Comments Add Comment

नेपालबाटै इन्टर्नसिप गर्न नपाए आन्दोलन गर्ने चीनबाट फर्केका विद्यार्थीको चेतावनी

२१ साउन, काठमाडौं । कोरोना महामारीका बेला चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालबाटै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका छन् । नेपालबाटै इन्टर्नसिप पूरा गर्न पाउने व्यवस्था नगरे आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

चीनमा अध्ययनरत मेडिकल इन्टर्नसिप विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै कोरोना महामारको विषम् परिस्थितिमा नेपालबाटै इन्टर्नसिप पूरा गर्ने व्यवस्था मिलाइदिन सरकारसँग माग गरेका हुन् । आफूहरु अध्ययनरत विश्वविद्यालयले मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप गर्न सुझाव दिएको भन्दै इन्टर्नसिप गर्न नपाए आफूहरुको भविष्य अनिश्चित हुने उनीहरुले विज्ञप्तिमा उल्लेख गरेको छन् ।

इन्टर्नसिपका विषयमा नेपाल सरकार, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायत सरोकारवाला पक्षसँग पटक-पटक जानकारी गराए पनि सुनुवाइ नभएको उनीहरुले गुनासो गरेका छन् ।

चीनको वुहान शहरमा कोरोना संक्रमण फैलिएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका थिए । स्वदेश फर्किए पनि अनलाइनमार्फत सैद्धान्तिक कोर्स पूरा गरेको र आफूहरुसँग अध्ययन गरिरहेका अन्य मुलुकका विद्यार्थीहरुले आ-आफ्नो मुलुकबाटै इन्टर्नसिप गरिरहेको उनीहरुले बताएका छन् ।

नेपाली विद्यार्थीहरुको अनुरोधमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अप्रिल २०२० सम्म अन्तिम परीक्षा दिएकाहरुलाई इन्टर्नसिप दिने व्यवस्था मिलाएको भन्दै उनीहरुले आफूहरुले पनि मौका दिइनुपर्ने माग राखेका छन् । इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्नेमा चीनमा सन् २०१५-०१६ मा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment