Comments Add Comment

जन्मदिनमा आर्यनः ‘आफ्नो स्टारडम वुझ्न नसकेका एक नायक’

नायिका रेखा थापा र निर्माता छविराज ओझाले टेलिसिरियल र म्यूजिक भिडियोमा देखेपछि आर्यन सिग्देललाई ठूलो पर्दामा डेब्यू गराएका थिए । आर्यनका केही भिडियो र सिरियल चर्चामा थियो । चकलेटी अनुहार, आकर्षक लुक्स, गज्जबको अभिनय । एउटा नायकमा हुनुपर्ने सम्पूर्ण गुण बोकेका थिए आर्यनले । यसैले पनि आर्यन सिग्देलले पहिलो चलचित्रबाटै नै तारिफ कमाए । यसपछि त के चाहियो र ? बजारमा जताततै आर्यनको चर्चा ।

सुदर्शन थापाको ‘मेरो एउटा साथी छ’, छवि ओझाकै ‘हिफाजत’ लगायतका चलचित्रमा काम गर्दा आर्यन स्टार भैसकेका थिए । नेपाली चलचित्रमा ‘हिरोइज्म’ चलिरहेको समयमा ‘मेरो एउटा साथी छ’मा आर्यन मुख्य भूमिकामा देखिदा अहिलेका चल्तीका नायक दयाहाङ राई सहायक भूमिकामा थिए । आर्यनलाई लिएर चलचित्र बनाउँदा मात्र पनि निर्माता नाफामा जाने अवस्था थियो । आजका दिनमा अनमोल केसी, प्रदिप खड्का, पल शाहलाई देख्दा यूवायूवती जुन खालको क्रेज देखाउँछन्, त्यो भन्दा चर्को थियो आर्यनको क्रेज ।

चलचित्र ‘नोभेम्बर रेन’ रिलिजको समयमा आर्यन एकपटक निर्माता सुवास गिरीसँग सिन्धुली पुगेका थिए । हल गतिलो नभएकाले पनि त्यहाँका बासिन्दाले हलमै पुगेर चलचित्र खासै नहेर्ने रहेछन् ।

तर, आर्यन सुवास गिरीको घरमा बसिरहेको थाहा पाएपछि एक बिहानै उनलाई भेट्न स्थानिय बासिन्दाको भीड नै लाग्यो । अधिकांशले ‘हिरो हेर्न आएको’ भन्दै आर्यनलाई हेर्न पुगेका थिए । शहरदेखि गाउँसम्म उस्तै लोकप्रिय थिए आर्यन ।
नायक आर्यन सिग्देल र नायिका रेखा थापा स्टारडमको चुचुरोमा पुग्दा दुबैबिच मनमुटाव भयो । एक अर्काले को भन्दा को कम भन्ने शैली अपनाउँदा उनीहरुले ८ बर्ष त चलचित्रमा काम नै गरेनन् ।

आर्यनको सम्बन्ध उनका प्रिय निर्माता सुवास गिरी, निर्देशक दिनेश राउतसँग पनि विग्रिएको चर्चा चलचित्र बजारमा चलेको थियो ।

किन घट्यो आर्यनको क्रेज ?
आर्यन सिग्देलको एउटा सोच थियो । उनी, चलचित्रको पर्दामा आफ्नो क्रेज र बाहिरको दुनियाँलाई फरक ठान्थे । आर्यन भन्थे–‘पर्दामा म हिरो हो । तर, मेरो आफ्नो जीवन मैले चाहे अनुसार बाँच्न पाउनुपर्छ ।’ उनी, सार्वजनिक कार्यक्रममा पनि म लोकप्रिय नायक हुँ भन्ने विर्सन्थे । सार्वजनिक स्थानमै उनी केही पनि कुराको हेक्का राख्दैनथ्य । आर्यनको लोकप्रियता घट्नुमा यो एउटा ठूलो कारण हो ।

चलचित्र क्षेत्रमा उचाइमा पुग्दा आर्यनलाई लिएर चलचित्र बनाउन चाहनेहरु निक्कै थिए । आर्यनले पनि यही मौका छोपेर अफर आएका अधिकांश चलचित्रमा काम गरिदिए । अवस्था यस्तो आयो कि, आर्यनको चलचित्र हेर्नलाई दर्शकले महिना दिन पनि कुर्नुपरेन । पैसा कमाउनका लागि आर्यनले आफ्नो स्टारडम नै विर्सिए । यसपछि भने आर्यनको करिअर विस्तारै ओरालो लाग्यो ।

स्टारडम फर्काउने प्रयास
समय आउँछ पर्खिदैन भने जस्तै भयो आर्यनका लागि । स्टारडम चम्किएको बेलामा उनले त्यसको भेउ नै पाएनन् । आजको दिनमा आर्यनको स्थान अन्य नायकहरुले लिइसकेका छन् । आर्यनले स्टारडम फर्काउनका लागि केही चलचित्रमा काम पनि गरे । तर, ती चलचित्रले उनलाई पुरानै अवस्थामा फर्काउन सकेन ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा राखेर उनले ‘कायरा’ नामक चलचित्र निर्माण पनि गरे । यो चलचित्रले पनि बक्स अफिसमा खासै कमाल गरेन । ‘क्लासिक’ चलचित्रपछि घटेको आर्यनको क्रेज फर्किन सकेको छैन । उनी, चलचित्रको व्यापार भन्दा पनि दर्शकले आफ्नो काम मन पराएको खण्डमा खुशी हुने तर्क गर्छन् ।

नेपाली चलचित्र क्षेत्रमा कुनै समय ‘आर्यन यूग’ थियो । त्यो ‘यूग’ अहिले सकिएको छ । तर, आर्यन सिग्देलपछि आएका पुस्ताले उनी जस्तै ‘पूर्ण हिरो’को ट्याग भने पाउन सकेका छैनन् ।

आज आफ्नो जन्मदिन मनाइरहेका आर्यनलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment