 
																			२६ साउन, काठमाडौं । अर्थमन्त्री जनदर्शन शर्माले कोभिड-१९ महामारीलाई प्रारम्भमा सामान्य रूघाखोकीको रूपमा परिभाषित गर्दा जटिलता पैदा भएको बताएका छन् । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’पत्र संसदमा पेश गर्दै शर्माले विज्ञहरूका सल्लाह र सुझाव विपरीत महामारीलाई सामान्यकीरण गर्दा ठूलो मानवीय क्षति हुन पुगेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार ४ गते राष्ट्रियसभा बैठकमा भनेका थिए, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’
त्यसैतर्फ लक्षित गर्दै सरकारले अघिल्लो सरकारले आवश्यक गाम्भीर्यता नदेखाएको र आवश्यक सावधानी र पूर्वतयारी पनि समयमै पुरा नगरेको आरोप लगाएको छ ।
‘छिमेकी देशहरूमा देखिएको असर र प्रभावको सुक्ष्म विश्लेषण गरी स्वास्थ्य पूर्वाधारको निर्माण, परीक्षणको दायरा विस्तार, उपचारको उचित प्रबन्ध, पर्याप्त होल्डिङ्ग सेन्टरको निर्माण, क्वारेण्टिन, आइसोलेशन सेन्टर, आइसीयू तथा एचडीयू बेडको थप व्यवस्था, भेण्टिलेटर, अक्सिजनको अभाव जस्ता पक्षमा गम्भीरतापूर्वक ध्यान दिई समयमै पूर्वतयारी गर्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन’ श्वेतपत्रमा भनिएको छ ।
उनले कोभिड-१९ महामारीको उत्कर्ष र यसले सिर्जना गरेको आर्थिक चुनौतीका बीच यो सरकारको कार्य प्रारम्भ गरेको बताएका छन् । स्वास्थ्य मापदण्डको कडाईका साथ पालना र जनचेतना अभिवृद्धिजस्ता सामान्य विषयमा ध्यान नपुर्याई राजनीतिकस्तरबाट नै अनावश्यक रुपमा गरिएका शिलान्यास, उद्घाटन, सभा, प्रदर्शन जस्ता भीडभाड जन्य गतिविधिले कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन सहयोग पुर्याएको श्वेतपत्रमा उल्लेख छ ।
‘कोभिड-१९ महामारीको पीडा भोगिरहेको जनजीवन र सोबाट शिथिल बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गरी नेपाली जनजीवनमा सकारात्मक परिवर्तन र समृद्धि ल्याउनमा वर्तमान सरकारको प्रयास केन्दि्रत रहनेछ । सबै नागरिकलाई खोप दिएर मात्र कोरोना संक्रमण रोकथाम एवम् नियन्त्रण हुने स्पष्ट आधार देखिएको अवस्थामा विगतमा शीघ्र खोप आपूर्ति गर्ने इमान्दार प्रयास हुन नसक्दा आम नागरिकलाई यथा समयमै खोप उपलब्ध गराउन सकिएन,’ श्वेतपत्रमा भनिएको छ,’अर्कोतर्फ अनुदान तथा खरीद गरी प्राप्त खोपको वितरण र व्यवस्थापनको उचित योजना हुन नसक्दा पहिलो मात्रा खोप लगाईसकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो मात्राको पर्खाइमा रहनु पर्यो ।’
विसं २०७८ असार मसान्तसम्म २६लाख ७९ हजार ८११ जनाले कोभिड-१९ महामारी विरुद्धको खोपको पहिलो र ११ लाख १२ हजार १६६ जनाले दोस्रो मात्रा लगाइसकेको मा साउन २५ गतेसम्म ४५ लाख २५ हजार ४३५ जनाले पहिलो र २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेको श्वेतपत्रमा उल्लेख छ ।
खोप लगाउन बाँकी व्यक्तिहरुलाई यथा समयमै खोप प्रदान गरी जनजीवनको रक्षा एवम् अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी रहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म करिब १ करोड मात्रा खोप नेपाल भित्रिएको अवस्था अर्थमनत्री शर्माले बताएका छन् ।
‘प्रधानमन्त्रीले वर्तमान सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता खोप भनेर प्रष्टसँग राखिसक्नु भएको छ भने मैले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा पहिलो निर्णयबाटै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड-१९ विरुद्धको खोप खरिद गर्न थप रकम निकासा प्रदान गरेको छु,’ श्वेतपत्रमा शर्मामले भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4