Comments Add Comment

ज्वाला राई : जीवन-संगीतको धुन खोज्ने एक फिरन्ते

ललितपुरको इमाडोलदेखि लुखुरलुखुर हिँडेर पुतलीसडकसम्म पुग्ने एक ठिटो । मनमा गायक बन्ने ठूलो सपना । पुतलीसडक र अनामनगरमा कोही संगीतकार भेटिए काम पाइहालिन्थ्यो कि भन्ने आश हुन्थ्यो । गीतकार वा संगीतकार भेटिए पनि फगत उनले आश्वासन मात्र पाउँथे । कैयौं दिन यसरी नै बित्दा पनि काम नपाएपछि निराशामा बितेका थिए उनका ती दिन ।

उनी अर्थात् ज्वाला राई । जो यतिबेला नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को टाइटल जित्न अन्तिम संघर्षमा छन् । यो स्थानसम्म आइपुग्न ज्वालाले भोगेका तीता-मीठा भोगाइ र संघर्षका दिनहरु लामा छन् ।

गायनमा भविष्य बनाउँछु भन्दै भोजपुरबाट काठमाडौं आएका थिए ज्वाला । काठमाडौंमा उनले सोचे जस्तो केही पनि भएन । सपनैसपनाको शहर थियो काठमाडौं । ज्वाला पनि त्यही भीडको उल्झनमा हराइरहेका थिए । मनमा सपना त थियो, तर पूरा कसरी गर्ने भन्ने बाटो भेटेका थिएनन् उनले । त्यो समयमा उनले थुप्रै गीत कम्पोज पनि गरे । तर, गाडी चढेर इमाडोलबाट पुतलीसडकसम्म आउने पैसा नभएको समयमा उनले कहाँबाट गीत रेकर्ड गर्न सकुन् । मनभित्रका असीमित चाहना र गायक बन्ने हुटहुटी मनमै सीमित थियो ।

ज्वालासँग कैयौं रात भोकै सुतेको अनुभव छ भने कैयौं दिन पसिना बगाउँदै हिँडेको पल पनि ताजै छन् । गीत सार्वजनिक गर्न त परको कुरा, ज्वालालाई यो माया नगरीमा टिक्न पनि मुस्किल भयो । अनि धेरै नेपालीको जस्तै उनको दिमागमा पनि परदेश जाने सोच आयो । अन्ततः उनले निर्णय गरे, ‘पहिले विदेश गएर केही पैसा कमाउँछु । अनि फर्केपछि गायनमा लाग्छु ।’ तीन वर्षका लागि भनेर उनी मलेसिया उडे ।

विदेशमा पनि रोकिएन गायनको सौख

काम एकातिर, रहर अर्कोतिर । तर रहर त्यसै कहाँ हराउँथ्यो र ! काममा रहँदा उनले गीत गुन्गुनाउन छाडेनन् । विदेशमा नै रहेको समयमा उनले युट्युब च्यानल सञ्चालन गरे । बिदाको दिन मिलाएर आफूले गाएका गीतहरु पोष्ट गर्न थाले । सन् २०१७ को कुरा, उनले नेपालमा ‘नेपाल आइडल’ शुरु हुँदैछ भन्ने जानकारी पाए । उनलाई यो रियालिटी शोमा सहभागी हुने हुटहुटी जाग्यो । ‘नेपाल आइडल’मा सहभागी हुने सोचका साथ उनी दुई वर्षमै मलेसियाबाट फर्किए ।

यो पनि पढ्नुहोस तारा श्रीष मगर : जो परिवारको गर्जो टार्न गायिका बनिन्

तर, उनी नेपाल आइडलमा सहभागी हुन् पाएनन् । ज्वाला सुनाउँछन्, ‘अडिसनभन्दा अगाडि प्रि–अडिसन हुँदोरहेछ । त्यसमै छनोट हुन सकिनँ ।’ यसपछि भने निराशाको बादल उनको मनमा झनै मडारियो । संगीतमा त आफ्नो भाग्य नै छैन कि भन्दै उनले कैयौं पटक आफैसँग प्रश्न गरे । एकातिर गीत गाउने चक्करमा समय बितिरहेको थियो । अर्कोतिर मलेसियामा जेनतेन कमाएको पैसा सकिँदै थियो । एक-डेढ वर्षको समयमा ज्वालाको जीवनशैली सोही मोडमा आइपुगेको थियो, जहाँबाट उनको यात्रा मलेसियातर्फ मोडिएको थियो । फेरि रोजगारीको सिलसिलामा अन्य देश जानेसम्मको सोचमा पुगिसकेका थिए । तर, तारतम्य मिलिरहेको थिएन । त्यही मोडमा ज्वालाको दिमागको नयाँ ‘आइडिया’ फुर्यो ।

