Comments Add Comment

अफगानिस्तानमा दुई दिनमा दुई प्रान्तीय राजधानी तालिबानको कब्जामा

२४ साउन, काठमाडौं । अफगानिस्तानमा सरकारसँग युद्ध गरिरहेको चरमपन्थी संगठन तालिबानले उत्तरी क्षेत्रमा रहेको जाज्जान प्रान्तको सेबर्घान सहर नियन्त्रणमा लिएको बताएको छ ।

अफगानिस्तानका रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सेना अझै पनि सोही सहरमा रहेको र अब छिटै नै उक्त सहरलाई पुनः आफ्नो नियन्त्रणमा ल्याउने दाबी गरेका छन् । पछिल्लो दुई दिनमा तालिबानको कब्जामा गएको यो दोस्रो प्रान्तीय राजधानी हो । यसअघि गत शुक्रबार निम्रोज प्रान्तको जारन्ज सहरमा पनि तालिबानले कब्जा जमाएको थियो ।

तालिबानले गत शुक्रबार प्रान्तका गभर्नरको कार्यालयको कम्पाउण्डलाई नै आफ्नो नियन्त्रणमा लिएको थियो । तर, अफगानी सेनाले तालिबानलाई हटाएको थियो । प्रान्तका काउन्सिल प्रमुख बाबुर एस्कीले भने तालिबानका लडाकुले अहिले सेनाको बेसक्याम्पबाहेक सबै सहरलाई कब्जामा लिएको बताएका छन् । बेस क्याम्पमा अहिले पनि युद्ध चलिरहेको छ ।

तालिबानले पछिल्लो समय अफगानिस्तानमा आफ्नो कब्जा बढाउँदै लगेको छ । अहिले कुन्दुज र लस्कर गाहमा पनि भिडन्त भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिका र अन्य अन्तर्राष्ट्रिय सेनाले अफगानिस्तान छाड्न थालेसँगै अफगानिस्तानमा तालिबानले पकड बढ्न थालेको हो ।

अहिले तालिबानले अफगानिस्तानका प्रमुख सहरलाई पकडमा लिने प्रयास गरिरहेको छ । सेबर्घान अफगानिस्तानका पूर्व उपराष्ट्रपतिक अब्दुल रासिद डोस्टमको बलियो पकड रहेको सहर हो । उनका समर्थकले उक्त सहरमा तालिबानविरुद्धको लडाइँको नेतृत्व गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानको सेनालाई सहयोग गर्न अहिले १५० जना मानिसहरु उक्त सहरमा गएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment