Comments Add Comment

‘पूँजीबजार बढेको छ, जोखिम झनै बढेको छ’

शुरूआती अवस्थामा धेरैलाई शेयर भनेको के हो भन्ने जानकारी समेत थिएन । नेपालमा १९९३ सालमा कम्पनी ऐन लागू भएपछि १९९४ सालमा सर्वप्रथम विराटनगर जुट मिल्स र नेपाल बैंकले सर्वसाधारणलाई शेयर बिक्री गरेपछि संस्थागत क्षेत्रबाट धितोपत्र निष्काशन गरी पूँजी संकलन गर्ने प्रथाको शुरूआत भएको मानिन्छ ।

धितोपत्र बजार सञ्चालनको लागि ऐन तथा नियमावलीको तर्जुमा भए पश्चात धितोपत्र बजार र वस्तु विनिमय बजारको नियामक निकायको रूपमा २०५० सालमा नेपाल धितोपत्र बोर्डको स्थापना भएको थियो । बजार सञ्चालकको रूपमा त्यसपछि नेपाल स्टक एक्सचेञ्जको स्थापना भयो । समयक्रमसँगै नेपालमा पूँजी बजारको विकास हुँदै आयो ।

म २०५३ सालमा बोर्डमा प्रवेश गरेको थिएँ । त्यसबेलासम्म पनि धेरै मानिसलाई शेयर किन्ने बेच्ने भन्ने जानकारी नै हुँदैनथ्यो । २०५३ सालपछि तत्कालीन ऐन संशोधन भयो । विस्तारै कम्पनीहरू सर्वसाधारणका लागि शेयर जारी गर्न आउन थाले ।

अहिले धेरैले पूँजी बजारलाई जोखिमरहित बजार भन्ने बुझिरहेका छन् । यो सधैं बढ्छ भन्ने सोच देखिन्छ । तर यो जोखिम पनि भएको बजार हो र राम्ररी बुझेर मात्रै लगानी गर्नुपर्छ ।

बजारलाई व्यवस्थित गराउन त्यसपछि ब्रोकरहरूलाई कम्पनीको रूपमा रूपान्तरण गरियो । त्यसअघि व्यक्तिगत ब्रोकर कम्पनीहरू थिए । ब्रोकर कम्पनीहरूले रिपोर्टिङ गर्नुपर्नेदेखि लिएर विभिन्न किसिमका कानूनी व्यवस्था गरियो । २०५३ सालमा संशोधन भएको ऐनले बजारलाई धेरै हदसम्म व्यवस्थित ग¥यो ।

विस्तारै शेयर किन्नुपर्छ भन्ने चेतना फैलिंदै गयो । शेयर कारोबार हुन थाले पनि त्यसबेला अत्यन्तै कम मात्रै कारोबार हुन्थ्यो । धेरै थोरै मान्छे मात्रै शेयर बजारको पहुँचमा थिए । २०६० सालपछि भने बजारले ‘पिकअप’ लियो । लगानीकर्ता थपिए । कारोबार पनि बढ्न थाल्यो । तर पनि अहिलेको भन्दा अत्यन्तै कम मात्रैले शेयर कारोबार गर्थे ।

यसपछि बैंक, विकास बैंक लगायत कम्पनीले सर्वसाधारणका लागि शेयर जारी गर्न थाले । पब्लिकका लागि शेयर जारी गर्ने कम्पनी आउन थालेपछि भने झन् चासो बढ्न थाल्यो ।

अहिले बजारमा एक किसिमको उत्साह छ । यो उत्साह शुरू भएको लामो समय भएको छैन । अनलाइन कारोबार प्रणालीको विकास र कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन पछि धेरैको शेयर बजारमा चासो बढेको हो ।

शेयरको सबै प्रमाण डिजिटल भएको छ भने आईपीओ आवेदनदेखि दोस्रो बजारमा बिक्री र रकम संकलनका लागि लगानीकर्ता अहिले कहीं कतै जानुपर्दैन । हामीले आईपीओ आवेदकलाई कम्तीमा १० कित्ता शेयर पर्ने नीति कार्यान्वयनमा ल्यायौं । यसले पनि लगानीकर्ताहरूको सहभागिता निकै राम्रोसँग बढायो ।

२०६२÷६३ सालसम्म पनि शेयर बजार भनेको काठमाडौंभित्रका लागि मात्रै हो जस्तो थियो । २०६३ मा धितोपत्र बजार सम्बन्धी नयाँ ऐन आयो । नयाँ ऐन बनेपछि बजार विस्तार हुन शुरू ग¥यो । त्यसपछि पनि काठमाडौं बाहिर कारोबार धेरै गएको थिएन । कारोबारको ८० प्रतिशत भन्दा ठूलो हिस्सा काठमाडौंभित्रकै थियो । अहिले भने त्यो अवस्था छैन ।

पहिले शेयर बजार भनेको कुनै सीमित वर्गको मात्रै चासोको विषय थियो । हामीले लगानी गर्नुहुँदैन लगानी ग¥यो भने डुबिन्छ भन्ने सोच थियो । यो सोच अहिले बदलिएको छ । शेयर बजारबारे धेरै नागरिकले बुझ्नुभएको छ । लगानीकर्ताहरूको आकर्षण धेरै बढेको छ ।

तर यहाँ बुझ्नै पर्ने महत्वपूर्ण कुरा भनेको शेयर बजारमा जोखिम पनि छ भन्ने हो । अझै पनि धेरैले यो जोखिमरहितको बजार हो भन्ने बुझिरहेका छन् । बजार भनेको सधैं बढ्छ भन्ने सोच लगानीकर्ताहरूमा देखिन्छ । बजार सधैं बढ्दैन भन्ने कुरा बुझ्नुपर्छ । जोखिम पनि भएको बजार हो यहाँबाट कमाउनका लागि राम्ररी बुझेर लगानी गर्नुपर्छ भन्ने कुरा हामी कसैले पनि भुल्नुहुँदैन ।

जस्तो कि ऋण लिएर लगानी गर्ने, घर धितो राखेर पनि लगानी गर्ने गरेको हामीले भेटेका छौं । यस्तो गर्नुहुँदैन । बजार घट्न पनि सक्छ, जोखिम छ भन्ने कुरा अहिले पनि धेरैले बुझेका छैनन् ।

जलविद्युत् कम्पनीहरू गाउँगाउँमा गएका कारण विकट क्षेत्रका नागरिक पनि शेयरधनी भएका छन् । जलविद्युत् कम्पनी कुनै राम्रा होलान्, कोही नराम्रो होलान् । कुनैले धेरै प्रतिफल दिन सक्लान्, कुनैले नसक्लान्, यसमा ध्यान दिनुपर्छ ।

नेपालमै पहिलो पटक आयोजना गरिएको पुँजी बजार प्रदर्शनीको प्राविधिक शत्रमा जिज्ञासा राख्दै एक लगानीकर्ता । तस्वीर : नेपाल धितोपत्र बोर्ड

हाइड्रो क्षेत्रमा मान्छेहरूले चिलिमेलाई हेरे । चिलिमेको शेयर धेरै बढ्दा मान्छेमा ओहो, नाफा मात्रै हुने रहेछ, घाटा नहुने रहेछ भन्ने ‘मेसेज’ गयो । कतिपय हाइड्रोको शेयर मूल्य ६० रुपैयाँसम्म झरेको छ, यो कुरा पनि सोच्नुपर्छ । लगानीकर्ता सबैले बुझ्नै पर्ने कुरा भनेको बजार घटिहाल्यो भने आत्तिने वा बजार बढिहाल्यो भने मात्तिने गर्नुहुँदैन ।

अहिले मानिसहरूलाई केही काम भएन भने शेयर बजारमा लगानी गर्ने पैसा कमाइ भइहाल्छ भन्ने सोच विकास भएको देखिन्छ । बजार अहिले बढेको अवस्था छ । धेरै बढेको बजार जुनसुकै बेला पनि घट्न सक्छ । यो कुरा हामीले अझै बुझाउन सकेका छैनौं भन्ने लाग्छ ।

हामी नियामक निकाय, नेपाल स्टक एक्सचेञ्ज छ, ब्रोकर कम्पनीहरू, मर्चेन्ट बैंकहरू हामी सबैले बजारमा जोखिम पनि छ सचेत भएर लगानी गर्नुपर्छ भन्ने कुरा बुझाइरहेका छौं । तर सबैलाई बुझाइसक्यौं भन्न मिल्दैन ।

बजार लगातार बढिरहेको बेला नवप्रवेशीहरू हौसिएर लगानी गर्न सक्छन् । तर घट्यो भने उनीहरूको लगानी फस्छ । घाटामा बेच्नुपर्ने हुनसक्छ । शेयर बजारमा जोखिम छ, हौसिएर लगानी गर्नुहुँदैन भनेर धेरैले बुझ्न बाँकी नै छ ।

अहिले बजारमा दैनिक एक लाखभन्दा बढी त कारोबार संख्या नै हुन्छ । केही वर्षअघिसम्म हाम्रो बजारमा १ हजार वटा कारोबार हुनु भनेको नै निकै ठूलो कुरा थियो । हजार कारोबार हुँदा ओहो भन्थ्यौं । कारोबार रकम दुई÷तीन करोड मात्रै दिनमा हुन्थ्यो, अहिले १५ देखि २० अर्ब रुपैयाँसम्म एकै दिनमा कारोबार हुन थालेको छ ।

काठमाडौं उपत्यकाभित्र मात्रै होइन उपत्यका बाहिरका गाउँ–गाउँमा समेत अहिले शेयर बजारको पहुँच पुग्न थालेको छ । बजार विस्तार त भएकै छ, बजारको विस्तारसँगै जोखिम पनि बढेको छ । शेयर बजारबारे बुझाउन हामीले बेलाबेलामा लगानीकर्ता शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छौं । हामीले विभिन्न ठाउँमा पुगेर शेयर बजार र यहाँ हुने जोखिम र सुरक्षाबारे बुझाउने प्रयास गरेका छौं ।

विभिन्न विद्यालय, कलेज, उद्योग वाणिज्य संघहरूसँग मिलेर देशका विभिन्न ठाउँमा गएर साक्षरताका कार्यक्रम चलाएका छौं । गत वर्षदेखि कोरोना महामारीले बाहिर गएर यो बुझाउन सक्ने अवस्था भएन । अहिले पनि हामीले बेलाबेलामा जुम मार्फत लगानीकर्ता साक्षरताका कार्यक्रम चलाइरहेका छौं । तर यसले पनि अझै पुगेको छैन । हाम्रो बजार ७७ जिल्लामै पुगेको छ । वित्तीय साक्षरतासँगै पूँजी बजार साक्षरता पनि बढाउनुपर्नेछ ।

हामीले ब्रोकर, मर्चेन्ट बैंक लगायतलाई पनि साक्षरताका कार्यक्रमहरू चलाउनु भनिरहेका छौं । अझै लगानीकर्तालाई सचेत गराउनु छ । गाउँमा बाख्रा, कुखुरा बेचेर पनि शेयर किन्नुपर्छ भन्ने सोचको विकास भएको देखिन्छ । लगानी गर्ने वित्तिकै तुरुन्तै प्रतिफल दिंदैन, केही समय लाग्न सक्छ । नाफा नआउन सक्छ भन्ने कुरा पनि सोच्नुपर्ने हुन्छ । सबैले बुझ्नै पर्ने कुरा भनेको शेयर बजारमा जोखिम पनि छ भन्ने कुरा भुल्नुहुँदैन । यसको अर्थ बजार बढेको छ तर जोखिम पनि झन् धेरै बढेको छ ।

(नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।)

यो पनि पढ्नुहोस शेयर बजारले बदल्दै समाज : ‘बैंक नदेखेकाहरू मौद्रिक नीतिमा चासो राख्छन्’ यो पनि पढ्नुहोस पूँजीबजारमा महिला : परिवारको उन्नतिमा साझेदारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment