Comments Add Comment

सिधै प्रतिनिधि बन्न पाउनुपर्ने आमन्त्रित केन्द्रीय सदस्यको मागप्रति पौडेलको असहमति

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वत: महाधिवेशन प्रतिनिधि बन्न पाउनुपर्ने आमन्त्रित केन्द्रीय सदस्यहरुको माग विधान विपरीत भएको बताएका छन् । उनले विधानमै वडाबाट चयन हुनुपर्ने व्यवस्था भएकाले स्वत: प्रतिनिधि बन्‍न पाउनुपर्ने माग जायज नभएको बताएका हुन् ।

केन्द्रीय समिति बैठकमा २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य स्वत: महाधिवेशन बन्ने व्यवस्था आफूहरुको हकमा लागू नभएको भन्दै सामूहिक राजीनामा बुझाएका हुन् ।

वरिष्ठ नेता पौडेलले आमन्त्रित केन्द्रीय सदस्यहरुलाई राजीनामा फिर्ता लिन आग्रह गर्दै विधानमा व्यवस्था नभएको विषयमा माग नराख्न आग्रह गरेका हुन् । ‘तपाईहरु राजीनामा फिर्ता लिनूस्, स्वत: प्रतिनिधि बन्न पाउनुपर्ने व्यवस्था विधानमै छैन,’ उनले भने, ‘म पनि वडाबाटै निर्वाचित भएर आउने हो । कि तपाईहरु विधान संशोधनको प्रस्ताव ल्याउनूस् ।’

पार्टी सभापति शेरबहादुर देउवाले भने माग सम्बोधनका लागि आफू सकारात्मक रहेको भन्दै राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए । उनले भने, ‘अहिले राजीनामा फिर्ता गर्नूस्, म तपाईहरुको मागप्रति सकारात्मक छु ।’ उनले पार्टीमा कसैलाई अन्याय हुन नदिने बताएका थिए ।

नेता पौडेल केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि स्वत: महाधिवेशन आउने प्रावधान राख्न नहुने पक्षमा थिए ।

शुक्रबार पार्टी सभापति देउवा निवासमा बसेको केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामा बुझाएका हुन् । उनीहरुले विधानले सबै तहको समान व्यवस्था गर्ने गरी ब्याख्या गर्नु पर्ने माग गरे ।

‘केन्द्रीय समितिका पधाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगररपालिका सभापति, वार्ड सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्य हरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस’ आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment