Comments Add Comment

माओवादी बैठक : पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रमा आगामी पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ ।

शनिबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका हुन् । भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाउने, असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव छ ।

यस्तै मंसिर १५ गते प्रदेश सम्मेलन गर्ने प्रचण्डको प्रस्ताव रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले नै विधान संशोधनको प्रस्ताव पनि पेश गरेका छन् र दुबै प्रस्तावमाथि छलफलका लागि केन्द्रीय सदस्यहरुलाई ८ वटा समूहमा बाँडिएको छ । समूहगत रुपमा भोलि विहानसम्म छलफल हुने र निष्कर्षहरु बैठकमा पेश गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले जातीय/क्षेत्रीय मोर्चाहरूलाई पुँजीवादी जनवादी क्रान्तिका साधनहरूको रुपमा चित्रित गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा जातीय/क्षेत्रीय मोर्चाको कामलाई पनि प्राथमिकताका साथ अगाडि बढाउने उल्लेख गरिएको हो ।

‘जातीय/क्षेत्रीय मोर्चाहरु पूँजीवादी जनवादी क्रान्तिका साधनहरु हुन्,’ प्रस्तावमा भनिएको छ, ‘सामन्तवादका अवशेष र दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरुको कार्यान्वयन, सुदृढीकरण एवम् समाजवादका लागि पृष्ठभागीय शक्तिका रुपमा जनमसुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनमसुदायसँग जोड्ने माध्यमको भूमिकामा जातीय/क्षेत्रीय मोर्चाहरु हुनेछन् ।’

प्रस्तावमा असोज मसान्तसम्म जातीय/क्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ । सो अवधिसम्म बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने प्रचण्डको प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment