+
+
Shares

मकैको घोगामा दाना नलाग्दा जाजरकोटका किसान चिन्तित

रासस रासस
२०७८ साउन २७ गते १४:०२
फाइल तस्वीर

२७ साउन, जाजरकोट । मकैको घोगामा दाना नलागेपछि जाजरकोटको भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् । भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन ।

दाना नलाग्दा २० लाख रुपैयाँभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । ‘बोटमा रहरलाग्दो मकैको घोगा भयो, तर घोगामा एउटा पनि दाना लागेन,’ किसान बिर्खबहादुर कार्की भन्छन्, ‘मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईवस्तुलाई खुवाउनुको विकल्प देखिएन ।’

मकैको ब्लक क्षेत्रमा वितरण गरिएको २० लाख बराबरको अनुदान रकममध्ये समूहलाई तीन लाख ५० हजार, व्यक्तिगत फारमलाई ५० हजार र सहकारीलाई ६ लाखका दरले वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उक्त अनुदान रकममा किसान समूह र सहकारीले समेत ५० प्रतिशत आफ्नो तर्फबाट जम्मा गरेका थिए ।

मकैको मूल बीउ दैलेखबाट ल्याएको र उन्नत बीउ रेडपाण्डा सहकारी संस्था भेरी–२ तिलिङ्गेबाट ल्याएको कार्कीले बताए । मूल बीउ एक सय र उन्नत बीउ ५२० किलोग्राम खरिद गरेर ८५ जना किसानलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरिएको उनले बताए । अनुदान रकम पाएर उन्नत बीउ र मूल बीउको नाममा लगाएका अधिकांश ठाउँमा दाना नलाग्ने समस्या आएको बताइएको छ । बीउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए ।

घोगामा दाना नलागेपछि किसानहरुले मकैको बोट फाँडेर गाईवस्तुलाई खुवाउन थालेको र त्यसपछि सो खेतलाई जोतेर अर्को बाली लगाउने तयारी गरेको स्थानीयवासी बताउँछन् । कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधिको प्रयोग गर्नुका साथै आवश्यक सिँचाइको समेत प्रबन्ध गरिएको किसानहरुको भनाइ छ ।

मकैमा दाना नलागेको गुनासो आएको जिल्ला कृषि कार्यालयले जनाएको छ । दाना नलाग्नुको खास कारण के हो अनुसन्धान नगरी भन्न नसकिने सूचना अधिकारी विकले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?