Comments Add Comment

सेती खोच र पाताले छाँगो ठेक्का : लाभ कि महाविपत्तिको पर्खाइ ?

२५ साउन, पोखरा । दुई वर्षअघि सरकारले नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण रिसोर्ट लगायतको जग्गा थप २५ वर्षका लागि यती होल्डिङ्सलाई लिजमा दियो । ट्रष्टकै ताहाचलको जग्गा पनि यतीलाई ३० वर्षका लागि सुम्पियो । ऐन नै संशोधन गराएर पनि देशका विभिन्न ठाउँका सरकारी जग्गा सस्तोमा हत्याउन यती समूह सफल छ ।

यतिबेला पोखरामा व्यापारिक समूहले सार्वजनिक निजी साझेदारी अन्तर्गत चार दशकसम्म सार्वजनिक सम्पदा नै हात पार्न सफल भएको छ । यतीलाई जग्गा दिन संघीय सरकारले ऐन नै संशोधन गरेभन्दा पनि पोखरा एक कदम अगाडि देखियो । पोखरामा सेती नदी खोच, पाताले छाँगो व्यापारीको योजना अनुसारै ऐन निर्माण गरेर जिम्मा लगाइएको छ, त्यो पनि ४० वर्षसम्मका लागि ।

संविधानले व्यवस्था गरेको भए पनि व्यापारीको योजनालाई बल पुग्ने गरी पोखरा महानगरले सार्वजनिक-निजी साझेदारी ऐन-२०७४ र नियमावली-२०७५ निर्माण गरेर सार्वजनिक सम्पदा जिम्मा लगाइएको छ ।

यो पनि पढ्नुस् – सेती नदी, पाताले छाँगो र रामघाट ४० वर्षसम्म निजी क्षेत्रलाई दिने दाउ

पोखराको सेती खोचमा साहसिक पर्यटन पूर्वाधार निर्माण गरी सञ्चालन गर्ने र पाताले छाँगो (डेभिज फल्स) मा सिसाको पुललगायत पूर्वाधार निर्माण गर्ने क्यानोनिङ प्रालिका नाममा पस्मिना व्यापारी कर्केन गुरुङले महानगरमा योजना लगेका थिए । चार वर्ष अघि मात्र अघि दर्ता भएको कम्पनी सेती क्यान्योनले सेती खोच र पाताले छाँगो लिजमा लिन तीन वर्ष पहिले नै महानगरलाई सहमत गराइसकेका थिए ।

भौगोलिक हिसाबले हेर्ने हो भने पोखराको सबैभन्दा कमजोर क्षेत्र नै छोरेपाटन क्षेत्र हो, जहाँ पाताले छाँगो, गुप्तेश्वर गुफा छन् । किनभने छोरेपाटन क्षेत्रमा जस्तो भ्वाङ, अन्त छैन । त्यो ठाउँमा बस्ती बसाउँदा वा संरचना निर्माण गर्दा एकदमै विचार पुर्‍याउनु पर्ने क्षेत्र हो

सोही समयमा व्यापारिक घराना बतास अर्गनाइजेसनमा आनन्दराज बतासले अर्को योजना बनाए, रामघाटमा ड्याम बनाएर सेती नदी बहावलाई छेकेर प्रविधिको प्रयोगमा नदीजन्य सामग्रीको उत्खखन् गर्ने ।

रामघाटसँगै सेती नदी र विजयपुर खोलाको दोभानदेखि केही तल मोरेखरेमा ड्याम बनाएर नदीजन्य पदार्थ उत्खनन्, प्रशोधन गरेर निकासी गर्ने योजनामा बताससँगै व्यवसायी विजयराज भट्टराई पनि थिए । रामघाटमा बी रिभर माइनिङ र मोरेखरेमा मोरेखरे माइनिङले ३५ वर्षसम्म ठेक्का लिने योजना महानगरका प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिलाई मनाएर कार्यपालिका बैठकमा प्रवेश गरेको थियो ।

महानगरले सेती खोच, पाताले छाँगो लगायत पाँच आयोजना सार्वजनिक निजी साझेदारी (सानिसा) मा अगाडि बढाउनका लागि २०७५ फागुन २० गते नै मनसायपत्र प्रकाशित गरेको थियो । सानिसा अन्तर्गत नै रामघाट र मोरेखहरे योजना अगाडि बढाउन ७ कात्तिक २०७७ मा प्रस्ताव आह्वान गरेको थियो ।

सार्वजनिक सम्पदा निजी कम्पनीलाई ठेक्का लगाउने योजनाअनुसारै गत चैत २७ गते पोखरा महानगरको कार्यपालिका बैठकले सेती खोच र पाताले छाँगो कर्केन गुरुङ, रामघाट र मोरेखहरे आनन्दराज बतास र विजय भट्टराईको कम्पनिलाई सार्वजनिक निजी साझेदारीमा जिम्मा दिने निर्णय गरेको थियो ।

व्यापारिक समूहको स्वार्थमा सार्वजनिक सम्पदा ४० वर्ष सम्मका लागि निजी क्षेत्रको जिम्मा लगाइएको भन्दै महानगरको निर्णयपछि नागरिकस्तरबाट विरोध भइरहेको छ । वातावरण संरक्षणकर्मी र मानव अधिकारकर्मीले सार्वजनिक सम्पति लामो समयसम्मका लागि दिने निर्णय गरेर महानगरले भ्रष्टाचार गरेको आरोप लगाइरहेका छन् ।

नागरिक समाज, राजनीतिक दलहरुलेसमेत महानगरको कदमको विरोध जनाए । तर, महानगरपालिकाले बिरोधबीच सेती खोचमा साहसिक पर्यटनका निम्ति पूर्वाधार निर्माण र पाताले छाँगोमा सिसाको पुल लगायतको संरचना बनाउन ४० वर्षसम्मका लागि सेती क्यान्योनसँग प्रारम्भिक सम्झौता गरेको छ ।

साउन १५ गते सेती खोच र पाताले छाँगो भाडामा दिने सम्झौता भएको हो । सम्झौताअनुसार सेती खोचमा डेढ अर्बभन्दा बढी रुपैयाँ खर्चिएर कम्पनीले विभिन्न पर्यटन पूर्वाधार निर्माण गर्नेछ । गाईघाटदेखि ढुंगेसाँघुसम्म ८.६८ किलोमिटर लामो सेती खोचमा रेस्टुरेन्ट, सोभिनियर पसल, टेन्टेड रिसोर्ट, खोचभित्र सिसा, सिसा स्काइवाक, चिल्ड्रेन पार्क, बोटानिकल पार्क, साहसिक फन पार्क, बन्जी जम्पिङ, जिप ˆलाइयर, क्यानोइङ, वाल क्लाइम्बिङ, क्लिफ वाकिङ, टनेल लगायत विभिन्न साहसिक पर्यटनका पूर्वाधार बन्ने छन् ।

कम्पनीले पाताले छाँगो आसपासको डेड किलोमिटर क्षेत्रमा ४५ करोड ३१ लाख रुपैयाँमा सीसाको पुलसहित विभिन्न पर्यटन पूर्वाधार निर्माण गर्ने सम्झौतामा भएको छ ।
विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी महानगरले निजीलाई ठेक्का दिएको छ । यसप्रति महानगरको नियतमाथि नागरिकस्तरबाट शंका उब्जिइरहेको छ । तर, पोखरा महानगरपालिकाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका प्रमुख प्रशासकीय अधिकृत महेश बराल भने ऐनमै टेकेर सम्झौता गरिएको र रामघाटको हकमा पनि त्यही हुने दाबी गर्छन् ।

‘ऐन, नियममै टेकेर सम्झौता गरिएको हो । रामघाटको विषय पनि अगाडि बढिसक्यो अब फर्किने ठाउँ छैन,’ बरालले भने, ‘यदि रोक्ने हो भने अरु सरकारका निकाय छन् ।’

सेती खोच र पाताले छाँगो निजी कम्पनीलाई ४० वर्षसम्म भाडामा दिएपछि खारेजीको माग गर्दै उच्च अदालत पोखरामा रिट परेको छ । यी दुईसहित पोखरा महानगरपालिकाले सम्झौता गरेर २४ वर्षका लागि दिइएको फेवा सिल्टेसन ड्यामको ठेक्का पनि खारेजीको माग गरिएको छ । रामघाट र मोरेखरेसहित ५ योजनाको ठेक्का प्रक्रिया र सम्झौता नै खारेज गर्न माग गर्दै अधिवक्ता देवका तिमिल्सिना, मिलन सुवेदी, सविन तिवारी र अस्मिता तिवारीले रिट दायर गरेका थिए ।

रिटउपर उच्च अदालतले महानगरलाई कारण देखाउ आदेश जारी गरिसकेको छ भने आज सोमबार अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।

प्राकृतिक तथा भौगर्भिक हिसाबले पनि रहस्यमय मानिने पोखराको सेची खोच र पाताले छाँगो महानगरले बेचेपछि विभिन्न कोणबाट बहस भइरहेका छन् । धार्मिक, सांस्कृतिक, प्राकृतिक हिसाबलेमात्र होइन विज्ञहरुले रामघाटमा सेती थुन्नु र पोखराकै सबैभन्दा बढी जोखिममा रहेको छोरेपाटन क्षेत्रमा संरचना बनाउनु भौगर्भिक हिसाबले नै उपयुक्त नहुने बताइरहेका छन् ।

विभिन्न अध्ययनले एकदमै कमजोर र जुनसुकै बेला ढिस्को खुसेर सेती नदी पुरिन सक्ने रामघाट क्षेत्रमा नदी थुनेर ढुंगा गिटी निकाल्नु विपत्ति निम्त्याउने काम भएको विज्ञहरुको भनाइ छ ।

‘सेतीमा जुनसुकै बेला बाढी आउन सक्छ, महाविपत्ति निम्तिन सक्छ’

पोखराको प्राकृतिक जोखिम र विपत्ति विषयमा पिएचडी गरिरहेका इन्जिनियर नारायण गुरुङ सेतीमा जुनसुकै बेला बाढी आउन सक्छ, महाविपत्ति निम्तिन सक्ने बताउँछन् ।

पोखराको भौगोलिक अवस्था र सम्भावित जोखिमबारे गुरुङको भनाइ यस्तो छ –

माछापुच्छ्रेको शीर अन्नपूर्णदेखि पोखरा रातो पहिरोसम्म ४० किलोमिटर क्षेत्रको प्राकृतिक जोखिम र विपत्तिलाई केन्द्रमा राखेर हामीले अध्ययन गरेका हौं । यहाँको प्राकृतिक जोखिम र निम्तिन सक्ने विपत्तिमा जानुभन्दा पहिले पोखरा उत्पति नै कसरी भयो भन्ने हेर्नुपर्दछ ।

१२ हजार र ८ सय वर्ष अगाडि आएका दुई भीषण बाढीबाट पोखरा उपत्यकाको निर्माण भएको वैज्ञानिक हिसाबले नै पुष्टि भएको छ । करिब १२ हजार वर्ष पहिलेको बाढीले थुपारेको भूूभागलाई हामी घाचोक फर्मेशन भनेर चिन्दछौं भने ८ सय वर्ष पहिलेको बाढीले थुपारेको भूभागलाई हामी पोखरा फर्मेशन भनेर चिन्दछौं । हेर्दा उस्तै देखिए पनि घाचोक फर्मेसन पोखरा फर्मेशनभन्दा बलियो र कडा छ । पोखरा फर्मेशन कम खँदिलो, खुकुलो र कमजोर छ ।

रातो पहिरो

सेती, जहाँ पोखरा फर्मेशन भएर बग्दछ, त्यहाँ सेती फराकिलो भएर बगिरहेको छ । जहाँ घाचोक फर्मेसन भएर जान्छ त्यहाँ सेती गहिरो र साँघुरो खोच बनाएर बगिरहेको छ । सेती नदी जहाँबाट बग्छ, पोखरामा बोटलको घाँटीजस्तो देखिने बोटल नेकहरु छन् । सेतीका ३ वटा बोटलनेक बढी जोखिममा रहेको अध्ययनले देखाएको छ । ती हुन्, केआइसिङ पुल, नारायण थान र तेस्रो रामघाट ।

यी तीन घाँटीमा कुनै पनि बेला सेती थुनिन सक्ने अवस्था छ । अहिले पनि सामान्य बर्खामै रामघाट सेती थुनिएर ताल बन्छ । केआइसिङ पुलबाट तल झण्डै डेढ किलोमिटर सेती किनार यसरी धाँजा फाटेर बसेको छ, कुनै पनि बेला खस्न सक्छ । त्यतिकै त बोटल नेक छ, त्यहीं सेती थुनियो भने पानी माथि आउँछ र बजारतिर पस्न सक्छ ।

अर्को नारायणथानमा पनि त्यस्तै छ र अर्को रामघाट क्षेत्र उच्च जोखिममा छ । रामघाटबाट साढे २ किलोमिटर क्षेत्रमा सेतीको गहिरो खोच छ, त्यहाँ पनि सेती थुनिने खतरा हुन्छ । त्यो थुनियो भने मणिपाल तलसम्मको भाग ताल बन्छ । त्यो फुटेर गयो भने के हुन्छ ?

सबैभन्दा खतरनाक भनेको रामघाट नै हो । रामघाटबाट तल रातो पैह्रोसम्म हेर्दा सबैभन्दा बढी जमिन चर्केको छ । पोखरा रंगशाला, पुरानो बसपार्कको अगाडि, घारीपाटन र रातोपैह्रोसम्म यति धेरै धाँजा फाटेको छ कि ठूला-ठूला ढिस्काहरु खसेर पनि बीचमै अडि्कराखेको छ । कतिपय खसिसकेको छ तर तल पुगेको छैन र अडि्कराखेको छ । त्यी ढिस्काहरु खसेर अचानक थुनियो भने रामघाटको पानी माथि आएर बग्छ । त्यो भनेको बस्तीतिर आउँछ । यसको अकल्पनीय जोखिम पोखरामा छ ।

किनार र नदी माथि नै ठूला ढिस्काहरु हृयांगिङ भएर बसेका छन् । त्यो खस्यो भने सेती थुनिन्छ, थुनिन्छ । हामीले ढुंगे साँघु भन्छौं, त्यो त्यस्तै थुम्को खसेर बनेको हो । नेचुरल पुल पनि बनेको छ, त्यहाँ । त्यो त्यसरी नै बनेको हो र जुनसुकै बेला पनि खस्न सक्छ । तर, सेती थुनिएर भित्रैबाट बैदामतिर पस्ने, पूर्वतिर पस्ने भन्ने हुँदैन, सतह बढेर बस्तीलाई नै असर गर्ने हो ।

इ. नारायण गुरुङ

भौगोलिक हिसाबले हेर्ने हो भने पोखराको सबैभन्दा कमजोर क्षेत्र नै छोरेपाटन क्षेत्र हो, जहाँ पाताले छाँगो, गुप्तेश्वर गुफा छन् । किनभने छोरेपाटन क्षेत्रमा जस्तो भ्वाङ, अन्त छैन । त्यो ठाउँमा बस्ती बसाउँदा वा संरचना निर्माण गर्दा एकदमै विचार पुर्‍याउनु पर्ने क्षेत्र हो । भूकम्प आउँदा अधिकतम १४ मिटर तलसम्म असर पुगेको भेटिएको छ । त्योभन्दा तल भ्वाङ छ, १४ मिटर जमिनले छोरेपाटन थामिराखेको छ ।

गुप्तेश्वर गुफातिर त झन् माथि घर बनेको छ, गाडी गुडेको छ । जम्मा १२ मिटर तल गुप्तेश्वर गुफा छ । १२ मिटर भनेको कति नै हो र ? नजिकै इपिसेन्टर बनेर आयो भने पनि त्यो भासिन्छ । त्यति धेरै भ्वाङ भएको क्षेत्र अर्को बाटुलेचौर हो र अर्को नदीपुर क्षेत्र पनि हो । केही न्युरोडतिर पनि छ । तर, छोरेपाटन र बाटुलेचौर क्षेत्रमा जस्तो अन्त छैन ।
पोखराको बारेमा धेरैले धेरै किसिमले अध्ययन गरेका छन् । मैले चाहिं पोखराको प्राकृतिक जोखिम र निम्तिन सक्ने विपत्तिलाई केन्द्रमा राखेर विभिन्न पक्षको अध्ययन गरेको हुँ ।

२०६९ सालमा सुख्खा बाढी आएर पोखरामा ७२ जनाले ज्यान गुमाउने अवस्था किन आयो ? त्यस्तै खालको बाढी अहिलेको जस्तो बर्खामा आयो भने पोखराको कुन ठाउँमा असर पार्छ ? असार, साउनमा त्यो बाढी आयो भने त बलिरहेको आगोमा मट्टतिेल खन्याएजस्तै हुन्छ ।

डिजास्टरमाथि डिजास्टर हुन्छ । त्यस्तै बाढी अब आउँछ कि आउँदैन भनेर मैले अध्ययन गरेको छु । यस्तै अध्ययन अरुले गरेको पाएको छैन । अरुले बाढी आउन सक्छ भनेर अध्ययन गरेका छन् । हामीले चाहिं ठूलो बाढी आयो भने कहाँ-कहाँ असर गर्न सक्छ ? भनेर अध्ययन गर्यौं ।

हामीले अध्ययन गरेको ४० किलोमिटर क्षेत्रमा पोखराका लाल्टिन बजार, शान्ति टोल, गोस्दी, कसेरी क्षेत्र, मसिना बगर, मर्दी दोभान, साँदर र २०६९ को बाढीले सखाप पारेको खारापानी क्षेत्र फेरि पनि जुनसुकै बेला बग्न सक्छ । विपत्ति आफैं आउँदैन, मानिसले निम्त्याइरहेको छ भन्ने हाम्रो निश्कर्ष हो । नदी, खोला हिँडेको बाटोमै घर बनाएका छौं । नदीलाई थुन्ने प्रयन्त गरिरहेका छौं । विपत्ति त हामीले ल्याइरहेका छौं । अझ पोखराजस्तो उच्च जोखिम भएको ठाउँमा सेतीलाई थुन्ने दुश्प्रयास ठूलो दुर्घटनाको पर्खाइ बन्न सक्छ ।

अहिले रामघाटमा ड्याम बनाएर नदी थुन्ने र ढुंगा, गिटी बालुवा निकाल्ने योजना पोखरा महानगरपालिकाले अगाडि बढाइरहेको छ । सेती थुनेर ड्याम बनाउने र ढुंगा, गिटी निकाल्ने विषयसँग मेरो पूर्ण बिमति छ । त्यतिकै त रामघाट तलाउ बनिरहेको हुन्छ, कतिखेर बस्तीसम्म आइपुग्छ, के बिपत्ति आइलाग्छ भन्ने खतरा छ ।

रामघाटदेखि थोरै तल अडि्कराखेको ढिस्को कलिकति पनि छिसिक्क एकदिनमात्र खस्यो भने पनि सेती बस्तीतिर पस्न सक्छ । यसै पनि ढिस्काहरु खसेर थुनिने, छेकिने जोखिम उत्तिकै छ । रामघाट आफैंमा पनि अहिले ३५ मिटर गहिरो छ । त्यो नदी थुन्न अब कति मिटर अग्लो ड्याम बनाउने हो ?

बर्खामा सेतीको ड्याम त एकछिनमा भरिन्छ । बालुवामाथि बनाएको ड्यामले नदी रोक्न सक्छ ? सक्छ भन्ने कि वैज्ञानिक आधार भेटिनुपर्‍यो । बाँध फुट्यो भनेमात्रै त्योभन्दा तल्लो भाग तबाह हुन सक्छ ।

कुनै पनि वैज्ञानिक हिसाबले पोखराको सेती थुन्नु उपयुक्त देखिँदैन । पोखराको भौगर्भिक अवस्था र रामघाटमा सेती थुन्ने योजना हामी त कल्पना गर्न पनि सक्दैनौं । पृथ्वीचोक क्षेत्रमा ठूला ठूला ढिस्को खस्न सक्छ, घारीपाटन क्षेत्रको ढिस्कोहरु जुनसुकै बेला खस्न सक्छ । त्यसको असर पनि पर्ने रामघाटमै हो भने रामघाटमै सेती थुन्दा नदीले खोज्ने निकासले ठूलो बिपत्ति निम्तन सक्छ ।

२०६९ सालमा सेतीमा आएको बाढीले खारापानी हुँदै थुप्रै ठाउँमा बबण्डर मच्चायो । थुप्रैको ज्यान लियो । त्यो वैशाख १२ गते सुख्खा समयमा आएको बाढी थियो । त्यस्तै बाढी यो बर्खामा आयो भने के हुन्छ ? रामघाट यसै पुरिन्छ, त्यसैमाथि त्यहाँको ड्यामले बहाब रोक्दा कस्तो दुर्घटना निम्त्याउला ? जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ नि । बोतलको घाँटीजस्तो सुकेको खोचमा ड्याम बनाउँदा सानै बाढी आयो भने पनि त्यसले निम्त्याउने दुर्घटनाको क्षति ठूलो हुन्छ ।

पोखराकै सबैभन्दा बढी भ्वाङ भएको र असाध्यै कमजोर छोरेपाटन क्षेत्रमा संरचना थप्दै जानु अर्को विपत्तिको पर्खाइ हो ।

पोखराको भित्रभित्र पानी बगेको भन्नेहरु पनि छन् । तर त्यो सत्य होइन । बाढीले ल्याएको लेदो पदार्थले अहिलेको जमिन बनेकाले पोखरामा चुन मिसिएको माटो छ । त्यसै हुनाले ठाउँ ठाउँमा भ्वाङ पर्ने, ठाउँ ठाउँमा भासिने समस्या देखिने हो । यसलाई हामीले लोकल समस्या भन्छौं । यसको मतलब पोखराको भित्रभित्रै भ्वाङ भएको, भित्रभित्रै ताल बनेको भन्ने होइन । सेती खोचबाट हिंडेको छ तर पोखराको जमिन भित्रभित्रै हिँडेको छ भन्ने पनि होइन ।

तस्वीरहरु : इ.नारायण गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

ट्रेन्डिङ

Advertisment