
२८ साउन, काठमाडौं । अष्ट्रेलियाको राजधानी सहर क्यानबेरामा पनि लकडाउन गरिएको छ । क्यानबेरामा लगाइएको एक साताको लकडाउन बिहीबार स्थानीय समय अनुसार अपराह्न पाँच बजेदेखि कार्यान्वयनमा आउनेछ ।
क्यानबेरामा एक वर्षभन्दा लामो समयपछि कोरोनाका संक्रमित फेला परेसँगै लकडाउनको घोषणा गरिएको हो ।
मानिसहरु अत्यावश्यक कामको लागि मात्र बाहिर निस्किन पाउँछन् । लकडाउनको घोषणा गरिएसँगै मानिसहरु अहिले सुपरमार्केटमा सामान किन्नलाई लाइन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
अष्ट्रेलियामा पछिल्लो समय डेल्टा भेरियन्टसहितको संक्रमण बढ्दो क्रममा देखिएको छ । संक्रमण बढेसँगै यसअघि नै सिड्नी र मेलबर्नमा लकडाउन गरिसकिएको छ । न्यु साउथ वेल्सको ठूलो क्षेत्रमा लकडाउन गरिएको छ । भिक्टोरियाको मेलबर्नमा पनि एक साताको लागि लकडाउन थपिएको छ ।
यसैबीच सिड्नीमा मानिसहरुलाई लकडाउन पालना गराउन थप सेना परिचालन गर्ने तयारी गरिएको छ । पछिल्लो साता सातादेखि कडा लकडाउन गरिए पनि सिड्नीमा कोरोना संक्रमण भने अहिलेसम्मकै उच्च विन्दुमा देखिएको छ ।
बिहीबार न्यु साउथ वेल्समा समग्रमा ३४५ स्थानीय कोरोना संक्रमित फेला परेका छन् । त्यस्तै दुई जनाको संक्रमणको कारण मृत्यु भएको छ । अहिलेसम्म एक चौथाइभन्दा कम अष्ट्रेलियाली नागरिकले मात्र कोरोना खोप लगाएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4