Comments Add Comment

देउवा-निधिबीच वार्ता : नेतृत्वमा दुवैको दाबी

सम्पर्क कार्यालय उद्घाटनमा निधिले गरे देउवालाई निम्तो

१९ साउन काठमाडौं । क्रियाशील सदस्यता विवाद पेचिलो बन्दै जाँदा नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अनिश्चित बनेको छ । तर नेतृत्वका आकांक्षीहरुको दौडधुप कायमै छ ।

संस्थापन समूहबाटै सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठको दाबी छ । र, तीनै नेताले एकअर्काको सहयोग खोजेका छन् ।

मंगलबार भेटेका सभापति देउवा र उपसभापति निधिले एक अर्काको सहयोग खोजेका छन् । ‘उहाँहरुबीच झण्डै वर्ष दिनपछि एक्लाएक्लै छलफल भएको हो । दुबैले सभापतिमा एक अर्कालाई सहयोग गर्न आग्रह गर्नु भएको छ,’ बालुवाटारनिकट स्रोतले भन्यो, ‘देउवाजीले पनि म अन्तिम पटकका लागि हो, निधिजीलाई सहयोग गर्नूस् भन्नुभयो । निधिजीले पनि मैले तयारी अगाडि बढाइसकें, तपाईंको समर्थन चाहिन्छ भन्नुभयो ।’

करिव एक वर्षअघि उपसभापति निधिले भापति देउवालाई भेटेरै पहिलो पटक १४ औं महाधिवेशनमा सभापति उठ्ने बताएका थिए, तर देउवा त्यसमा सहमत भएनन् ।

असार ३ गते देउवाले प्रदेश दुईका आफूनिकट केन्द्रीय सदस्यसँगको छलफलमा पनि सभापतिमा सहयोग गर्न निधिलाई आग्रह गरेका थिए । तर निधिले आफू पनि सभापति लड्ने चभन्दै साथ दिन नसक्ने बताए ।

मंगलबार भएको करिव एक घण्टा लामो कुराकानी पनि देउवाले १५ औं महाधिवेशनमा सहयोग गर्ने भन्दै अन्तिम पटकका लागि समर्थन गर्न आग्रह गरेका थिए । ‘यसपटक मलाई मलाई सहयोग गर्नूस्, म पछि तपाई नै हो भन्नुभयो,’ दुई नेताबीचको भेटबारे संस्थापन समूहका एक नेताले भने ।

उपसभापति निधिले भने आफूले तयारी अगाडि बढाइसकेको भन्दै देउवाको समर्थन खोजेका थिए । ‘म धेरै अगाडि बढिसकेँ, मलाई सहयोग गर्नूस्,’ निधिले भने, ‘१३ औं महाधिवेशनमा सबै कुरा छोडेर सभापतिमा सहयोग गरेँ । १४ औं मा तपाईको सहयोग र समर्थन माग्ने मेरो हक नै हो ।’

निधिले महाधिवेशनका लागि छिट्टै सम्पर्क कार्यालय खोल्ने भन्दै उद्घाटनका लागि सभापति देउवालाई निम्तो समेत गरेका छन् । ‘म महाधिवेशनका लागि सम्पर्क कार्यालय खोल्दैछु, त्यसको उद्घटान तपाईंबाटै होस् भन्ने मेरो चाहना छ, आइदिनुहोला,’ निधिले भने ।

पौडेल समूहप्रति निधि रुष्ट

देउवा र निधिबीच १४औं महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन र समायोजन समितिको निर्णयबारे पनि कुराकानी भएको छ । समायोजन समितिको सर्वसम्मत निर्णय विपरीत हुने गरी क्रियाशील सदस्यतामा विवाद ल्याउन खोजेको उपसभापति निधिको गुनासो छ ।

निधि समयोजन समितिका संयोजक थिए । पौडेल समूहले समायोजनका नाममा मापदण्ड विपरीत क्रियाशील वितरण गरेको भन्दै असन्तुष्टि जनाएको छ । ‘समितिले सर्वसम्मतिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको थियो । त्यहीअनुसार अन्य पार्टीबाट आएकालाई क्रियाशील दिइएको थियो,’ निधिले सभापति देउवासँग भने, तर अहिले महाधिवेशनको मुखमा आएर समायोजनबाट आएका क्रियाशीलमा विवाद गर्नु आपत्तिजक छ ।’

निधिले क्रियाशील सदस्यता छानविन समितिले बागलुङमा अन्य पार्टीबाट प्रवेश गरेको क्रियाशील सदस्यतालाई विवादितमा राखेेकोमा पनि निधिले असन्तुष्टि जनाए । साथै सप्तरीमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, केन्द्रीय गगन थापालगायत सहभागी कार्यक्रममा कांग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई क्रियाशील सदस्यता नदिनु गलत भएको भन्दै निधिले देउवाको ध्यानाकर्षण गराएका छन् । सभापति देउवाले बुधबार बस्ने पार्टीको पदाधिकारी बैठकमा आफ्ना कुरा राख्न निधिलाई आग्रह गरेको बालुवाटार स्रोतले जनायो ।

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय छानविन समितिले साउन १२ गते सभापति देउवालाई सदस्यता प्रतिवेदन बुझाइसकेको छ ।

समितिले समायोजनबाट आएका क्रियाशील सदस्यताका नाममा धेरै उजुरी आएको भन्दै पार्टी पदाधिकारी र पूर्व पदाधिकारीलाई सहमति खोज्न सिफारिस गरेको थियो । पदाधिकारी बैठकले भने त्यो जिम्मा सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
खगेन्द्र भण्डारी

ट्रेन्डिङ

Advertisment