मलेसियामै हुँदा खोलेको युट्युब च्यानल ‘मोनिटाइज’ भइसकेको थियो । उनले त्यसैलाई कसरी सदुपयोग गर्नेबारे विभिन्न तानाबाना बुने । युट्युबमै सर्च गरे । ‘त्यसपछि कभर गीतहरु गर्ने सोच बनाए । ज्वालाले एकपछि अर्को कभर गीत सार्वजनिक गर्न थाले । उनको स्वरमा समावेश गीतहरुले करोड भन्दा बढी भ्युज पाउन थाले । बल्ल ज्वालालाई श्रोता तथा दर्शकले चिन्न थाले । पैसा पनि राम्रै कमाइ हुन थालेपछि लामो श्वास फेरेको ज्वाला बताउँछन् । अब, भने काठमाडौंमा नै रहेर आफ्नो सपना पूरा गर्न सक्छु कि भन्ने सोच उनमा पलाएको थियो ।

भ्वाइसमा आएपछि बदलियो भाग्य

कभर गीत चर्चामा रहँदै गर्दा ज्वालाको सोच ज्वालाको आँखा ‘द भ्वाइस अफ नेपाल’को पहिलो सिजनमा परेको थियो । तर, उनको पहिलो प्रयास सार्थक भएन । उनले डिजिटल अडिसन दिएका थिए । तर, उनलाई फोन आएन । अर्थात् उनी पहिलो सिजनमा छनोट हुन सकेनन् । दोस्रो अडिसनको समयमा आफू पूर्वतिर नै रहेकाले थाहा नै नपाएको ज्वाला बताउँछन् ।

ज्वाला कभर गीत गाएरै हिट भइरहेका थिए । सोही समयमा ‘द भ्वाइस अफ नेपाल’को तेश्रो अडिसन खुलेको थियो । साथीहरुले एक पटक प्रयास गर्न सुझाव दिएपछि उनले भिडियो पठाए । ‘ब्लाइन्ड अडिसन’का लागि छनोट भएको खबर पाएपछि ज्वालाले नयाँ यात्रा शुरु भएको सोचे र अगाडि बढे । ज्वालाले ‘कोच तृष्णा’को टिमबाट आफूलाई निखार्दै फाइनलसम्मको यात्रा तय गरेका छन् ।

गीतसंगीतमै रमाउने चाहना

ज्वालाले कहिलेदेखि गीत गाउन थाले ? ठ्याक्कै उनलाई नै थाहा छैन । याद छ त केवल, आफू जान्ने–बुझ्ने भएदेखि संगीतमा रमाएको । ‘घरको माहोल नै संगीतमय थियो । परिवारमा सबैजना संगीत मन पराउने । कोही गाउने, कोही गीत लेख्ने, कोही कविता लेख्ने’ ज्वाला सुनाउँछन्, ‘ममा सानैदेखि गीत गाउने र नाच्नेमा रुचि थियो ।’ उनी संगीतमा केही गर्छु भनेर काठमाडौं आएर नेपाल टेलिभिजनबाट प्रसारणमा भएको गायन रियालिटी शो ‘स्वर संग्राम’मा पनि सहभागी भएका थिए । त्यसयता उनले काठमाडौंमा थुप्रै समय असफलता, अभावसँग पौठेजोरी खेले । यद्यपि संगीतबाट कहिल्यै टाढा रहेनन्, चाहे विदेशमै हुँदा किन नहोस् । त्यसैले त उनी ‘भ्वाइस अफ नेपाल’सम्म आइपुगेका छन् ।

यो पनि पढ्नुहोस किरण गजमेर : देश खोज्दै गुञ्जिरहेको आवाज…

उनले ‘भ्वाइस अफ नेपाल’ आफूले जित्नैपर्छ भन्ने दबाब लिएका छैनन् । यहाँसम्म आउनु पनि आफ्नो सोचभन्दा माथि भएको उनको धारणा छ । अनलाइनखबरसँग मनको कुरा सुनाउँदै गर्दा ज्वालाले भने, ‘भ्वाइसमा आएपछि धेरैको माया पाएँ । देश–विदेशबाट मलाई यति धेरै चाहनुहुँदोरहेछ, मन पराउनुहुँदोरहेछ भन्ने अनुभव सँगाल्न पाएको छु । मलाई जित्नैपर्छ भन्ने छैन, मलाई रुचाउनेहरुको माया नै मेरा लागि टाइटल जितेसरह हो ।’

यद्यपि आफूलाई माया गर्ने स्रोता दर्शकहरुलाई निराश भने पार्न नचाहेको उनी बताउँछन् । उपाधि जित्न नसके आफूलाई माया गर्ने दर्शक तथा श्रोताको मन दुख्ने पो हो कि भन्ने चिन्ताले भने उनलाई सताएको छ ।

उनले ठूलो सपना लिएका छैनन् । कुराकानीको बिट मार्ने क्रममा उनले अनलाइनखबरसँग भने, ‘मेरो गायकीलाई रुचाउनेहरुलाई खुशी पार्न सकुँ । गीतसंगीतको बजारमा टिकिरहन सकुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment