Comments Add Comment

मुख्यमन्त्री निवासमा ‘बन्धक’ बनाइयो, जबरजस्ती हस्ताक्षर गराइयो : विमला वली

२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।

आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’

यसरी पुर्‍याइयो मुख्यमन्त्री निवास ?

१५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् । उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।

आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै भनेकी छन्, ‘विश्वास गरेर गाडीमा बसें ।’

यो पनि पढ्नुहोस भूमिश्वरको स्पष्टीकरण : विमलालाई उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास पुर्‍याएको हुँ

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’

‘जबरजस्ती हस्ताक्षर गराइयो’

मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’

मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छन् । थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उनले भनेकी छन्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन ।’

त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन्, ‘अब घर जान दिन्छन् र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो ।’

आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन् ।

‘अनि शौचालयको चप्पल लगाएर भागें’

प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएकी थिइन् । मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन्, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिएँ । कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें । त्यही बेला कसैलाई नदेखेपछि आएँ ।’

आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment