Comments Add Comment
सम्पदा :

मैतिदेवी फाँटको त्यो एक्लो घर

त्यतिबेला मैतिदेवी मन्दिर वरपर फाँट थियो । बर्खामा फाँटभरि असारे भाका गाउँदै रोपाईं गरिन्थ्यो । अलि पूर्वपट्टि लागे कञ्चन बग्ने रुद्रमती (आजको धोबीखोला) भेटिन्थ्यो ।

मैतिदेवी फाँटको बीचमा थियो पोलेको ईंटाले बनेको कलात्मक दुईतले घर । घरभरि केटाकेटी थिए । घरमुली बाहिर जान लाग्दा केटाकेटीहरू दोस्रो तलाको झ्यालबाट ‘बुबा मिठाइ ल्याइदिनू है’ भन्दै कराउँथे । तिनको आवाज डिल्लीबजार पीपलबोटतिर हिंडिरहेका मानिसहरूले पनि सुन्दथे ।

यो सात दशक अगाडिको कुरा हो । फाँटबीचको त्यो घर कवि लक्ष्मीप्रसाद देवकोटाको निवास थियो ।

तीन-चार ठाउँमा जागिर खाने देवकोटा घर ओहोरदोहोर गइरहन्थे । साँझ अबेला र्फकन्थे । साहित्य, जागिर, ट्युसन, राजनीतिमा सक्रिय देवकोटाकोे कर्मठ जीवनको आभाले मैतिदेवी-डिल्लीबजार क्षेत्र चम्किएको थियो । उनलाई घरमा भेट्न दिनहुँ दर्जनौं मानिस आइरहन्थे ।

देवकोटाको निधनपछि र छोराछोरी लाखापाखा लागेसँगै यो घर (कवि कुञ्ज) दुई दशकसम्म अलपत्र पर्‍यो । २०७२ सालको महाभूकम्पले थप जीर्ण बनाएको कवि कुञ्ज सरकारले किनेर संग्रहालय बनाउने निश्चित गरेको छ । जसअनुसार सोमबारदेखि भत्काउन थालिएको छ ।

कवि कुञ्जकै छेउमा घर बनाएर २०४९ मा सरेका महाकवि पुत्र पद्म देवकोटा निःशब्द भएर आफू जन्मे-हुर्केको घर भत्काएको हेरिरहेका भेटिए । झ्यालबाट बुबालाई बोलाउने फुच्चेमध्ये पद्म पनि एक थिए । उनले यही घरमा जीवनको अधिकांश समय बिताए ।

देवकोटा निवास फगत घर थिएन । शंकर लामिछानेले ‘बिम्ब प्रतिबिम्ब’मा यसलाई ‘कवि कुञ्ज’ रहेको लेखेका छन् । लामिछाने, भवानी भिक्षु, माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव लगायत साहित्यकारहरूको जमघट यही घरमा हुन्थ्यो । भारतीय विद्वान् राहुल सांकृत्यायन काठमाडौं आउँदा देवकोटाको दैलो छुटाउँदैनथे

मूलघर भत्काउँदा आफू भावुक भएको कुरा उनले फेसबुकमा पनि लेखे । छोरा पद्म मात्र होइन छिमेकका पुराना मानिसहरू पनि देवकोटाको घर भत्काउँदा दुःख लागेको बताउँछन् । महाकवि देवकोटाको घर खोज्दै आउने आगन्तुकहरूलाई यी छिमेकीले कवि कुञ्जको दैलोसम्म ल्याइदिन्थे ।

देवकोटा निवास फगत घर थिएन । यो कविको कुञ्ज रहेको कुरा शंकर लामिछानेले ‘बिम्ब प्रतिबिम्ब’मा लेखेका छन् । लामिछाने एकाबिहानै आएर काव्य-साधनामा मग्न देवकोटासँग भलाकुसारी गर्ने ठाउँ थियो, यो घर ।

भवानी भिक्षु, माधवप्रसाद घिमिरे, श्यामदास वैष्णव लगायत साहित्यकारहरूको जमघट यही घरमा हुन्थ्यो । भारतीय विद्वान् राहुल सांकृत्यायन काठमाडौं आउँदा देवकोटाको दैलो छुटाउँदैनथे ।

देवकोटाका साहिंला छोरा पद्मले बुबाकै पेशा समाए । साहित्य रचना र जीविकोपार्जनका लागि प्राध्यापन गरे । उनले ‘सम्झनामा बुबा महाकवि देवकोटा’ पुुस्तकमा पितासँगका सबै कुरा खुलाएका छन् । आफ्नो ऐतिहासिक घरको सबै पक्ष उक्त पुस्तकमा खोलेका छन् ।

पद्मका अनुसार मैतिदेवी फाँटमा बन्दाबन्दैको दुई तलाको ईंटाको घर देवकोटाले १९९९- २००० साल आसपासमा सालमा तीन हजार ६०० रुपैयाँमा किनेका थिए । २००० सालमा जेठी छोरी सावित्रीको विवाह धोबीधाराको मूलघरबाटै गरेपछि देवकोटाको परिवार मैतिदेवीको यो घरमा सरेको थियो । महाकविले करीब १५ वर्ष यही घरमा बिताए ।

पद्म देवकोटा र उनले लेखेको महाकविमाथिको पुस्तक ।

२०१४ सालमा शिक्षामन्त्रीबाट हटेपछि उनले यो घरमा तेस्रो तला थपेका थिए । त्यसबेला राति काठ चोर्न आएका एक चिनारुलाई देवकोटाले थप्पड लगाएको रोचक कुरा पद्मले ‘सम्झनामा बुबा महाकवि देवकोटा’मा उल्लेख गरेका छन् ।

२०५२ सम्म कवि कुञ्जमा देवकोटाकी श्रीमती मनदेवी बसिन् । २०५६ फागुन ७ गते मनदेवीको निधन भएपछि भने देवकोटाको घर निर्जन जस्तै बन्यो । २०६९ सालमा प्रकाशित निबन्ध संग्रह ‘लोकेसन’मा पत्रकार दीपक सापकोटाले लेखेका छन्- ‘जीर्ण घरको बार्दलीमा थोत्रा सिरक र थाङ्ना सुकाइएका छन् । ढल्किएका भर्‍याङहरू छन् । सस्ता कोठा खोज्दै हिंड्ने दुःखी जीवहरूको भीड छ यहाँ ।’

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घरकस्तो बन्नेछ देवकोटा संग्रहालय ?

कवि कुञ्जलाई संग्रहालय बनाउने कुरा २०६० आसपासमै उठेको भए पनि त्यसले २०७२ पछि गति लिएको बताउँछन् पद्म देवकोटा । झन्झटिलो प्रक्रिया पूरा गर्दै परिवारले २०७६ मंसीर २९ गते घर नेपाल सरकारको नाममा पास गरिदिएको उनले बताए ।

सरकारबाट संग्रहालय बनाउने जिम्मा पाएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव जगतप्रसाद उपाध्याय अब उही आकृतिको, उही झ्याल-ढोका र कोठा भएको पक्की भवन बन्ने बताउँछन् ।

‘कवि कुञ्ज मर्मत गरेर संग्रहालय बनाउने शुरु योजना थियो’, उनले भने ‘यस विषयमा विज्ञहरूसँग पर्याप्त सल्लाह पनि भयो, तर काठपात मक्किएर घर धेरै जीर्ण भइसकेकाले त्यो सम्भव नदेखिएपछि भत्काएर पुरानै स्वरुपमा नयाँ बनाउन लागिएको हो ।’

सदस्य-सचिव उपाध्यायका अनुसार, नयाँ भवनको भुइँतलामा महाकविको आवाजको रेकर्ड र पुराना तस्वीरहरू राखिनेछ भने पहिलो तलामा उनले प्रयोग गरेका कपडा, भाँडाकुँडा र औजारहरू रहनेछन् । त्यस्तै, दोस्रो तलामा महाकविका सबै पुस्तक र अप्रकाशित पाण्डुलिपिहरू राखिनेछन् ।

तेस्रो तला भने परामर्श तथा सभाकक्ष जस्तो हुुने उपाध्यायले बताए । स्रष्टा तथा अनुसन्धाताहरूले देवकोटा संग्रहालय अवलोकन गरिसकेपछि चाहेको खण्डमा त्यहाँ अन्तरक्रिया वा कार्यक्रम गर्न सक्नेछन् ।

संग्रहालय निर्माणका लागि प्रज्ञा प्रतिष्ठानले ७ करोड ११ लाखको टेण्डर ‘जेबी ठेकेदार कम्पनी’लाई दिएको छ ।

सामाजिक सञ्जालमा भने देवकोटाको घरलाई पुरानै अवस्थामा जीर्णोद्धार गर्नुपर्नेमा भत्काइएको भन्दै विरोध भइरहेको छ ।

तस्वीर : चन्द्र आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भीकजंग रायमाझी

साहित्यमा रुची राख्ने रायमाझी साहित्य र कला बिषयमा रिर्पोटिङ गर्छन् ।

Advertisment