Comments Add Comment

दैनिक ३०-४० जना संक्रमित मर्नु राज्यलाई स्वीकार्य रहेछ !

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या मात्र होइन, अस्पतालहरुमा भर्ना हुने संक्रमित पनि बढेका छन् । यही आधारमा कतिपयले तेस्रो लहर आएको त होइन भन्न थालेका छन् । होइन, हामी दोस्रो लहरमै छौं ।

संक्रमण र त्यसले गरेको क्षति हेर्दा दोस्रो लहर शुरुमा अल्फा भेरियन्टले संक्रमण बढेको देखिन्छ । हामीले समयमै स्थल र हवाईमार्गबाट भइरहेको आवागमनलाई व्यवस्थित गर्न सकेनौं । त्यसैले विदेशबाट आएकाहरुसँगै अल्फा भेरियन्ट नेपाल भित्रियो । केही समयपछि भारतबाट डेल्टा भेरियन्ट पनि आयो । यो अल्फाभन्दा अत्यन्तै संक्रमणशील थियो । डेल्टा भेरियन्ट शुरुमा भारतमा देखिएकाले नेपालमा पनि शुरुवाती चरणमा सीमावर्ती क्षेत्रमा संक्रमण फैलियो ।

वैशाख दोस्रो साता निषेधाज्ञा गर्दा काठमाडौं उपत्यकामा डेल्टा भेरियन्ट फैलिसकेको थियो । निषेधाज्ञा गर्ने भनेपछि उपत्यकाबाट चार/पाँच लाख मानिस गाउँ गए । उनीहरुसँगै डेल्टा भेरियन्ट पनि गाउँगाउँमा पुग्यो र संक्रमण सबैतिर फैलियो । सीमावर्ती शहरहरुमा संक्रमण उत्कर्षमा पुगेर घट्न थाल्दा ठूला शहरहरुमा फैलियो, ठूला शहरमा उत्कर्षमा पुगेर घट्न थाल्दा गाउँतिर फैलियो ।

ठूला शहरमा संक्रमणको संख्या घट्दै जाँदा ग्रामीण भेगमा संक्रमण फैलिएको थियो । तर ग्रामीण क्षेत्रमा शहरी क्षेत्रको तुलनामा कम परीक्षण हुने भएकाले तथ्यांकमा कम देखिएको हो । किनकि संक्रमण घटेको भनेको बेला पनि संक्रमण दर २० प्रतिशत भन्दा कम भएन । अहिले पनि २० भन्दा माथि नै छ ।

कोरोना संक्रमण घट्यो भनेर सरकारले खुशीयाली मनाइरहेको बेला पनि दैनिक ३०-४० जना मरिरहेका थिए । राज्य सञ्चालन गर्नेहरुलाई दिनमा ३०-४० जना मर्नु स्वीकार्य रहेछ ! किनकि अब योभन्दा बढी केही गर्नु पर्दैन भन्ने मानसिकता देखियो ।

पछिल्लो समय निशेधाज्ञा खुकुलो बनाएपछि समाजमा गतिविधि बढ्यो, संक्रमण पनि बढ्यो । किनकि कोरोना भाइरसको संक्रमणशीलता समुदायको गतिविधिमा आधारित हुन्छ । मानिसको गतिविधि कम भयो भने एउटा संक्रमितबाट थोरै मान्छेलाई मात्र सर्छ । गतिविधि बढ्दै गयो भने भाइरसको संक्रमणशीलता बढ्दै जान्छ र एउटा संक्रमितबाट धेरैलाई सार्न सक्छ ।

अर्थात् कोभिड-१९ संक्रमणको भार समुदायमा कम भएर फेरि अर्को ठूलो उभार आयो भने मात्रै नयाँ लहर भनिन्छ । अर्थात् चलिरहेको लहर सकिएको हुनुपर्छ । नेपालमा दोस्रो लहर नसकिएकाले तत्काल अर्को सुनामी लहर आउँदैन ।

तत्काल तेस्रो लहर आउँदैन भन्नुको अर्को कारण पनि छ । भाइसको रुप परिवर्तनशील हुन्छ । अर्थात् पहिलेको भन्दा निकै संक्रमणशील, भ्याक्सिन लगाएका वा पहिले संक्रमित भएका मानिसको शरीरमा भएको एन्टीबडीलाई पनि विफल बनाउने भेरियन्टको भाइरस आयो भने अर्को लहर आउँछ ।

सन् १९१८ को इन्फ्लूएञ्जा महामारीमा पहिलो भन्दा दोस्रो लहर ठूलो आयो । हाम्रो अनुभवमा कोभिड–१९ पनि पहिलो भन्दा भयावह बनाउने दोस्रो लहर आयो । शुरुमा चीनबाट आएको भाइरस भन्दा युरोप अमेरिका घुम्दै जाँदा म्युटेसन भयो । पछिल्लो पटक म्युटेसन भएको डेल्टा भेरियन्ट बढी संक्रमणशील भयो, जसले नेपाल, भारत लगायतका देशमा दोस्रो लहर ल्याएर क्षति गरायो । यसरी हेर्दा नेपालको हकमा डेल्टा भेरियन्टको मुख्य प्रकोप सकिसक्यो ।

डेल्टा भेरियन्टको म्युटेसन नभएको होइन, तर त्यसको संक्रमणशीलता बढी अथवा पहिले संक्रमण भएको मानिसलाई फेरि संक्रमण गराउन सक्ने खालको छैनन् । अहिले विश्व परिदृश्यमा डेल्टाभन्दा बढी संक्रमणशील र पहिले संक्रमण भएका वा खोप लगाएकालाई फेरि संक्रमण गराउने भेरियन्ट आएको छैन । त्यसैले नेपालमा तत्काल तेस्रो सुनामी लहर आउँछ जस्तो  लाग्दैन ।

किन बढ्यो संक्रमण ?

तेस्रो लहर आएको छैन भने किन बढ्यो संक्रमण भन्ने प्रश्न उठ्नु स्वभाविक हो । संक्रमणलाई रोक्न या त भाइरसले समुदायमा झण्डै ९० देखि ९५ प्रतिशत मानिसलाई संक्रमित गराउनुपर्छ या त जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, संक्रमितलाई आइसोलेट गर्ने जस्ता रोकथामका उपायहरु कडाइपूर्वक अपनाउनुपर्छ ।

तर हामीकहाँ समुदायमा अधिकांश मानिस संक्रमित भएर हर्ड इम्युनिटी पनि बनेको छैन, जनस्वास्थ्यका मापदण्डहरु पनि कडाइका साथ पालना हुन सकेको छैन । काठमाडौंमा निषेधाज्ञा भएको बेला गाउँ गएकाहरु अहिले शहर फर्किएका छन् । दोस्रो लहरमा संक्रमित नभएका उनीहरु पनि अहिले जोखिममा छन् । जनस्वास्थ्यका मापदण्डहरु पालना नगर्ने, संक्रमण नियन्त्रणका उपाय नअपनाउने हो भने डेल्टा भेरियन्टले नै थप क्षति गराउन सक्छ ।

जहाँसम्म खोप लगाइसकेका या संक्रमित भइसकेका मानिस पुनः संक्रमित भएर क्षति हुने सम्भावना कतिको हुन्छ भन्ने प्रश्न छ । यसका लागि भाइरसको गुण या स्वरुपमा परिवर्तन हुनुपर्छ । समाजमा धेरै मानिसमा संक्रमण भएको अवस्था नै भाइरसको गुण परिवर्तन हुने आदर्श अवस्था हो । संक्रमण लामो समय फैलिएको र धेरै मानिस संक्रमण भएको अवस्थामा भाइरसको स्वरुपमा परिवर्तन नहोला भन्न सकिन्न । त्यसैले समुदायमा अनियन्त्रित रुपमा भाइरसलाई रहिरहन दिनु नै हामीबाट भएको ठूलो गल्ती हो ।

कोरोना भाइरस आफैंमा इन्फ्लुएञ्जा जस्तो होइन । इन्फ्लुएञ्जामा जे जति म्युटेसन हुन सक्छ, कोरोना भाइरसको संरचना हेर्दा त्यति हुँदैन । तर यसो भन्दाभन्दै हामीले सोचेभन्दा कोभिड-१९ धेरै संक्रमणशील  र घातक भइसकेको छ ।

सरकारी अधिकारीहरुको अभिव्यक्ति सुन्दा यस्तो लाग्छ, अब आउने लहरमा भाइरसले बालबालिकालाई छानीछानी संक्रमित बनाउनेछ र धेरैलाई मार्छ । तर यसबारे अहिलेसम्म कुनै पनि प्रामाणिक अध्ययन छैन । डेढ दुई महिनादेखि पटक-पटक बच्चाहरुलाई खतरा हुन्छ भन्नुअघि वैज्ञानिक अध्ययन हेर्नुपर्दैन ?

३०-४० जना मर्नु स्वकार्य रहेछ !

महामारी नियन्त्रण गर्ने एउटा उपाय खोप हो । कम्तीमा उच्च जोखिम समूहका नागरिकलाई मात्र खोप दिन सकियो भने मृत्युको दर कम हुन्छ । दोस्रो लहरमा धेरैजसो दीर्घरोगीहरु नै सिकिस्त भएका छन् । यस्ता मानिसहरुलाई प्राथमिकतामा राखेर खोप दिन सकियो भने मात्र जोखिम कम गर्न सकिन्छ । तर हामीकहाँ खोप अभियान भद्रगोल भएको छ । खोप वितरण मनपरी छ ।

खोप वितरण धेरै गर्न नसकेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको विकल्प छैन । राज्यले परीक्षण बढाउनुर्छ । तर परीक्षण, कन्ट्याक ट्रेसिङ र आइसोलेसन जस्ता काम गर्न सकिने काम पनि गरेका छैनौं । जुन बेला कोरोना संक्रमण घट्यो भनेर सरकारले खुशीयाली मनाइरहेको थियो, त्यो बेला पनि समग्रमा संक्रमण दर २० प्रतिशत हाराहारी नै थियो । दैनिक ३०-४० जना मरिरहेका थिए । राज्य सञ्चालन गर्नेहरुलाई दिनमा ३०-४० जना मर्नु स्वीकार्य रहेछ ! किनकि अब योभन्दा बढी केही गर्नु पर्दैन भन्ने मानसिकता देखियो ।

अहिले त संक्रमण दर अझ बढेको छ । खोई त परीक्षण बढाएको ? खोई संक्रमितलाई आइसोलेट गरेको ? त्यसैले जबसम्म दैनिक ३०-४० जना मानिस मर्नु हाम्रा लागि स्वीकार्य होइन भन्ने सोच भएका लिडर आउँदैनन्, तबसम्म संक्रमण यस्तै भइरहन्छ ।

 सरकारले नै आतंक फैलाइरहेको छ

अझै अनौठो त के भने तेस्रो लहर आउँदा बच्चाहरुलाई जोखिम हुन्छ, २० प्रतिशत बेड बच्चाहरुको लागि छुट्याउनू भनेर स्वास्थ्य मन्त्रालय स्वयंले आतंकित बनाइरहेको छ । सरकारी अधिकारीहरुको अभिव्यक्ति सुन्दा यस्तो लाग्छ, अब आउने लहरमा भाइरसले बालबालिकालाई छानीछानी संक्रमित बनाउनेछ र धेरैलाई मार्छ । तर यसबारे अहिलेसम्म कुनै पनि प्रामाणिक अध्ययन छैन ।

सरकारको यस्तो कदमले बच्चाका अभिभावकलाई कति तनाव भयो होला ? डेढ दुई महिनादेखि पटक-पटक बच्चाहरुलाई खतरा हुन्छ भन्नुअघि वैज्ञानिक अध्ययन हेर्नुपर्दैन ? हामीसँग सेरो–प्रेभलेन्सको डेटा हुन्थ्यो भने महामारीबारे धेरै कुरा अनुमान गर्न सक्थ्यौं । निषेधाज्ञा खोल्ने या नखोल्ने ? विद्यालय खोल्ने या नखोल्ने जस्ता निर्णय गर्न सक्थ्यौं । तर स्वास्थ्य मन्त्रालयले आफूले गर्नुपर्ने काम नगरेर तनाव फैलाउने काम गर्‍यो, जुन अत्यन्तै गलत हो ।

(संक्रामक रोग विशेषज्ञ डा. सुवेदीसग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment