Comments Add Comment

गाउँपालिकामा आर्थिक पारदर्शिताको माग राख्दै पकाहामैनपुरका युवाले बुझाए ज्ञापनपत्र

२७ साउन, वीरगञ्ज । पर्साको पकाहामैनपुरका युवाहरुले गाउँपालिका अध्यक्षलाई १५ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । पकाहामैनपुर युवा सञ्जालले गाउँपालिका अध्यक्ष विजय चौरसियालाई बुधबार ज्ञापनपत्र बुझाएका हुन् ।

विभिन्न योजना तथा कार्यक्रममा आर्थिक पारदर्शिताको माग राखेर युवा सञ्जालमा आबद्ध १३ जना युवाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । युवा सञ्जालले राखेको माग तीन दिनभित्र सुनुवाइ गर्न ज्ञापनपत्रमा भनिएको छ ।

युवा सञ्जालका संयोजक अकलेश साहले आर्थिक अनियमितता भएको आशंका लागेर आर्थिक पारदर्शिताका लागि दबाब दिएको  बताए । ‘गाउँपालिकाले सूचनाको हक प्रयोग गरेर सूचना माग्दा समेत आय–व्यय विवरण दिएको छैन । अधिकांश विकास कागजमा सीमित छ,’ उनले भने, ‘गाउँपालिकामा ३१ लाख खर्च गरेर वाइफाइ जडान गरेको ३१ दिनसम्म चलेन, फेरि १९ लाख रुपैयाँ मर्मतसम्भारका लागि छुट्याइएको भन्ने सुनेका छौं । एउटा वडाले ग्यास सिलिण्डर किनेर घरमा राखेको छ ।’

ज्ञापनपत्रमा आर्थिक वर्ष २०७६/७७ मा भएको कोभिड–१९ को खर्च, २०७६/७७ मा भएको कर्मचारी नियुक्ति प्रक्रिया र नियुक्त गरिएको कर्मचारी संख्या, २०७६/७७ मा उच्च मावि, निमावि तथा प्रावि विद्यालयमा दिवा खर्च र शैक्षिक सामाग्री खरिद खर्च रकम सार्वजनिक गर्न माग गरेका छन् ।

ज्ञापनपत्र बुझाउनु अघि युवा सञ्जालका सदस्यहरु मोटरसाइकल र्‍याली सहित गाउँपालिका कार्यालय पुगेका थिए ।

गाउँपालिका प्रमुख चौरसियाले भने भ्रष्टाचार र अनियमितता भयो भनेर गाउँपालिकाका केही युवाले हल्ला मात्रै गरेको बताएका छन् । ‘भ्रष्टाचार भनेर निराधार कुरालाई लिएर होहल्ला गर्ने, जिन्दावाद र मुर्दावादको नारा लगाउने काम केही युवा साथीहरुबाट भएको छ,’ उनले भने, ‘गाउँपालिकामा त्यस्तो केही अनियमितता भएको छैन । सबै कुरा पारदर्शी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment