Comments Add Comment

प्रधानमन्त्रीको भिडियो सन्देश : तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिंदैछ

२३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोना महामारीको तेस्रो लहर छिट्टै शुरु हुने लक्षण देखिएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले सरकारको एक्लो प्रयासले मात्र महामारीसँग लड्न सम्भव नभएकाले सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेका बेला मात्र घरबाहिर निस्कन र घरबाहिर निस्कदा मास्क लगाउन, भौतिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

महामारी नियन्त्रण गर्ने प्रभावकारी माध्यम खोप रहेको भन्दै उनले खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भीडभाड हुने गतिविधि नगर्न पनि आग्रह गरेका छन् ।

यस्तो छ प्रधानमन्त्रीको भिडियो सन्देश :

नमस्कार

तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्र यो महामारीलाई पार लगाउन सकिन्छ ।

त्यसैले म यहाँहरुसँग आग्रह गर्दछु । अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं, बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं, बेला बेलामा साबुनपानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गराैँ ।

यो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम खोप हो । अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न सबैलाई अनुरोध गर्दछु ।

सम्पूर्ण राजनीतिक दलहरु, निजी क्षेत्र, गैर सरकारी संस्थालाई पनि भेला हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर मात्र आफ्नो पेशा व्यवसाय तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गर्दछु ।

मलाई पूर्ण विश्वास छ, हामी सबैको साझा प्रयासले छिट्टै महामारी नियन्त्रणमा सफल हुनेछौं ।

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment