Comments Add Comment

अनलाइनबाट पढाउन पालुङटारका शिक्षकलाई तालिम दिइने

२६ साउन, गोरखा । गोरखाको पालुङटार नगरपालिकाले प्रविधिमैत्री कक्षा सञ्चालनका लागि शिक्षकहरुलाई तालिम दिने भएको छ । नगर क्षेत्रभित्रको माध्यमिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई एकहप्ते तालिम उपलब्ध गराउन लागिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

‘कोरोनाका कारण भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन,’ शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले भने, ‘अनलाइनबाट कक्षा सञ्चालन गर्नुपर्ने भयो, त्यसैले शिक्षकहरुलाई तालिम दिन लागेका हौं ।’ भदौ १ गतेबाट कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई अनलाइनबाट पठनपाठन शुरु गरिने उनले बताए ।

‘सबै शिक्षकहरु प्रविधिमैत्री शिक्षण सिकाइका लागि दक्ष हुनुहुन्न, तालिममा जानेका शिक्षकहरुले नजानेकाहरुलाई सिकाउनुहुन्छ,’ उनले भने ।

प्रधानाध्यापकको संयोजकत्वमा आ–आफ्ना शिक्षकलाई सातदिने प्रविधिमैत्री आधारभूत तालिम सञ्चालन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न सबै माध्यमिक तहका विद्यालयलाई निर्देशन समेत दिइसकेको काराखेतीले बताए । शिक्षा शाखाको साउन २० गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नयाँ शैक्षिक सत्र शुरु भएदेखि पालुङटारका विद्यालयहरुमा पठनपाठन भएको छैन । शिक्षकहरु भने साउन १९ गतेबाट हाजिर हुन थालिसकेका छन् ।

प्रशासनले अनुमति दिएको अवस्थामा प्राथमिक विद्यालयको पठनपाठन भौतिक रुपमा उपस्थित भएर गराउन सकिने नगर शिक्षा अधिकारी काराखेतीले बताए । ‘प्रावि तहमा विद्यार्थी संख्या कम छ, प्रशासनले दिएको अवस्थामा सामाजिक दूरी कायम गराएर विद्यालयमै पठनपाठन सञ्चालन गर्न सकिन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment