Comments Add Comment

१५ लाखको योजनामा कामै नगरी प्रतिवेदन तयार

२४ साउन, जनकपुरधाम । सांसद विकास कोषको बजेटबाट १५ लाख रुपैयाँ पाएको चन्द्रनगर गाउँपालिका–१ किसनपुरस्थित सडक हिजोआज पनि हिलाम्य छ ।

यो सडक स्तरोन्नति भइसकेको भनी गाउँपालिकाले असार १५ गते नै प्रतिवेदन तयार पारिसक्यो, तर स्थानीय बासिन्दा भने सडकको अवस्था सुधार नभएको बताउँछन् । स्थानीय रामवृक्ष महतोको घरदेखि भैसियाहीसम्मको सडकबारे स्थानीय अवधलाल रायले भने, ‘अहिले पनि यो सडक पुरानै अवस्थामा छ, सांसदले दिएको १५ लाख रुपैयाँ कहाँ गयो थाहा छैन ।’

अर्का स्थानीय राजकुमार महतो भन्छन्, ‘प्रदेश २ का जिल्लामा विकासका काम गर्दा कम्तीमा आधा भए पनि काम गर्ने चलन छ, तर यहाँ एक मुठी माटो र बालुवा पनि हालेको देखिएको छैन,’ स्थानीय राजकुमार महतो भन्छन्, ‘कागजी रुपमा भने काम भइसकेको देखाइएको छ ।’

सांसद प्रमोद साहको निर्वाचन क्षेत्र पर्ने यस क्षेत्रमा आर्थिक वर्ष २०७७/७८ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत १५ लाख रुपैयाँ परेको थियो ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतो उक्त सडकमा काम नभएको स्वीकार गर्छन् । उनले यो सडकको सट्टा अर्कै सडक स्तरोन्नति गरिएको दाबी गरे । रामवृक्ष महतोको घरदेखि भैंसीयाहीसम्म तीनवटा सडक रहेको र त्यसमध्ये एउटा मात्र स्तरोन्नति भएको अध्यक्ष महतोले बताए । ‘बिना काम गरी उपभोक्ता समितिलाई कसरी रकम दिन्छु ?’ उनी भन्छन्, ‘काम भएको छ । त्यसै भुक्तानी गरिएको छैन ।’

गाउँपालिका अध्यक्ष महतोले त्यहाँ तीनवटा सडक भएको बताए पनि स्थानीयले भने एउटा मात्रै सडक भएको बताउँछन् । ‘यहाँ कुनै तीनवटा सडक छैन, एउटा मात्रै छ,’ स्थानीय रामेश्वर महतोले भने ।

वडाध्यक्षले बोली फेरे

वडाध्यक्ष बच्चे यादवले रामवृक्ष महतोको घरदेखि भैसीयाहीसम्म काम नभएको भन्दै साउन ५ गते गाउँपालिकामा निवेदन दिएका थिए । उनले दिएको निवेदनमा रामवृक्ष महतोको घरदेखि भैसीयाहीसम्मको सडक निर्माण कार्य नभएको तर यस कार्यालयबाट सम्पन्न भई निकासा समेत भइसकेको उल्लेख गर्दै त्यसको प्रतिलिपि उपलब्ध गराइदिन माग गरिएको थियो ।

तर अहिले भने उनी सडक स्तरोन्नति भएको दाबी गर्छन् । अनलाइनखबरसँग उनले भने, ‘काम भइसकेको छ ।’

सडकको स्तरोन्नतिका लागि योजना छनोट गर्ने समितिका संयोजक प्रतिनिधिसभा सदस्य प्रमोद साह पहिले तोकिएको भन्दा अर्कै सडक स्तरोन्नति भएको सुनेको बताउँछन् ।

सांसद साह भन्छन्, ‘जुन सडकमा काम गर्नुपर्ने हो, त्यो सडकमा भएको देखिएको छैन,’ उनले भने, ‘मेरो सहमति बिना योजना अर्कै ठाउँमा सारिएको छ ।’

सांसद साहका अनुसार अर्को ठाउँमा काम गरिए पनि स्टिमेट अनुसार गरिएको छैन । पहिले छनोट गरिएको सडक स्तरोन्नति नगरिएको भन्दै उनले यस्तो काम गर्नेलाई कारबाही गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment