटकले हालै मात्र उक्त क्षेत्रको भ्रमण गरेको बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment