Comments Add Comment

बाँसको तामाले धान्‍दैछ किसानको नुनतेल

२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् ।

बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको मध्यसम्म चलिरहन्छ ।
तामा तरकारी र अचारको रुपमा प्रयोग गरिन्छ ।

गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ थोर्गेलीका वासिन्दाले बाँसको तामा बेचेरै नुन,तेल चिनी लगायतका वस्तुहरुको जोहो गर्ने गरेको स्थानीय कृष्ण बहादुर क्षेत्रीले बताए । उनले भने, ‘घरछेउमा रहेका बाँसका तामा बिक्न थालेको छ। हामीलाई यसैबाट आएको पैसाले घर खर्च चलाउन पुगेको छ ।’ यसपटक २० किलो तामा बिक्री गरिसकेको क्षेत्रीको भनाइ छ ।

पैंचो पसलले तामा किनिदिन थालेपछि बजारको समस्या नभएकाे स्थानीय बताउँछन् । थोर्गेलीहरुले साउनको पहिलो हप्तादेखि नै तामाका भारी बोकेर पैंचो पसलमा लैजाने गरेका छन् ।

हरेक बिहीवार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर–१ को स्याल पोखरीमा रहेको पैंचो पसलमा अनेक थरी तरकारी संकलन हुन्छ । तर साउन र भदौका बिहीबार भने थोर्गेली किसानले ल्याएका तामाको रास लाग्ने गर्छ ।

तामाको मूल्य घटबढ हुने गर्छ । यो हप्ता पैंचोले प्रतिकिलो १२ रुपैयाँमा तामा खरिद गरेको पैंचो पसल सन्चालक नवराज ज्ञवालीले बताए । एउटा सिजनमा करीब २० टनभन्दा बढी तामा थोर्गाबाट पैंचोले खरीद गर्ने गरेको ज्ञवाली बताउँछन् ।

गाउँ घरमै आएर पैंचोले तामा संकलन गरिदिने हुनाले पनि किसानलाई सजिलो भएको रुरुक्षेत्र-३ का किसान लेखनाथ गौतमले बताए । उनले भने,’स्थानीयले बारीका छेउ–छाउमा रहेका तामा बोकेर बजार बजार लैजाने गर्दैथे । तर अहिले गाउँ घरमै आएर पैंचोले तामा संकलन गरिदिन्छ। यसले किसानलाई सजिलो भएको छ।’

पैंचोले संकलन गर्ने थोर्गेली तामाको मुख्य बजार बुटवल हो । ‘बिक्ने जति बिक्छ, नविकेको तामा रिडी बजारमा रहेको आफ्नो कारखानामा फर्काएर अचार बनाउँछौं,’ सन्चालक ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment